|

काठमाडौं : स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगर प्रमुखमा विजयी घोषणा हुने तयारीमा रहेका बालेन साहलाई बधाई दिएकी छिन्। 

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै बालेनलाई बधाई दिएकी हुन्।

‘जनताको मत त्यता आकर्षित हुन्छ जहाँ जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन्। काठमाडौं माहानगरवासी जनताको रोजाइ, हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ।’ उनले लेखेकी छिन्।

उनले एमालेबाट उपमेयरमा निर्वाचित हुन लागेकी सुनिता डंगोललाई पनि बधाई दिएकी छिन्। 

सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्ने करिश्माले उल्लेख गरेकी छिन्। 

उनले लेखेकी छिन्, ‘युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो।’ यो चुनावको परिणाम मिश्रित आएको भन्दै उनले जनताको चाहना नयाँ उम्मेदवारतर्फ देखिएको उल्लेख गरेकी छिन्।

धरानमा हर्क साम्पाङले जित्नु, विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिने भन्दै उनले हरेक पार्टीले यो सत्यलाई मनन गर्नुपर्ने उल्लेख गरेकी छिन्। 

आफू पार्टीमा नयाँ सदस्य भएका कारण आन्तरिक कुरा कम थाहा हुन सक्ने भन्दै उनले चुनावी परिणामको गम्भीर समीक्षा गर्नुपर्ने  पनि बताएकी छिन्। 

‘पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठेरोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निःस्वार्थ समीक्षा गर्नुपर्छ होला र त्यसलाई सच्याएर अगाडि जानुपर्छ।' उनले लेखेकी छिन्, ‘किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुँदाहुँदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तर्घातका कारण यथोचित सफलता हाँसिल गर्न सकिएन।’

उनले धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रहेको भन्दै कतै उम्मेदवार छनोट पो गलत भयो कि! भन्ने आशंका पनि गरेकी छिन्। 

'समय परिवर्तनशील छ, हिजो जे थियो आज छैन, आज जे छ भोलि हुँदैन।' उनले लेखेकी छिन्, 'त्यसैले हिजोको एमालेलाई आज र भोलि उस्तै सदाबहार बनाउन हामीले आफूलाई परिवर्तन गर्नुपर्छ। आउँदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्‍याउनु पर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.