|

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ गाइडरका विनोद पुन मगरले खेती गर्ने वेला पर्याप्त मल नपाउँदा वर्षेनि समस्या भोग्दै आइरहेको गुनासो गरे। शुक्रबार बिहान तुलसीपुर घोराही रोडमा रहेको त्रिसिद्धेश्वरी सहकारीमा मल पाइन्छ भनेर बिहानै आएका थिए।

उनले भने, ‘म आउनुभन्दा अगाडि नै धेरै किसान साथीहरू मल लिन आउनुभएको रहेछ। हामीले करिब एक बिघा जमिनमा खेती गर्दै आएका छौँ तर सहकारीबाट हामीलाई जम्मा एकजनालाई १० किलो डिएपी मल दिने रे? त्यो मल हामीले खेतमा छर्ने कि खाने?’

उनले हिजो चुनावका वेला नेताहरूले किसानका लागि काम गर्छौँ भनेर भोट माग्ने गरे पनि किसानको समस्या अहिलेसम्म समाधान नभएको गुनासो गरे। उनले यसरी वर्षेनि किसानले मल, बीउ समयमा नपाउँदा सास्ती दिँदै पाएको बताए।

उनले भने, ‘खेतीपाती गर्ने समय जेठदेखि शुरु हुन्छ। अब मकैमा मल राख्ने वेला भएको छ। मल नै आएको छैन। पानी परेको छ। धानको ब्याड राखौँ भने पनि मल छैन। सरकारले मल असार साउन नभई चैत महिनामा व्यवस्था गरिदिनु पर्छ।’

उनले अहिलेसम्म धेरै नेता सत्तामा पुगेर आफ्नो भविष्य मात्र हेरेको भन्दै यस्तै अवस्था आएमा किसानले देशव्यापी विरोध आन्दोलन गर्ने चेतावनी दिए।

त्यस्तै अर्का किसान मनबुधन चौधरीले पनि आफूहरूले मलको लागि वर्षेनि यस्तै समस्या भोग्दै आएको गुनासो गरे। उनले २ लम्बर (१० किलो) डिएपीका लागि बिहानदेखि आए पनि पाउने निश्चित नभएको बताए। उनले भने, ‘हामी कृषिमा निर्भर छौँ तर हामीले भनेको समयमा मल, बीउ, पानी केही पाउँदैनौँ। जसको पहुँच चिनजान छ। त्यसैले सबै कुरा पाइरहेका छन् तर हामी जस्ता किसान सधैँ पछाडि छौँ।’

किसानले भनेका वेला मल नपाउने र सिजन सकिएपछि पाउने गर्दा पनि उब्जनी समस्या हुने गरेको उनको भनाइ थियो।

कृषि सामग्री केन्द्र कम्पनी लिमिटेड तुलसीपुर शाखाका अनुसार अहिले जिल्लामा डिएपी मल मात्र आएको छ। त्यो मल पनि पर्याप्त मात्रामा नभएको र जिल्लाका स्थानीय तहका प्रमुखहरूको समन्वयमा मल वितरण गर्ने सहकारीमार्फत वितरण भइरहेको तुलसीपुर शाखाका निमित्त प्रमुख कृष्णप्रसाद खनालले बताए।

उनका अनुसार जिल्लमा ४९७ मेट्रिक टन डिएपी मल आएको छ। त्योमध्ये तुलसीपुर शाखाका लागि २२६ मेट्रिक टन डिएपी मल आएको र त्यो मल तुलसीपुर उपमहानगरपालिका सहित पश्चिमका दंगीशरण, बबई, शान्तिनगर गाउँपालिकामा वितरण भइरहेको उनको भनाइ छ। त्यस्तै सहकारीहरूलाई कोटा छुट्याएको र त्यही अनुसार उनीहरूलाई मल दिइने गरेको पनि उनले बताए।

तुलसीपुर उपमहानगरमा अहिले १३६.५ मेट्रिक टन, दंगीशरण गाउँपालिकामा ३९.९ मेट्रिक टन, शान्तिनगरलाई २१.२ र १२.६ मेट्रिक टन डिएपी मल उपलब्ध गराइएको पनि उनले बताए। त्यस्तै वडामा एक वा त्योभन्दा बढी कार्यक्षेत्र भएका सहकारीलाई ४० बोरा र एक मात्र कार्यक्षेत्र भएकालाई एक सय बोरा मल दिने गरेको पनि उनको भनाइ छ।

युरिया मल तत्काल आउने सम्भावना कम : निमित्त प्रमुख खनाल

तुलसीपुर शाखाका निमित्त प्रमुख खनालका अनुसार जिल्लामा तत्काल युरिया मल आउने सम्भावना कम रहेको छ। उनले जी टु जी भएमा असारको अन्तिमसम्म आउने सक्ने अनौपचारिक कुरा आइरहेको पनि बताए।

त्यो अहिलेसम्म नभएका कारण युरिया मल छिट्टै आउने सम्भावना नभएको पनि बताए। उनले अहिले कार्यालयमा सहकारीहरू मात्र नभई किसानहरूले पनि मल अहिले आउँछ भनेर सोध्ने गरेको पनि बताए।  

उनले गत वर्षको तथ्यांक हेर्दा तुलसीपुर शाखाबाट ६ हजार मेट्रिक टन युरिया, डिएपी मल बिक्री भएको पनि बताए। त्यो पनि प्रशस्त रूपमा नभए पनि अहिलेको जस्तो अभाव नभएको पनि उनले बताए। कृषि सामग्री केन्द्र कम्पनी लिमिटेड घोराहीका शाखा प्रमुख टोपाराम गौतमले मलको अभाव जिल्लामा मात्र नभई देशभर भएको बताए।

उनले कार्यालयमा थोरै मात्रामा रहेको डिएपी मल अहिले वितरण गरिसकेको र जिल्लामा कार्यालय ३ स्थानबाट वितरण गर्दै आएको पनि बताए। उनले घोराहीमा आउँदो मङ्गलबारसम्म डिएपी मल सकिने र तुलसीपुरमा भने एक हप्तासम्म वितरण हुनसक्ने पनि बताए। त्यस्तै लमहीको हकमा आउँदो हप्तादेखि वितरण गर्ने तयारी रहेको उनको भनाइ थियो।

उनका अनुसार घोराही कार्यालयबाट अहिलेसम्म करिब २० हजार टन युरिया बिक्री हुनुपर्ने भए पनि मल नआउँदा समस्या भएको छ। हालसम्म १‚४७६ टन युरिया र ७०६ टन डिएपी मल वितरण भएको समेत उनले बताए। घोराहीले विशेष उपमहानगर र बंगलाचुली गाउँपालिकामा र रोल्पा र रुकुममा पनि मल वितरण गर्ने गरेको छ।

उनले भने, ‘यो वर्षायामको शुरुको अवस्थामा हामी छौँ। सामान्य रूपमा पनि अहिले किसानको घरमा करिब ८० प्रतिशत मल भित्रिनुपर्ने हो तर हामी अहिले ८० प्रतिशत किसानलाई मल दिन सक्ने अवस्थामा छैनौँ।’
 

नेपालमा मल अभावका कारण

गौतमका अनुसार नेपालमा वर्षेनि मल अभाव हुने गरेको छ। अहिले पनि खपतभन्दा माग धेरै हुनु र रूस-युक्रेनको लडाइँका कारणले मल अभाव भएको उनले बताए। देशमा एक वर्षमा करिब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि वार्षिक ४ लाख मेट्रिक टनभन्दा बढी खरिद नहुँदा सधैँ मलको अभाव हुने उनको भनाइ छ।

त्यस्तै योपटक रूसबाट मलका लागि आवश्यक रसायन निर्यात बन्द हुँदा मलको अभाव भएको उनले उल्लेख गरे। जसका कारण मूल्यमा चरम वृद्धि हुँदा सरकारले गरेको टेन्डरमा मल ल्याउने पाटीले बजारमा धेरै बढेपछि उनीहरूले मल ल्याउन नसक्दा पनि अभाव भएको उनले बताए।

उनले भने, ‘युद्ध भयो, मूल्य वृद्धि पनि भयो। हाम्रो टेन्डर प्रक्रिया लामो हुन्छ। ४५ दिनसम्मको सूचना हुन्छ। मल ल्याउने पाटीहरूले टेन्डर गरेर सम्झौता गरेर मल बजारमा खोज्दा जाँदासम्म करिब २ महिना लाग्छ। ६० दिनअगाडिको मूल्यदर र पछाडिको मूल्यदर यो वर्ष मिलेन। मूल्य नमिल्दा मल ल्याउन नसकेका कारण अहिले देशभर मलको अभाव रहेको छ।’

दाङमा वार्षिक रूपमा युरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन मल आवश्यक पर्छ। दाङमा साल्ट ट्रेडिङले पनि मल वितरण गर्ने गर्छ। 

यसैबीच समयमै मल पाउनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघले काठमाडौँमा दबाबमूलक आन्दोलन घोषणा गरेको छ।

पहिलो चरणमा प्रधानमन्त्री र कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा दोस्रो चरणमा सातवटै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना र जिल्ला प्रशासन कार्यालयमा धर्ना र घेराउ गरिने महासंघको चेतावनी छ। नेपालमा ५ देखि ७ लाख मेट्रिक टन मल आवश्यक भए पनि सरकारले १ लाख ५० हजार मेट्रिक टनभन्दा माथि मल ल्याउन सकेको छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.