|

काठमाडौं : सरकारले आइतवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गर्दा चालू आर्थिक वर्षका लागि  अगाडि सारेको  लोकप्रिय घोषणा पूरा हुन सकेको छैन।

ठूला ठूला योजना अगाडि सार्ने तर चासो नदेखाउँदा  कतिपय ठूला र लोकप्रिय योजना भाषणमै सीमित भएका छन्। 

चालू आर्थिक वर्षका लागि अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरे। बजेट आएसँगै सरकार परिवर्तन भयो। अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पूर्ववर्ती पौडेलले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याए तर कार्यक्रम पुरानै दोहोरिए। 

बजेटमा समेटिए पनि ती कार्यक्रमले पूर्णता पाउन सकेनन्। हरेक वर्ष सरकारले  लोकप्रिय देखिने कार्यक्रम बजेटमा समेट्छ तर कार्यान्वयन हुँदैन।  

सरकारी कर्मचारीलाई १० दिने कागज बिदा, काठमाडौँमा सरुवा रोग अस्पताल निर्माण, पर्यटकको जीपीएस ट्रयाकिङ, घरबाटै जग्गादर्ता नामसारी,विद्युतीय सवारीसाधनमा प्रोत्साहन, सार्वजनिक यातायातमा ई–टिकेटिङ, एक विद्यालय एक स्वास्थ्यकर्मी लगायतका योजना अलपत्र घोषणामै सीमित भएको छ। 

१० दिने भ्रमण बिदा 

चालू आर्थिक वर्षको बजेटमा सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि भन्दै  निजामती कर्मचारीलाई १० दिन बराबरको भ्रमण बिदा दिने आकर्षक कार्यक्रम सार्वजनिक गर्‍याे। कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने सरकारको योजनाले निकै प्रशंसा पायो। 

सो कार्यक्रमको कार्यविधि बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको थियो तर अर्थले अहिलेसम्म कार्यक्रम स्वीकृत नगरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। त्यस्तै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको पर्यटकीय भिसा नि:शुल्क गर्ने घोषणा समेत गरेको थियाे तर यी कार्यक्रम ओझेलमा परेका छन्।

बनेन सरुवा रोग अस्पताल

काठमाडौँ उपत्यकामा सरुवा रोग अस्पतालको अभाव महसुस गर्दै सरकारले चालू आर्थिक वर्षको बजेटमा  काठमाडौँ उपत्यकामा  ३ सय  शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने घोषणा गर्‍याे। साथै सबै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण गर्ने भन्दै १ अर्ब ३० करोड बजेट राखेको थियो। हालसम्म यो कार्यान्वयनमा आउन सकेको छैन।

त्यसैगरी ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षणको घोषणा गरेको थियो तर त्याे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।  

एक विद्यालय-एक स्वास्थ्यकर्मी घोषणामै सीमित

एक विद्यालय–एक स्वास्थ्यकर्मी कार्यक्रम सरकारले चालू आर्थिक वर्षको बजेटमा  समेटेको थियो। चालू आर्थिक वर्षमा प्रत्येक शैक्षिक सत्रको शुरुमा सबै विद्यार्थीको आँखा, कानसहित अनिवार्य आधारभूत स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम राखिए पनि व्यवहारमा कार्यान्वयनमा आउन सकेन।

सांस्कृतिक पदमार्ग

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भूसम्म सांस्कृतिक पदमार्ग निर्माणको योजना कार्यक्रममा मात्र सीमित रह्यो काठमाडौं, भरतपुर, पोखरा, बुटवल, विराटनगरमा विद्युतको तार भूमिगत गर्ने लक्ष्यको कार्यान्वयन नगन्य जस्तै छ।

पर्यटकको जीपीएस ट्र्याकिङ

पछिल्लो समयको हरेक बजेटले नेपाल भ्रमणमा आउने पर्यटकको सुरक्षालाई मद्देनजर गर्दै पर्यटकको जीपीएस ट्रयाकिङ  घोषणा गर्दै आएको छ। 

जीपीएस ट्रयाकिङ सहितको एकीकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा चालू आर्थिक वर्षमा पनि पूरा हुन सकेन। कार्यक्रम चर्चामा आउने तर कार्यान्वयनमा नआउने सरकारको पुरानै रोग हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.