|

बागलुङ : केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएका घुमाउने घरहरू धेरै देखिन्थे। ढुंगामाटोको गारो। रातोमा सेतो कमिरोले पोतिएका घरहरू गाउँभरि देख्न पाइन्थे। यस्ता घरहरूले शहरबाट गाउँ पुगेकाहरूलाई फुरुङ्ग बनाउने गर्थे। काठले बनेका घरका झ्यालढोका कलात्मक शैलीमा बनाइएका हुन्थे। झ्यालढोकामा कुँदिएका विभिन्न आकृतिले धेरैलाई आकर्षित गर्थे तर अहिले त्यस्ता घर लोप हुँदै गएका छन्।

यस्ता घरहरू बागलुङका ग्रामीण भेगमा बढी देख्न पाइन्थ्यो। पछिल्लो समय यस्ता मौलिक घर देख्न हम्मे हम्मे पर्न थालेको छ। मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन्।

परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा परेको गलकोट नगरपालिका वडा नम्बर १० का चन्द्रबहादुर घर्ती मगर बताउँछन्। उनले केही वर्षअघिसम्म धेरै ठाउँमा घुमाउने घरहरू भएपनि अहिले १/२ वटा पनि भेट्टाउन मुस्किल हुने बताए।

‘पहिले त गाउँभरि घुमाउने घरहरू देख्न सकिन्थ्यो, अहिले त सबै भत्किए। बुढा पुरानाले संरक्षण गरेर राखेका थिए पहिले त, अहिलेका पुस्ताले यस्तो घर मन नपराउने र पक्की घर रोज्ने हुँदा घुमाउने घरहरू लोप भए,’ उनले भने‚ ‘यस्ता घरहरू संरक्षण गर्न सके हाम्रो मौलिक संस्कृति बच्ने थियो होला। बुढा पुराना मरेपछि त कति त्यस्ता घरहरू पनि भत्किएर सकिए।’

उनले आफू पनि घुमाउने घरमै जन्मे हुर्केको भन्दै पछिल्लो समय गाउँमा भएका १/२ वटा त्यस्ता घरहरू पनि जीर्ण बनेको बताए। घर्तीले त्यस्ता घरहरूको संरक्षण गर्ने सके पर्यटकको रोजाइमा पर्न सक्ने भन्दै गाउँमा जीर्ण रहेका घुमाउने घरहरूको संरक्षणमा स्थानीय लाग्नु पर्ने बताए।

‘घुमाउने घर त हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको छ, अहिले गाउँमा धेरै त्यस्ता घरहरू त छैनन् तर पनि जति छन् तिनको मर्मत सम्भार र संरक्षणमा हामीहरू लाग्नु पर्छ, घुमाउने घरहरू त पर्यटकको रोजाइमा पनि पर्ने गरेका छन्‚’ उनले भने‚ ‘त्यसले गर्दा पनि यसको संरक्षण जरुरी छ, अहिलेका मान्छेले घुमाउने घर के भन्ने पनि थाहा पाउँदैनन् गाउँमा सबै फरक शैलीमा निर्माण भएका घरहरू छन्।’

अर्का स्थानीय चन्द्र विक घुमाउने घर बनाउन गाह्रो हुने हुँदा हराउँदै गएको बताउँछन्। अहिलेका घरहरू भन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी डकर्मीसमेत नपाइने गरेको उनको भनाई छ। विकले पछिल्लो समयमा गाउँमा जनसंख्या घट्दै गएकाले यस्ता घरहरू लोप हुँदै गएको बताए।

‘यो घर अन्य घरभन्दा बनाउन नै गाह्रो हुन्छ, त्यसका लागि सिकर्मी डकर्मी नै पाइँदैनन्। घर बनाउने मान्छे नै नभएपछि कसरी घुमाउने घर बनाउने, अहिलेका मान्छे गाउँमा बस्नै छाडे, झन् घुमाउने घरको त के कुरा?,’ उनले भने ‘अहिलेका मान्छेलाई पक्की सिमेन्टले बनेको घर चाहिन्छ, यस्तो घरमा बस्न समेत रुचाउँदैनन्। त्यसले गर्दा पनि होला घुमाउने घर गाउँमा हराउँदै गएको छ।’

उनी ग्रामीण क्षेत्रमा पनि शहर बजारमा जस्तै आधुनिक शैलीका घर भवन बन्न थालेपछि घुमाउने घरसँगै घरको घर र ढुङ्गे घरहरू पनि लोप हुने अवस्थामा पुग्न थालेको बताउँछन्। विकले गाउँमा पनि अहिले पक्की घरहरू बन्न थालेको भन्दै घरको घर त विस्थापित नै भएको बताए।

‘अहिले त गाउँमा पनि ठूला सिमन्टीका घरहरू बन्न थाले, पहिले गाउँको चारैतिर ढुङ्गा माटोका घरहरू हुन्थे, खरले छाएका घरहरू हुन्थे, अहिले त खरले छाएको घर पनि हराउन थालेको छ,’ विकले भने‚ ‘मान्छे नै बदलिए, सबैले सुख खोज्छन्, गाउँभन्दा बजार रोज्छन्। त्यसले गर्दा गाउँमा घुमाउने घर मात्रै होइन, अन्य घरहरू पनि लोप हुने अवस्थामा पुगेका छन्।’

अहिले स्थानीय पालिका घुमाउने घर संरक्षणमा भन्दा जस्तापाताका घर बनाउनेतर्फ लागिरहेका छन्। कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवन र पहिचान बोकेका हुन्छन्। यस्ता घरको संरक्षण गरि पर्यटक भित्र्याउन सकिने भएपनि जनप्रतिनिधिको यसतर्फ ध्यान पुगेकै छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.