|

तुलसीपुर : शान्तिनगर गाउँपालिका-४ का बासिन्दाले बिहीबार दिउँसो १२ बजे गाउँपालिका कार्यालयको गेटमा धमाधम रित्ता गाग्री राखी धर्ना दिएका छन्।

उनीहरूले खानेपानीको समस्या भोग्दै आएकाले पानी आपूर्तिको व्यवस्था गरिदिन भन्दै गाउँपालिका (गापा)मा रित्ता गाग्री लिएर आएको बताए। उनीहरूले गापाको गेटमा रित्ता गाग्री राखेर अध्यक्ष प्रमोद बस्नेतसँग वर्षेनि आफूले पानीको समस्या भोग्दै आएको भन्दै खानेपानी सहज आपूर्ति गराउन माग गरे।

शान्तिनगर गापा–४ का रमेश चलाउनेले करिब ४/५ महिनादेखि धारामा पानी नआउँदा आफूहरूलाई पानीको समस्या भइरहेको बताए। उनले अहिले ब्रह्मथानमा रहेको मूलको पानी लगेर खाने गरेको भन्दै एक गाग्री पानी ल्याउन करिब आधा घण्टा समय लाग्ने बताए। उनले वडा नं. ४ मा मात्र नभई वडा नं. ३ का पनि पानी ल्याउन ब्रह्मथानमा आउँदा भीड हुने गरेको बताए।

उनले भने, ‘हाम्रो टोलका ५० घरपरिवारले खानेपानीको समस्या भोग्दै आया छौँ। धाराम पानी आउन्न। ब्रह्मथानमा रहेको मूलको पानी ल्याईकन खान्छौँ। त्यहाँ पनि मस्तै भीड हुन्छ। एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्छ।’

यो समस्या अहिले मात्र होइन। उनीहरूले यो समयमा वर्षेनि भोग्दै आएका छौँ। पहिलेका जनप्रतिनिधिलाई धेरै पटक भने पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ। उनीहरूले भने‚ ‘नयाँ आएकालाई समस्या देखाउन गाग्री ल्याएर गाउँपालिका कार्यालय आएका हौँ।’

गाउँमा खानेपानी संस्था भए पनि त्यसलाई पटक पटकभन्दा आफूहरूको सुनुवाइ नभएको उनको गुनासो थियो। उनले निर्वाचनको समयमा नेताहरूले समस्या समाधान गर्ने भनेर भोट मागे पनि जितेपछि बेवास्ता गर्ने गरेको आरोप लगाए।

त्यस्तै अर्का स्थानीय रेशम खड्काले प्रतिघरले २० हजार रकम दिएर निजी धारा जडान गरे पनि पानी नआउँदा समस्या भएको बताए। उनले आफूले यो समस्याका लागि बारम्बार सम्बन्धित निकाय र जनप्रतिनिधिलाई भन्दा पनि कुनै सुनुवाइ नभएको बताए। उनले जेठअसारको महिनामा मात्र नभई पुसमाघमा पनि आफूहरूलाई पानीको समस्या हुने गरेको बताए।

उनले भने, ‘३० घरका लागि ३२ इन्चीको पाइप खानेपानी समितिले राखिदिएको छ। त्यो पाइपबाट एक थोपा पानी आउन्न। हामी सबैभन्दा पुछारका उपभोक्ता हौँ। छलफल गर्छौँ भनेर नेताहरू आउँछन् तर समस्या सम्बोधन हुन्न। मुखले ठिक्क पार्छन् तर काम हुन्न। हामीले समस्या भोग्दै आएका छौँ।’
खानेपानी संस्थामा अहिले ९८० वटा धारा रहेको र पानीको मुहान सुक्दै जानु र उपभोक्ता बढ्दै जाँदा पानीको समस्या हुने गरेको संस्थाका अध्यक्ष कँडेलले बताए।

दैनिक माग ८ लाख लिटर, आपूर्ति ३ लाख लिटर

शान्तिनगर गाउँपालिका ३ र ४ मा खानेपानी वितरण गर्दै आएको माइलीपानी खानेपानी संस्थाले दैनिक ८ लाख लिटर पानीको माग हुँदा समस्या हुँदै आएको बताएको छ। संस्थाका अध्यक्ष थम्मन कँडेलका अनुसार बिहान र साँझ गरी दैनिक ८ लाख लिटर पानी आवश्यक भए पनि संस्थाले अहिले दैनिक ३ लाख लिटर पानी वितरण गर्दै आएको छ।

उनले भने, ‘हाम्रो खानेपानीको ट्यांकी ३ लाख क्षमताको छ तर २४ घण्टामा त्यो ट्यांकीमा २ लाख ८० हजार लिटर पानी जम्मा हुन्छ। त्यो पानीले कसरी उपभोक्तालाई पुर्‍याउन सकिन्छ।’ उनले पछिल्लो समय लामो समयसम्म खडेरी हुँदा र मुहान सुक्दै जाँदा पानीको समस्या बढेको उल्लेख गरे।

त्यस्तै उनले खानेपानी संस्थाले पानीका मुहान सुक्दै जाँदा र उपभोक्ता बढ्दै जाँदा उपभोक्तालाई पानी खुवाउन नसकेको अवस्थामा राज्यले वैकल्पिक स्रोतका लागि सहयोग गर्नुपर्ने बताए। उनले उपभोक्ताहरू माइलीपानीका मात्र नभई राज्यका पनि नागरिक भएका कारण अब स्थानीय सरकार वा प्रदेश र संघले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने पनि बताए। अहिले संस्थाको मुख्य पानीको मूल भने माइलीपानी मात्र रहेको र त्यो पनि सुक्दै गएका कारण अन्य अस्थायी करिब ५ वटा स्रोतबाट पानी ल्याएर ३ लाख लिटरसम्म पुर्‍याएको पनि उनको भनाइ थियो।

उनले भने, ‘हाम्रो मुख्य पानीको मूल वर्षेनि सुक्दै गएको छ। अहिले अस्थायी रूपमा अन्य पानीका मुहानबाट ल्याएका छौँ। केही सिँचाइका लागि प्रयोग हुने पानी रहेको छ। अहिले पनि किसानले धानको ब्याड राख्न पानी मागिरहनु भएको छ। अब हामीले उपभोक्तालाई पानी खुवाउने कि ? किसानलाई खेती गर्न पानी दिने। धेरै समस्यामा रहेका छौँ।’

यसैगरी उनले पानी वितरणमा कुनै पनि विभेद नगरेको भन्दै पुरानै तरिकाबाट भइरहेको पनि उल्लेख गरे।

यता शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय बासिन्दालाई खानेपानी तत्काल सहज बनाउन खानेपानी संस्थाका अध्यक्षलाई आग्रह गरेको बताए। उनले अहिले अरू वैकल्पिक स्रोतभन्दा पनि भएको पानीबाट कसरी व्यवस्था गर्न सकिन्छ, त्यो काम गर्न आग्रह गरेको बताए।

उनले पानीको समस्या भएको भन्दै स्थानीय बासिन्दा आफूकहाँ आएको बताउँदै आफूले उनीहरूको समस्यालाई गम्भीर रूपमा लिएर काम गर्ने पनि बताए। उनले खानेपानीका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.