|

काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो कार्यकालका लागि सोमबार साँझसम्म करिब ९७ प्रतिशत स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार केही बेर अघिसम्म ७ सय २८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएर जनप्रतिनिधि निर्वाचित भएका छन्। २३ पालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा विवादका कारण निर्वाचनको प्रक्रिया नै पूरा हुन सकेको छैन।

अन्तिम मत परिणाम आएकाहरूमा सबैभन्दा बढी ३१९ स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका छन् भने २९४ जना उपप्रमुख विजयी भएका छन्। कांग्रेसले जितेकामध्ये १३२ नगरपालिका र १८७ गाउँपालिका प्रमुख रहेका छन्। उपप्रमुखमा भने १०४ नगरपालिका र १९० गाउँपालिकामा जितेका हुन्।

नेकपा एमालेले ७५ नगरपालिका र १२३ गाउँपालिका गरी १९८ स्थानीय तहको प्रमुख जितेको छ। २२७ पालिकामा उपप्रमुख जित्दै दोस्रो स्थानमा रहन सफल भएको छ। एमालेबाट १०२ नगरपालिका र १२५ गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका छन्।

तेस्रो स्थान बनाएको नेकपा माओवादी केन्द्र २४ नगरपालिकासहित १२० पालिकाको प्रमुख जितेको छ भने १२८ स्थानीय तहको उपप्रमुखमा विजयी भएको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) ले २१ गाउँपालिकाको अध्यक्ष जित्दै चौथो स्थानमा रहेको छ।

नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीले भने १० वटा नगरपालिकाको प्रमुख जित्न सफल भएको छ। अन्य साना दलका तथा स्वतन्त्र उम्मेदवारहरू २९ नगरपालिका र ३१ गाउँपालिकामा निर्वाचित हुन सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.