|

दाङ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।८० का लागि ४२ अर्ब ६३ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ। प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्ताव गरेका हुन्।

कुल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार, पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने बजेट उल्लेख छ।

त्यस्तै वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड ५९ लाख, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँडबाट रु. ७० करोड प्राप्त हुने बजेटमा अनुमान गरिएको छ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट ७३ करोड ९० लाख, विशेष अनुदानबाट ४८ करोड रु. ३५ लाख, चालू आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋणबाट १ अर्ब परिचालन हुने अनुमान गरिएको छ।

त्यस्तै दाङको देउखुरीमा रहेको राप्ती उपत्यकामा राजधानी व्यवस्थापन, लुम्बिनी प्राविधिक विश्वविद्यालय, लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि रोल्पाको पातीहाल्ना (जिनावाङ) सम्मको सडक (रामपुर कपुरकोटः जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग)लाई प्रादेशिक गौरवका आयोजनाको रूपमा कार्यान्वयन गरिनेछ। यी आयोजनाका लागि १ अर्ब ६९ करोड विनियोजन गरेको गरेको मन्त्रीले बजेटमा प्रस्तुत गरेका थिए।

प्रादेशिक गौरवका आयोजनाहरूको कार्यान्वयनका लागि स्रोत अभाव हुन नदिने व्यवस्था मिलाएको भन्दै आगामी आर्थिक वर्षमा राजधानी व्यवस्थापनको कार्य सम्पन्न गरी रूपन्देहीमा अवस्थित प्रदेशका केन्द्रीयस्तरका निकायहरू स्थायी राजधानीमा स्थानान्तरण गरिने समेत बताए।

प्रदेश राजधानी व्यवस्थापनका लागि राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरी नमुना शिक्षालयको रूपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गर्नका लागि ७ करोड ५० लाख विनियोजन गरेको बताए।  

त्यस्तै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङको नवनिर्मित भवनमा प्रसूति एवम् नवजात शिशुको उपचार सेवा सञ्चालन गर्न १ करोड र अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारको गर्न राप्ती प्रादेशिक अस्पताल र प्यूठान अस्पतालका लागि २ करोडका दरले ४ करोड बजेट विनियोजन गरेको उनको भनाइ छ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको लालमटिया स्वास्थ्यचौकीलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ।

उनले ५० शय्या बनाउनका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयारी र निर्माण एवम् सेवा सञ्चालनका लागि १ करोड ५० लाख विनियोजन गरेको बताएका छन्।

यस्तै तुलसीपुर उपमहानगरपालिकाको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयुर्वेद औषधि उत्पादन गर्नका लागि बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०७९।०८० को बजेटमा औषधि उत्पादनका लागि ३ करोड विनियोजन गरिएको छ।

विपक्षी दलका कारण केही समय ढिलाइ

लुम्बिनी प्रदेशसभामा विपक्षी दल नेकपा एमालेले स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषयमा सरकारको धारणा माग गर्दै सदनमा अवरोध गरेपछि बैठक केही बेरका लागि स्थगित भएको थियो। बैठक शुरु हुनासाथ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालले राज्यमन्त्रीले घरमै पुगेर आक्रमण गरेको घटनाले सरकारमाथि प्रश्न उठेको भन्दै आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको थिए।

उनले राज्यमन्त्रीले घरमै पुगेर आक्रमण गर्दा पनि सरकार नबोलेको भन्दै यसबारे सरकारले धारणा सार्वजनिक गर्न नदिँदासम्म बैठक चल्न नदिने अडान राखेका थिए। त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले घटनाका सन्दर्भमा सरकारलाई निर्देशन दिँदै २५ मिनेटका लागि सदन स्थगित गरेका थिए। अपराह्न ४ बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो।
 

बजेटको पूर्णपाठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.