|
तमान गाउँ र त्यहाँका कटुवाल रूपलाल बुढा मगर।

बागलुङ : नयाँ व्यवस्थासहित सूचना प्रविधिको तीव्र विकास भए पनि जिल्लाको तमानखोलामा पुराना प्रथा अझै प्रचलनमा छ।

अधिकांश गाउँठाउँमा मोबाइलमा हात हातमा पुगिसकेको छ। यो वेला पनि  जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–३ तमान गाउँमा यो प्रचलन अझै कायमै छ।

गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्। अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको तीन वर्ष भएको उनको भनाइ छ।

४ वर्ष पुग्यो भने नयाँ कटुवाल बनाउने गाउँलेको नीति छ। कटुवालको मुख्य काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो। रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रम हुँदा गाउँलेलाई यसैगरी सूचना पुर्‍याउने काम गर्छन्। 

गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमको सूचना दिनका लागि गाउँको अग्लो स्थानमा गएर हाँको (कुर्लिएर सूचना दिनु) हाल्छन् र गाउँलेहरू सोही आधारमा कार्यक्रम, बैठक र सभामा सहभागी हुन्छन्।

तमान गाउँमा ३७४ घरधुरी छन्। सबै घरका व्यक्तिलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको रूपलाल बताउँछन्।

गाउँमा एकजना मुखिया समेत छन्। मुखियाले दिएको आदेशअनुसार रूपलालले गाउँलेलाई सूचना दिने काम गर्छन्। ललित घर्ती मगर अहिले गाउँका मुखिया चुनिएका छन्। उनी मातहत नै कटुवालले काम गर्नुपर्ने हुन्छ।

कटुवाल रूपलालले परम्परादेखि चल्दै आएको हुँदा कटुवाल प्रथालाई आफूले पनि निरन्तरता दिएको बताए। गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा आफू खुसी रहेको उनको भनाइ छ। ‘परापूर्वकालदेखि चल्दै आएको चलन हो, अहिले पनि चलिरहेको छ, पहिले मोबाइल, रेडियो, टेलिभिजन भएको अवस्थामा यो अत्यन्तै प्रख्यात थियो, अझै पनि हाम्रो गाउँमा निरन्तर छ’, कटुवाल रूपलालले भने, ‘टोल टोलमा पुगेर सूचना प्रवाह गर्नु धर्म सम्झिएको छु।’

कटुवालले वर्षभरी सूचना प्रवाह गरेबापत एक घरबाट २ सय रुपैयाँ पाउँछन्। ३७४ घरधुरी रहेको तमान गाउँबाट रूपलालले वार्षिक ७४ हजार ८ सय रुपैयाँ पाउँछन्। दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू काम समेत गर्न सकिने उनको भनाइ छ। ‘हाँको हाल्ने काम सधैँ हुँदैन, यो त वेला मौकामा मात्रै हो, अरू समयमा अरू काम पनि गर्छु’, उनले भने ‘गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखि नै हुँदै आएको छ, हेरौँ अब पछिल्लो पुस्ताले के गर्छन् ? अहिले त सूचना दिने माध्यम धेरै आएका छन्।’

गाउँलेहरूले चार÷चार वर्षमा नयाँ कटुवाल चयन गर्ने गर्छन्। रूपलालले गर्न थालेको अहिले ३ वर्ष भयो। अर्को साल आफ्नो कार्यकाल सकिने उनले बताए। शुरु–शुरुमा हाँको हाल्दा घाँटीमा समस्या आउने गरेको भन्दै काम गर्दै जाँदा बानी परेको अनुभव उनी सुनाउँछन्। ‘यो काम त्यति सजिलो छैन, कुरल्ने (कुर्लिनु) भन्ने सानोतिनो काम पनि होइन, मलाई शुरुमा धेरै समस्या भएको थियो’, उनले भने, ‘पछि–पछि बानी पर्दै जाँदा आवाज पनि चर्को आउन थाल्यो कराउन पनि सजिलो भयो।’

मुखिया र जनप्रतिनिधि सेवामा सँगै

तमान गाउँका गाउँलेले चुनेर बनाएका व्यक्ति हुन्, मुखिया। मुखियाले गाउँको नेतृत्व गर्छन्। उनले गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनका लागि काम गर्छन्।

अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर हुन्। उनले तमान गाउँका ३७४ घरधुरीलाई परिचालन गरेका छन्। काम र भूमिकाका हिसाबले अहिलेका जनप्रतिनिधि जस्तै हो तर कुनै पनि सेवा सुविधा नलिएको मुखिया घर्ती बताउँछन्। यो एक किसिमले समाजसेवा नै हो।

गाउँमा भएका विकृति विसंगतिलाई हटाएर सु–सूचित गाउँ निर्माणमा मुखियाको मुख्य भूमिका हुन्छ। परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरूले यसलाई निरन्तरता दिएको उनको भनाइ छ।

‘यो प्रथा हाम्रा पुर्खादेखि चल्दै आएको हो, यसलाई हामीले निरन्तरता दिएका छौँ, हामीले खासमा गाउँमा हुने विशेष कामहरू, पूजाआजा, कार्यक्रम हुँदा सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौं’, मुखिया घर्तीले भने, ‘मुखियाले गाउँको नेतृत्व गर्ने हो, अहिलेको वडाध्यक्ष जस्तै हो तर मुखियाले कुनै पनि सेवा सुविधा लिँदैनन्।’

घर्तीभन्दा अगाडि तमान गाउँका मुखिया जितेन्द्र रोका थिए। उनको मृत्यु भएपछि घर्ती मुखिया चुनिएका हुन्। अहिले उनले दोस्रो कार्यकाल चलाउँदै छन्। मुखियाको कार्यकाल ४ वर्षको हुने र आफूले एक कार्यकाल सकेर गाउँलेले पुनः मुखिया बनाएको उनको भनाइ छ। घर्तीले दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पूरा भएको छ।

पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको मुखिया घर्तीले बताए। स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय गरेर काम गरेको उनको भनाइ छ।

‘स्थानीय सरकार नआउँदा गाउँको सबै काम मुखियाले गर्थे, गर्नुपथ्र्यो, अहिले जनप्रतिनिधि आएपछि उनीहरूसँग सहकार्य गरेर काम गछौँ, उहाँहरूलाई पनि सहज अनि हामीलाई पनि सहज भएको छ’, उनले भने, ‘जसरी पनि समाज परिवर्तन गर्ने हो, खासगरी मुखियाले गाउँमा हुने विभिन्न किसिमका काममा विशेष भूमिका खेल्छन्।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले मुखिया प्रथा परम्परादेखि चल्दै आएकाले जनप्रतिनिधिलाई समेत सघाउ पुर्‍याएको बताए। उनले मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप नगर्ने भएको हुँदा आफूहरूलाई समेत टेवा पुग्ने बताए।

‘यो पहिलेदेखि नै निरन्तर चल्दै आएको छ, हटाउने कुरा पनि भएन। यसले त जनप्रतिनिधिलाई समेत सहयोग गरेको छ, यसको त संरक्षण गर्नुपर्छ’, अध्यक्ष बुढा मगरले भने, ‘गाउँमा हुने हरेक क्रियाकलापमा मुखियाको भूमिका राम्रो छ, यसलाई आवश्यक परिमार्जन गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.