एक हप्तामा २ पटक बन्चरेडाँडा पुगे बालेन

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापन नभएसम्म फूलमाला र टीका ग्रहण नगर्ने घोषणा गरे। गत सोमबार सपथ ग्रहण गरेर कार्यभार सम्हाले र साेही दिन सो घोषणा पनि गरे।

तर, यतिबेला काठमाडौं उपत्यकाका सडक, चोक-चोकमा फोहोरको डंगुर थुप्रिन थालेको छ। उपत्यकाको फोहोर विसर्जन स्थल नुवाकोट सिसडोलका स्थानीयले विभिन्न माग राख्दै फोहोर फ्याँक्न नदिएसँगै उपत्यकामा फोहोर थुप्रिन थालेको हो।

स्थानीयकाे आन्दोलन, सडकको अवस्था, फोहोर फ्याक्ने ठाउँको अभावका कारण यस अघि पनि फोहोर व्यवस्थापनमा समस्या देखिने गरेको थियो। यस पटक निर्वाचनको समयभन्दा अगाडि अर्थात करिब एक महिनादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन। जसका कारण उपत्यका दुर्गन्धित भइसकेको छ।

लामो समयदेखि काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको चुनौती देखिएको छ। सो समस्या समाधान गर्नका लागि मेयर साहले निकै प्रयास गरिरहेका छन्। स्वतन्त्रबाट निर्वाचित युवा मेयर साहले सो समस्यालाई पहिलो चरणमा व्यवस्थापन गर्नका लागि निकै प्रयास गरेका छन्। पदभार ग्रहण गर्नु अगावै उपत्यकाको फोहोर विसर्जनको अन्तिम स्थल नुवाकोटको सिसडोलमा उनी आफैँ पुगेर समस्या पहिचान गरेका थिए। उनी विभिन्न राजनीतिक दलका शीर्ष नेता, प्रधान सेनापति, शहरी विकास मन्त्री लगायतसँग भेटघाट गरिरहेका छन्।

वर्षौंदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखापरेको छ। राजनीतिक दलबाटै निर्वाचित पूर्वमेयर विद्या शुन्दर शाक्यले फोहोर व्यवस्थापन गर्न नसक्दा असफल मेयरको ट्याग पाए। यतिबेला उपत्यकाको फोहोरको डंगुरले पनि त्यस्तै संकेत गरिरहेको छ।​

पहिलो भेट प्रधान सेनापति शर्मासँग

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले कार्यभार सम्हालेकै दिन अर्थात गत सोमबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। जुन उनको सपथग्रहण पछिको पहिलो भेट थियो।

सैनिक मुख्यालयमा भएको भेटमा प्रधानसेनापति शर्माले शाहलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए। सो क्रममा  उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको थियो।​

प्रधानमन्त्रीदेखि नेतासम्म भेटघाट

चुनावको नतिजा आउनु अगाडि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका बालेन्द्रले मंगलबार बैंकरहरुसँग भेट गरेका थिए। चुनावको नतिजा अन्तिम चरणमा पुगेसँगै भेटवार्ता, अनुगमनमा व्यस्त रहेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।

उनको पहिलो योजना भनेको उपत्यकाको फोहोर व्यवस्थापन नै हो। त्यसैले सोही विषयमा कुराकानी अगाडि बढेको मेयर शाहका स्वकीय सचिव भूपदेब शाहले बताए। उनले भने, ‘उपत्यकाको फोहाेर व्यवस्थापन नै मुख्य विषय हो। त्यसैले मेयर साबले जति पनि नेता मन्त्रीसँग भेटवार्ता गर्नुभएको छ। सबै फोहोरको व्यवस्थापनमा केन्द्रित छ।’

त्यस्तैगरी बुधबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग मेयर शाहको भेटवार्ता भएको थियो। सो क्रममा मन्त्री झाँक्रीले उपत्यकाकाे फोहोर व्यवस्थापनका प्रतिबद्ध भएर सहयोग गर्ने बताइन्। महानगरसँग सहकार्य गरेर काम गर्ने उनको भनाइ थियो। तर, काम भने हुन सकेको छैन। फोहोर व्यवस्थापनका लागि उनी आफैँ दुई पटक ल्यान्डफिल साइट पुगेका छन्।

उपत्यकाको फोहोर उठ्न सकेको छैन। फोहोर फ्याँक्ने ठाउँ भरिएको छ। उपत्यकाको फोहोर विसर्जन स्थल बन्चरेडाँडा ल्यान्डफिल साइट शहरी मन्त्रालय अन्तर्गत निर्माण भइरहेको छ। मन्त्रालयले  निर्माण सम्पन्न  गरेको खण्डमा  सो समस्या समाधान हुने देखिन्छ।

फोहोर व्यवस्थापनका लागि दौडधूप गर्दै मेयर शाह

काठमाडौं महानगरलाई फोहोरमुक्त बनाउने एजेण्डा मार्फत स्थानीय निर्वाचनमा विजयी बनेका शाह आफ्नो प्रतिवद्धता पूरा गर्न दौडधूप गरिरहेका छन्। फोहोर व्यवस्थापनका लागि विभिन्न राजनीतिक दलहरुसँग सहयोग मागिरहेका छन्। त्यही क्रममा आज बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटे। 

मन्त्री पाण्डेले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहयोग गर्ने आश्वासन दिए। पहिलाको स्थानीय सरकारले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग सहित स्थानीयले आन्दोलन गरिरहेका छन्। तीन तहका सरकार बीच समन्वय हुन नसक्दा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या देखिएको छ।​

बर्षाैंदेखि फोहोरको समस्या उस्तै

सरकारले ०५१ सालमै बञ्चरेडाँडामा फोहोर व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको थियो। तर, निर्माण भने बल्लतल्ल ०६२ सालपछि थाल्यो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग ४० वर्षे सम्झौता गरेर त्यहाँ प्रशोधन केन्द्र बनाउने सरकारको योजना थियो।

आफ्नो जग्गाको मुआब्जा पाइने र गाउँमा सडक, अस्पतालजस्ता पूर्वाधार विकाससँगै रोजगारी पनि पाइने आश्वासनपछि स्थानीयले प्रशोधन केन्द्र बनाउन दिन तयार भए। सरकारले तत्कालका लागि २ किलोमिटर वरै रहेको सिसडोलमा ३ वर्षे सहमति गरेर ४ सय ५१ रोपनी जग्गा अधिग्रहण गर्‍यो र फोहोर थुपार्न थाल्यो।

सहमति बमोजिम प्रशोधन केन्द्र नबनेको र सिसडोलमा थुप्रिएको फोहोरले प्रदूषण फैलिएको भन्दै स्थानीयले अनेकौँ पटक आन्दोलन गरे। वर्षेनी स्थानीयले आफ्ना कुनै पनि माग पूरा नभएको भन्दै फोहोर फाल्न अवरोध गर्ने गरेका छन्।

सरकारले हरेक पटक विभिन्न आश्वासन दिएर स्थानीयलाई झुलाइरह्यो। सम्झौता बमोजिम बञ्चरेडाँडामा प्रशोधन केन्द्र निर्माणका लागि निर्धारित समयमा वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) नै भएन। ०६६ सालमा बल्ल वातावरणीय प्रभाव मूल्यांकन भयो।

०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले केन्द्र बनाउने जिम्मा लगानी बोर्डलाई दियो। बोर्डले प्रशोधन केन्द्र निर्माण सहरी विकास मन्त्रालयअन्तर्गत अगाडि बढायो र फोहोर व्यवस्थापन 'नेपाल वेस्ट' नामको निजी कम्पनीमार्फत गर्न सहमति गर्‍याे।

बञ्चरेडाँडा डाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न ०७६ वैशाख २२ मा एक वर्षभित्र काम सक्ने गरी लुम्बिनी-कोशी एन्ड न्यौपाने जेभीसँग सम्झौता गरिएको थियो। तर, अझै निर्माण भएको छैन। काठमाडौं महानगरले मात्रै फोहोर व्यवस्थापनमा वार्षिक ३५ करोड रुपैयाँ खर्चिंदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.