|

काठमाडौं : सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बेलायत रोजगारीमा १० हजार स्टाफ नर्स (स्वास्थ्यकर्मी) पठाउने बताए। संघीय संसदको प्रतिनिधिसभा बैठकमा भएको मन्त्रालयगत छलफलमा उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच यसबारे शुक्रबार भेटवार्ता भएको थियो। सम्झौता तयार भएको र आगामी साता सम्झौता हुने श्रेष्ठको भनाइ थियो।

नेपाली नर्सलाई बेलायतमा पठाउने तयारी भइरहेको छ। पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा २ हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी भएको श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

नेपाल र बेलायत सरकारबीच हुने श्रम सम्झौतापत्रको तयारीका लागि दुवै देशका तर्फबाट सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट पहिलो पटक नेपालीहरूले बेलायतमा रोजगारी प्राप्त गर्न लागेका हुन्। 

नेपाली युवा वैदेशिक रोजगारीमा पठाउन सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ। यसअघि जापान, इजरायललगायत मुलुकसँग नेपालले विशिष्टिकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ। इजरायलमा केयरगिभरका लागि श्रमिक समेत पठाइसकेको छ।

स्वास्थय क्षेत्रका श्रमिक पठाउने तयारी भइरहेको मन्त्रालयको भनाइ छ। बेलायत सरकारले सहयोग गर्ने र छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने श्रम मन्त्रालयले जनाएको छ।

कति छन् नेपालमा नर्स?

नेपाल नर्सिङ संघका अनुसार १ लाख ३ सय लाइसेन्सप्राप्त नर्स रहेका छन्। जसमा २८ हजार वैदेशिक रोजगारीमा विभिन्न देशमा छन्। १५ हजार सरकारी र करिब १५ हजार नर्स निजी क्षेत्रमा आबद्ध रहेको नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले जानकारी दिइन्।

बाँकी ४२ हजार नर्स अहिले पनि बेरोजगारी नै रहेको अवस्था छ। बेरोजगार देखिएका सबै नर्स पूर्ण रुपमा बेरोजगार नभएको उनको भनाइ छ। अध्यक्ष राईका अनुसार उनीहरूमध्ये कतिपय बिना दरबन्दी, न्यून पारिश्रमिकमा काम गरिरहेका छन्। अब यी स्वास्थ्यकर्मी विदेश पलायन हुने उनको भनाइ छ।

उनले भनिन्, ‘नेपालमा रोजगारी नपाइ कम तलबमा काम गर्दै आएका नर्सहरू राम्रो कमाइ हुने र सरकारले नै सम्झौता गरेर पठाउँदा नजाने भन्ने कुरै हुँदैन।’  स्वास्थ्यकर्मी पठाउने मात्र नभइ दक्ष जनशक्ति उत्पादनतर्फ पनि लाग्नुपर्ने संघको भनाइ छ। 

लाखौं खर्च गरेर पढेका नर्सलाई देशमा भनेअनुसार काम छैन। बल्लतल्ल काम पाए पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा सरकारले वैकल्पिक बाटो खोज्नु राम्रो भएको तर यसबाट देशमा स्वास्थ्यकर्मी अभाव हुन सक्ने अध्यक्ष राई बताउँछिन्। 

यस्तो छ नर्स पठाउने मापदण्ड

मस्यौदा तयार पार्न गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले श्रम सम्झौतापत्रको अन्तिम मस्यौदा तयार गरेको छ। मस्यौदामा नेपाली नर्सको योग्यता, अध्ययनसँगै तालिम, अंग्रेजी भाषा र अनुभवलाई समेटिएको श्रम मन्त्रालयले जनाएको छ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) परीक्षामा ६ अंक प्राप्त गर्नुपर्ने प्रस्ताव बेलायतले गर्दै आएको थियो। तर दक्षताका आधारमा उनीहरूले आइइएलटिएसमा ५ दशमलव ५ अंक ल्याए पनि मान्यता दिनुपर्ने अडान नेपालको छ।

सोहीअनुसार नै मस्यौदाको खाका तयार भएको श्रम मन्त्रालयले जनाएको छ। नर्सिङ पढेका, अस्पतालमा काम गरिरहेका नर्सहरूलाई अनुभवका आधारमा लिइनेछ। अन्तरराष्ट्रिय भाषाको परीक्षा लिएर मात्र लैजाने गरी मस्यौदा तयार भएको छ।

बेलायत जाने नर्सहरूले मासिक न्यूनतम ३ लाख कमाउनेछन्। रोजगारीमा जाने नर्सको बेलायत जाने खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ।

सरकारले वैदेशिक रोजगारीका लागि १० हजार स्वास्थ्य जनशक्ति (नर्स) लाई बेलायत पठाउने तयारी गरेको छ। यसबारे बेलायत र श्रम मन्त्रालयबीच समझदारीसमेत भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.