|

बागलुङ : वर्षौंदेखि अलपत्र परेको पूर्व–मश्चिम मध्यपहाडी लोकमार्गको बागलुङखण्ड यस वर्ष पनि सबै कालोपत्रे हुन सकेन। हरेक वर्ष निर्माण कम्पनीले वर्षा लागेपछि काम गर्न शुरु गर्छ। वर्षा र अन्य बहाना बनाउँदै आएको निर्माण कम्पनीले यस वर्ष पनि ठगेको छ।

बजारदेखि खहरेसम्म सडक कालोपत्रे भए पनि खहरेदेखि अक्षतेसम्म सडकको अवस्था विजोक छ। बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडकको तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म कालोपत्रे भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। 

उक्त खण्डमा ठेक्का सम्झौता भएको ६ वर्षपछि सडक कालोपत्रे भइरहेको छ। अहिले बागलुङ बजार खण्ड र बिहुँ खण्डमा कालोपत्रे भइरहेको छ। लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा अहिले धमाधम सडक कालोपत्रे र पूर्वाधार निर्माण भइरहेको छ। सडकको अछेते आसपासमा कालोपत्रेका लागि नाली निर्माण गर्ने, पर्खाल लगाउने, ग्याबिन लगाउनेलगायत कामसमेत धमाधम भइरहेको छ।

जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाँबाधेसम्म २५ किलोमिटर सडकमध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौरदेखि खहरेसम्म ५ किलोमिटर सडक कालोपत्रे भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

‘उपल्लो खण्डमा त केही ढिलाई भएको छ, तल्लो खण्डमा कामको सन्तोषजनक अवस्था छ। अहिले खहरेदेखि अछेतेसम्म असारअघि कालोपत्रे गर्ने हाम्रो योजना छ‚ त्यहीअनुरुप बेस हाल्ने काम भइरहेको छ, उपल्लो खण्डमा सामान्य काम भइरहेको छ‚’ भण्डारीले भने‚ ‘२५ किलोमिटर सडकमध्ये ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। अब १४ किलोमिटर कालोपत्रे गर्न बाँकी छ, असारसम्म ४ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ।’

भण्डारीले असारसम्म पानीले समस्या नपारे सडक सुधार हुने बताए। उनले केही सडक कालोपत्रे सम्पन्न भइसक्दा यो बर्खामा यात्रुले यात्रामा केही अलि थोरै सास्ती खेप्ने बताए। अहिले भइरहेको कामको प्रगति देख्दा लोकमार्ग कालोपत्रेले सार्थकता पाउने आशमा स्थानीय रहेका छन्। २६ वर्षदेखि सडकको धुलो खाँदै आएका जनता लोकमार्गले पूर्णता पाउनेमा आशावादी छन्। 

लोकमार्गको टाउकोदुखाई रहेको बोक्से खाल्टोले समेत यो बर्खामा सताउने छैन। अहिले बोक्सेको पहिरोग्रस्त क्षेत्रमा ३ सय मिटर सडक ढलान गरिएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडकखण्ड  यसअघि नै कालोपत्रे भइसकेका छन्। 

तर गलकोट खण्डमा अहिले कालोपत्रे सडक क्षतविक्षत भएको छ। मर्मतका लागि ठेक्का आह्वान गरिएको छ। मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । 

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए।

कुल १ हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ। बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक यस वर्ष पनि पूरै कालोपत्रे नहुने देखिन्छ। ठेकेदार कम्पनीको लापरबाही र सरोकारवाला निकायको बेवास्ताका कारण अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको स्थानीयको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.