|

काठमाडौं : कोरोनाका कारण दुई वर्ष निष्क्रिय बनेको नेपाली फिल्म उद्योगले विस्तारै गति लिँदैछ। कोरोनाले फिल्म उद्योगलाई तत्कालिन असर त गर्‍यो नै साथै केही दीर्घकालीन असर पनि पार्ने देखिएको छ। जुन आगामी दिनमा निर्माण हुने फिल्ममा देखिनेछ।

कोरोनाका कारण छायांकनमा जान नसकेका फिल्मले आफ्नो छायांकन पूरा गरेका छन्, केही छायांकनकै क्रममा छन् भने केही फिल्म फ्लोरमा जाने तयारीमा छन्। त्यस्तै कोरोनाका कारण प्रदर्शन हुन नसकेका फिल्म पनि धमाधम प्रदर्शनमा आइरहेका छन्। कोरोनापछि छायांकन गरिएको 'कबड्डी ४' शुक्रबार प्रदर्शनमा आउँदैछ। जसको पहिलो दिनका अधिकांश शो हाउसफुल हुने देखिएको छ भने दोस्रो दिनको बुकिङ पनि तीव्र गतिमा भइरहेको छ।

कबड्डीपछि अन्य नेपाली फिल्म पनि प्रदर्शनमा आउँदैछन्। जसको प्रतीक्षा दर्शकले निर्माण हुनुभन्दा अगाडिदेखि नै गरिरहेका छन्। 

चिसो मान्छे

दीपेन्द्र के खनालको लेखन, निर्देशन तथा छायांकनमा बनेको 'चिसाे मान्छे' असार ३ देखि प्रदर्शनमा आउँदैछ। लकडाउनको टाइमलाइन देखिने फिल्ममा विदेशमा निधन भएका पतिको लाश लिन गएकी पत्नीको कथा रहेको छ। जो लाश लैजाने क्रममै अर्को पुरुषसँग प्रेममा पर्छिन्।

'पशुपतिप्रसाद’, ‘आमा’ जस्ता समीक्षात्मक र व्यावसायिक दुवै रुपमा सफल फिल्म निर्देशन गरिसकेका दीपेन्द्रको 'चिसो मान्छे' एघारौँ फिल्म हो। दुई दिनअघि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

'चिसो मान्छे' लकडाउनको टाइमलाइन देखाउने पहिलो नेपाली फिचर फिल्म भएकाले पनि यसको प्रदर्शनलाई चासोका रुपमा हेरिएको छ। 

पानीफोटो

अभिनेता र लेखकको रुपमा आफ्नो परिचय बनाइसकेका खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो फिल्म हो 'पानीफोटो'। दशवर्षे माओवादी द्वन्द्वमा हराएको छोराको पर्खाइमा रहेका बाबुआमाको कथा फिल्ममा देखिनेछ। 

यसअघि नाटकको रुपमा मञ्चन भएको 'पानीफोटो' दर्शकले निकै रुचाएका थिए। नाटकलाई पनि खगेन्द्र आफैंले निर्देशन गरेका थिए। अनुप बराल, निशा शर्मा, मेनुका प्रधान, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ भने खगेन्द्र आफैं पनि छोटो भूमिकामा देखिएका छन्। 

नाटकघरमा निर्देशकको रुपमा स्थापित भइसकेका खगेन्द्रको निर्देशनमा बनेको पहिलो फिल्मको लागि धेरै दर्शक उत्साहित छन्। ७७ सालमै प्रदर्शनमा आउने भनिएको कोरोनाका कारण रोकिएको थियो। 'पानीफोटो' भदौ १० गतेदेखि प्रदर्शनमा आउँदैछ। 

प्रेम गीत ३ 

सफल लभ स्टोरी फ्रेन्चाइज 'प्रेम गीत'को तेस्रो फिल्म 'प्रेम गीत ३' अर्को प्रतीक्षित फिल्म हो। २०७६ चैत २८ देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म कोरोनाका कारण प्रदर्शन हुन सकेको थिए। कोरोना कालमा दोहोर्‍याएर पोस्ट प्रोडक्शनको काम गरेको फिल्म नेपालसहित हिन्दी भाषामा भारतमा पनि प्रदर्शन हुनेछ। 

ऐतिहासिक पृष्ठभूमिमा तयार भएको 'प्रेम गीत ३' मा लभ स्टोरी तथा एक्सन पनि रहनेछ। झण्डै ५ करोड बजेट रहेको फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्। जसको निर्देशन निर्माता सेन र छेतेन गुरुङले संयुक्त रुपमा गरेका हुन्। 

प्रदीप खड्का, कृस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म दशैँको अवसर पारेर असोज ७ देखि प्रदर्शनमा आउँदैछ। 

यीबाहेक प्रदीप खड्काको अर्को फिल्म 'प्रकाश', दशैँमै प्रदर्शनमा आउने भनिएको 'छक्का पञ्जा ४', प्रकाश सपुतको डेब्यु फिल्म 'परदेशी २', कात्तिकमा आउने भनिएको दिपेन्द्र लामाको '२ नम्बरी' पनि यस वर्षका प्रतीक्षित फिल्ममध्ये पर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.