|

काठमाडौं : पछिल्लो समय नेपालीले खाने नुनमा आयोडिनको मात्र बढी भएको हो कि भन्ने आवाज उठ्न थालेको छ। पहिले पहिले आयोडिनको कमीले गलगाँडको समस्या धेरै देखिएकाले नुनमा आयोडिन मिसाउन थालिएको भए पनि पछिल्लो समय नेपालीले खाँदै आएको नुनमा आयोडिनको मात्रा धेरै भएकाले थाइराइडका बिरामी बढेको अनुमान बढेको अनुमान स्वयम् चिकित्सकहरूले बताउने गरेका छन्।

अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत फिजिसियन डा प्रतीक पौडेलले पनि नुनमा आयोडिनको मात्रा बढी भयो भने थाइराइड बढाउने सम्भावना धेरै हुने भएकाले नुन खाँदा विशेष ध्यान दिनुपर्ने बताउँछन्।

आयोडिनको मात्रा नपुग्दा हुँदा पनि थाइराइड धेरै देखिने र आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहने उनको भनाइ छ। उनका अनुसार पछिल्लो समय थाइराइडका बिरामी बढ्दै जाँदा हामीले खाने नुनमा कतै आयोडिनको मात्रा धेरै भएको त हैन भन्ने प्रश्न भने गर्न सकिने बताए। 

आयोडिनको मात्रा धेरै भए थाइराइड हर्मोनमा असर गर्ने हुँदा सकभर बिरामीलाई नुन थोरै खान भन्ने गरेको समेत उनले बताए।  'नेपालीहरूको बानी अक्सर नुन धेरै नै खाने हुन्छ, यस्तो अवस्थामा आयो नुन धेरै खाँदा थाइराइड बढ्ने जोखिम धेरै हुन्छ, पछिल्लो समय थाइराइडका बिरामी बढ्दै जाँदा हामीले खाने नुनमा आयोडिनको मात्राबारे अनुसन्धान गर्नुपर्ने देखिन्छ‚' उनले भने।

आफूहरूसँग परीक्षणमा आउने बिरामीलाई तरकारीमा नुन हाल्दा शुरुमा नै हाल्न र सकेसम्म एक दिन बिराएर नुन खान सल्लाह दिने गरेको समेत डा पौडेलले बताए। 'आयोडिनले थाइराइड नर्मल भएकालाई खासै असर नगर्ने भए पनि थाइराडका बिरामीलाई असर गर्छ त्यसैले हामीले सकेसम्म नुन थोरै खाने नभए, नुन हाल्दा शुरुकै अवस्थामा हालेर पकाउन भन्छौँ जसले गर्दा आयोडिन उडेर जान्छ‚' उनले भने।

वरिष्ठ जनस्वास्थ्यविद् डा अरुणा उप्रेतीले पनि नेपालीले खाने नुनमा आयोडिनको मात्रा  बढी भएको हुँदा मात्रा घटाउनुपर्ने बताउँछिन्।

‘नेपालमा थाइराइड बढ्नुको एउटा महत्त्वपूर्ण कारण हामीले दैनिक खाने नुनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी हुनु पनि हो। पहिला आयोडिनको कमीले गलगाँडको समस्या धेरै देखिएकाले नुनमा आयोडिन मिसाउन थालियो‚‘ उनले भनिन्‚ ‘हाल गलगाँडको समस्या घटेको पाइए पनि आयोडिनको मात्रा बढी भएकाले यसका कारण हुने हर्मोनसम्बन्धी रोगचाहिँ बढेको देखिएको छ।’ 

हामीले खाने आयो नुनमा आयोडिनको मात्रा बढी भएको केही अनुसन्धानले देखाएको र अस्पतालमा बिरामीको अवस्था हेर्दा पनि त्यो देखिने उनले बताइन्।

डा उप्रेतीले आफूले समेत विगत २ वर्षदेखि आयोडिन नुन नखाएर अर्को ढिकेनुन तथा सिधेनुन खाने गरेको समेत बताइन्। 'पछिल्लो २ वर्षदेखि म आफैँ पनि आयोडिन नुन खाने गरेको छैन, मैले ढिकेनुन वा सिधेनुन खाने गरेको छु। यो नुनमा आयोडिन कम हुन्छ‚' उनले भनिन्।

आयोडिनबारे अनुसन्धान गरिएको छैन

नेपालीले आवश्यकताभन्दा धेरै नुन खाने गरेको पाइएको भए पनि आयोडिनको मात्राबारे अनुसन्धान नभएको बताउँछन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल। उनका अनुसार सन् २०१९ मा नेपालभरिको ६० जिल्लामा गरेको अनुसन्धानले नेपालीले डब्लुएचओले तोकेकोभन्दा बढी मात्रामा नुन खाने गरेको देखाएको भए पनि आयोडिनको मात्राबारे हालसम्म अनुसन्धान नगरिएको बताए।

'हामीले गरेको हालसम्मको अनुसन्धानमा नेपालीले डब्लुएचओले तोकेको भन्दा धेरै नुन खानेको गरेको पाइएको थियो तर आयोडिनबारे अनुसन्धान गरिएको छैन, अब गर्नुपर्ने बेला आएको देखिन्छ‚' उनले भने।

स्वास्थ्य अनुसन्धानले सन् २०१९ अनुसन्धानअनुसार नेपालीले औसतमा दैनिक ९ दशमलव १ ग्राम नुन खाने गरेको देखाएको थियो तर डब्लुएचओले दैनिक ५ ग्रामभन्दा थोरै नुन खानुपर्ने सिफारिश गरेको छ। नेपालमा औसतमा पुरुषले दैनिक ९ दशमलव ६ ग्राम र महिलाले ८ दशमलव ७ ग्राम नुन खाने गरेको उक्त अनुसन्धानले देखाएको थियो।

कति चाहिन्छ मानव शरीरलाई आयोडिन

विश्व स्वास्थ्य संगठनको न्युट्रिशन युनिटको मापदण्डअनुसार मानिसलाई कम्तीमा २५ देखि ५० पिपिएम आयोडिन अनिवार्य चाहिन्छ। मानिसमा आयोडिनको कमी वा बढी के छ मापनका लागि पिसाब परीक्षण गर्नुपर्ने हुन्छ। सङ्गठनले मानव शरीरमा आयोडिनको कमी वा बढी के रहेको छ भन्ने मापनका लागि नुन वा आयोडिन रहेका अन्य तत्त्वको उपभोगभन्दा मानवको पिसाब परीक्षणलाई मान्यता दिने गरेको छ।

यसकै आधारमा नेपालीको पिसाब परीक्षण गर्दा आयोडिनको मात्रा कम भएको पाइएको चिकित्सक सङ्घको जर्नल (जेएनएमए भोल्युम ५९ इस्यु २४२ अक्टोबर २०२१) मा उल्लेख गरिएको छ।

उक्त अध्ययनले विद्यालयका बालबालिकाको पिसाब परीक्षण गर्दा आयोडिनको मात्रा अपर्याप्त रहेको पाइएको थियो। बालबालिकाबाट सङ्कलन गरिएका ४६ नमुनामध्ये २२ दशमलव २ प्रतिशतमा १५ पिपिएमभन्दा थोरै आयोडिन पाइएको थियो। जसले गर्दा विद्यालयका बालबालिका जोखिममा परेको उक्त अध्ययनले देखाएको थियो।

जनस्वास्थ्यविद् आनन्दवल्लभ जोशीलगायतको टोलीले गरेको उक्त अनुसन्धानमा विद्यालयका बालबालिकाहरू आयोडिनको कमीले समस्या हुनसक्ने जोखिम रहेको देखाएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति प्राप्त गरेपछि २०१९ अप्रिलदेखि जुलाई २०१९ सम्म अनुसन्धान गरिएको थियो। नेपालमा ५० पिपिएम आयोडिनलाई मान्यता दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.