|

भोजपुर : समाजमा हुने विभिन्न खालका क्रियाकलापले भोजपुरमा बालश्रम बढेको देखिएको छ। विशेष गरेर बाबुआमाको सम्वन्ध विच्छेद, पारिवारिक मनमुटाब, वैदेशिक रोजगारीमा घरको ठूलो मान्छे जाने गरेको कारण बालश्रम बढेको हो।​

अभिभावकले गर्ने गरेका क्रियाकलापले कलिलो बालमानसपटलमा नकारात्मक धारणाको समेत विकास हुने गरेको छ।

बाबुआमाको सहारा तथा माया ममता कम हुँदा उनीहरु बाध्यताले श्रम गरिरहेका छन्। केही स्थानमा भेटिएका यस्ता वाल श्रमिकहरुले श्रम गर्नु आफ्नो बाध्यता रहेको बताए।

साल्पासिलिछो गाउँपालिकाका एक १४ वर्षीय बालक सडक निर्माण भइरहेको ठाउँमा काम गरिरहेको अवस्थामा भेटिए। उनले श्रम गर्नुको कारण बाबुआमाको सम्बन्ध विच्छेद रहेको बताए।

उनले भने, ‘म अहिले विद्यालय जान छोडेर सडकमा ढुङ्गा बोक्ने गिटी कुट्ने काम गरिरहेको छु। बुबा ममी एक ठाउँमा हुनुहुन्न्। उहाँहरुले सम्बन्ध विच्छेद भएपछि बुबाले अर्की आमा ल्याउनु भयो। अरु दुई जना भाइबहिनी छन्। उनीहरुलाई मैले हेर्नु पर्छ। उनीहरुको लागि काम गर्न आएको।’

बाबुआमा बैदेशिक रोजगारीमा जाने क्रमले पनि बालबालिकाहरु श्रम गरिरहेका छन्। टेम्केमैयुङ गाउँपालिका ५ का १७ वर्षीय बालक घरमा बारी जोत्ने तथा अर्मपर्म गरिरहेका छन्। उनको काँधमा घरपरिवार धान्ने जिम्मेवारी छ। बुबा विदेशमा भएको कारण उनलाई बाध्य भएर काम गर्नु परेको बताए। उनी अहिले विद्यालय छाडेर श्रम गरिरहेका छन्।

उनले भने, ‘पढ्न मन छ तर घरको अवस्था कमजोर छ। बुबा विदेश जानु भएको त्यहाँ गएपछि सम्पर्कमा हुनुहुन्छ। मलेशियामा विवाह गरेर बस्नु भएको छ भन्ने खबर छ। ममी पनि धेरै बर्ष अघिबाट विरामी हुनुहुन्छ। परिवारको जीवनयापनको लागि काम गर्नुपर्छ।’

भोजपुरको टेम्मैयुङ गाउँपालिकामा रहेको अन्नपूर्ण बाघधन रणदिपा राई माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर राईका अनुसार कक्षा १ मा भर्ना भएका विद्यार्थी मध्ये ९० प्रतिशत विद्यार्थी मात्र कक्षा दशमा पुग्ने गरेका छन्।

विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून हुने तथा प्राय गरेर परीक्षाको समयमा केही विद्यार्थी उपस्थित हुने गरेका छन्। प्रधानाध्यापक राईले भने, ‘कक्षा १ मा भर्ना भएका विद्यार्थीहरु मध्ये  करिब ९० प्रतिशत विद्यार्थी कक्षा १० सम्म पुग्ने गरेका छन्। यहाँका धेरै बालबालिकाहरु बालश्रम गरिरहेका नै हुन्छन्।’

विद्यालयमा भर्ना भएका कक्षा १० अध्ययन गर्दै आएका बलाराज सार्की, कक्षा ७ मा पढ्ने शिशिर परियार, कक्षा ६ मा पढ्ने शनिस राई लगायत विद्यार्थीहरु अहिले पनि विद्यालय छोडेर बालश्रम गरिरहेको विद्यालयले जनाएको छ।

त्यस्तै बालविवाहका कारण सोही विद्यालयमा कक्षा १० पढ्ने छात्रा प्रमिला थापाले पनि विद्यालय छाडेको प्रअ राईले बताए। यसरी विद्यालय तहका बालबालिकाहरु कुनै न कुनै तवरले बालश्रममा जोडिने गरेको विद्यालयको भनाई छ।

खासगरी विद्यालय छाडेर श्रम गर्नेमा दलित तथा विपन्न परिवारका बालबालिका बढी रहेको विद्यालयले जनाएको छ।

विद्यालय छाडेका १३ वर्षीय शिशिर परियारले परिवारमा आर्थिक समस्या भएको कारण विद्यालय छाडेर काम गर्न थालेको बताए।

परियारले भने, ‘परिवारको आर्थिक अवस्था कमजोर छ। छाक टार्न नै समस्या हुन्छ। मैले बाहिर सकेको काम गरेर केही भएपनि परिवारको आर्थिक भार धानेको छु। म जस्ता अरु साथीहरु पनि छन्। हामी आवश्यकता अनुसार सडक, लकडी तथा गाउँमा खेताला जान्छौँ। यसरी काम गर्दा दैनिक रु. २५० देखि चार सय सम्म पैसा दिन्छन्। त्यही काम पनि नियमित हुन्न।’

विद्यालय छाडेर किन काममा लागेको भन्ने प्रश्नमा उनले भने, ‘पढ्न मन नभएर हैन। गाउँघरमा हामीले गर्ने नै यस्तै हो। काम नगरी हुन्न। केही वर्ष अघिसम्म त मिलाएर काम गरेर स्कूल जाँदै थिए। अहिले त फुर्सद हुन छाड्यो। अनि विद्यालय छाडेर काममा जान थालेको छु।’

खासगरी विद्यालय उमेरका बालबालिकाहरु सडक निर्माणमा, लकडी बोक्ने, सार्वजनिक यातायातमा काम गर्ने गरेका छन्। त्यस बाहेक यस क्षेत्रका बालबालिकाहरु भारतमा समेत काम गर्न जाने गरेको विद्यालयले जनाएको छ। प्रअ राईले भने, ‘विद्यालय भर्ना अभियान चलाउँछौँ। बालबालिका भर्ना पनि हुन्छन्। तर ग्रामीण क्षेत्र भएकोले गरिवीका कारण उनीहरुलाई श्रम गर्नुपर्ने बाध्यता छ। खास गरी चेतना नभएको भन्दा पनि सामाजिक परिवेशका कारण पनि पछिल्लो समय बालश्रम बढेको मेरो बुझाई छ।’

गरिबीका कारणले पनि बालश्रम बढेको प्रधानाध्यापक राईले बताए। त्यस्तै सानै उमेरमा विवाह गर्ने कारण पनि उनीहरु श्रम गर्न बाध्य भएको पाइएको छ। उमेर नपुगी विवाह गर्दा पारिवारिक बोझले श्रम गर्नुपर्ने अवस्था रहेको छ।

गाउँघरको परिवेशमा कुनै कुनै तवरबाट वालवालिका बालश्रम गर्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका ५ का स्थानीय कृतिमान विष्टले बताए। खास गरेर १० देखि १८ वर्षसम्मका बालबालिका यसबाट प्रभावित हुने गरेको उनको भनाइ छ।

विष्टले भने, ‘बालश्रम अन्त्यका लागि राज्यको तहबाट जति नै प्रयास भएपनि त्यो कार्यान्वयन भएको पाईंदैन। अहिले पनि गाउँघरका बालबालिका श्रम नै गरिरहेका छन्। विशेष गरेर यातायात क्षेत्र र होटलमा धेरै बालबालिकाले श्रम गरिरहेका छन्। यस्ता कुरामा राज्यले नै ध्यान दिनुपर्ने हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.