|

काठमाडौं : नेपालगञ्ज घर भएका किशोरकुमार धामी रोजगारीको खोजीमा २ वर्ष अगाडि साउदी अरबका लागि उडे। उनी परिवारको कमजोर आर्थिक अवस्था र स्वदेशमा रोजगारी नपाएसँगै ७ जना परिवारको जिम्मेवारी बोकेर साउदी गएका थिए। 

क्लिनरको काम गर्नका लागि साउदी पुगेका धामीको करिब एक वर्षसम्म राम्रै कमाइ भएकाे थियो। उनले एक वर्षमा विदेश जानका लागि साहुसँग लिएको ऋण समेत तिरेका थिए। परिवारको आर्थिक अवस्था उकास्नका लागि विदेशिएका धामी आफैँ विदेशी भूमिमा अस्ताए। 

केही दिनअघि छोराको शव काठको बाकसमा नेपाल आयो। सरकारले दिने आर्थिक सहायता नपाएकाले वैदेशिक रोजगार विभाग आएको मृतकका बाबु फागु धामीले बताए।  स्थानीय पालिकाबाट नै लिन मिल्ने रहेछ। तर, बीमाको पैसा लिनका लागि काठमाडौं आउनुपर्ने रहेछ। त्यसैले सो रकम लिनका लागि  बोर्डमा नै आएको धामीले बताए।

त्यस्तै, नुवाकोट घर भएका विजयराज तामाङले स्वदेशमा भने जस्तो रोजगारी पाएनन्। २०७६ मा रोजगारीका लागि कतारका लागि उडे। निर्माणका क्षेत्रमा काम गर्दै आएका तामाङको राति सुतेको अवस्थामा नै मृत्यु भयो।  खाना, नाना र छानाको जोहो गर्ने सपना बोकेर विदेश पुगेका कतिपयको जीवन फेरिएको छ। कतिपयको परिवार उजाडिएको छ। कतिको सुन्दर सपनासँगै जीवन पनि विदेशी भूमिमै सकिएकाे छ।

लमजुङका गोविन्दबहादुर थापाको आर्थिक अवस्था कमजोर थियो। नेपालमा बसेर परिवारको पेट भर्न धौधौ पर्न थालेपछि उनी चार वर्षअघि रोजगारीको खोजीमा मलेसिया पुगेका थिए। परिवारको आर्थिक अवस्था सुधार्न विदेश गएका थापाको शव पनि गत असोजमा बाकसमै फर्कियो।

पछिल्लो समय नेपाली युवाको रोजाइमा वैदेशिक रोजगारी पर्ने गरेको छ। विदेशिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने मध्ये अधिकांश खाना‚ नाना र छानाको जोहो गर्ने सपना सजाएका हुन्छन्। कतिपय रहरले विदेशिएका भेटिन्छन्। यसरी विदेशिएका नेपाली काठको बाकसमा फर्कने गरेका छन्। सरकारको तथ्यांक अनुसार बार्षिक १ हजारको हाराहारीमा नेपालीले विदेशमा नै ज्यान गुमाउने गरेका छन्।​

९ महिनामा १ हजार ३ सय नेपालीले गुमाए ज्यान

चालु आर्थिक वर्षमा रोजगारीको खोजीमा विदेश उडेका १३ सय ३ जना नेपालीको मृत्यु भएको छ। ६ सय ८१ वटा शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। नेपालीको मुख्य श्रम गन्तव्य मुलुकमा सबै भन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ।

कुन देशबाट कति शव नेपाल आए? 

सुन्दर सपना देखेर रोजगारी खोज्दै नेपाली आकाशमा उडेका ६ सय ८१ जना नेपालीका सपना काठको बाकसमा फर्किएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार सबैभन्दा धेरै नेपालीले मलेसियामा ज्यान गुमाएका छन्। 

चालु आर्थिक वर्षमा मलेसियाबाट २८१ जना, साउदी अरबबाट २०५, कतारबाट ११०, युएईबाट ८५ र कुवेतबाट  ३५ जना नेपालीको शव नेपाल ल्याइएको छ। आर्थिक वर्ष २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको बोर्डको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षमा ७५ करोड ३३ लाख ७६ हजार रुपैयाँ आर्थिक सहायता मृतकका परिवारलाई प्रदान गरिएको वैदेशिक रोजगार बोर्डका लेखा अधिकृत पुरुषोत्तम भण्डारीले जानकारी दिए। यसरी ज्यान गुमाउने कैयौँ युवाको परिवारले पीडा भोग्दै आएका छन्। 

रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रका लागि बलियो टेवा दिइरहेका युवाहरूको समस्यामा राज्यले चासो नदेखाएको सरोकारवालाले बताउँदै आएका छन्। राज्यले विमास्थलमा भित्रिने रातो बाकसभन्दा रेमिट्यान्सलाई बढी महत्व दिएको श्रम, रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। सरकारले स्वदेशमा रोजगारीको सृजना गर्नु भन्दा पनि वैदेशिक रोजगारीका लागि प्रोत्साहन गर्ने तर, सुरक्षाको प्रत्याभूति गर्न नसक्दा यस्तो अवस्था आएको विज्ञ गुरुङ बताउँछन्।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीका क्रममा मृत्यु भए सरकारले मृतकका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ। बीमा कम्पनीले १४ लाख रुपैयाँसम्म दिने गरेको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारीमा गएका तर श्रम स्वीकृतिको म्याद सकिएर निधन भएका व्यक्तिका आफन्तलाई भने बोर्डले १० हजार दिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.