|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुर गैँडाटार जोडने चाँदी नदीको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई समस्या हुने गरेको छ। ३ बर्षमा काम सम्पन्न गर्नुपर्ने चन्द्रनिगाहपुर गैँडाटार जोड्ने चाँदी खोलामा बन्दै गरेको पुल ६ बर्ष पुग्न लाग्दा समेत बन्न सकेको छैन।

चाँदी खोलाको पुल समयमा बनाउन माग राख्दै रौतहट क्षेत्र नं–४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले पटक–पटक संसदमा कुरा उठाउँदै आएका छन्। चाँदी खोलाको काम समयमा नगर्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुरले पटक–पटक म्याद थप गरेका कारण ठेकेदारको मनोमानी बढेको चन्द्रपुर–३ का वडाअध्यक्ष रबि देवकोटाको भनाइ रहेको छ।

चन्द्रनिगाहपुर गैँडाटार जोड्ने पुल निर्माणको जिम्मा पप्पु शिव शंकर जेभीले पाएको छ। उक्त पुल ४ सय ६९ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ रहेको छ। ११ ओटा स्पाम रहेको पुल दुई पटक म्याद थप गरेर २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो। पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको हो।

पटक–पटक म्याद थप भए पनि सो पुल बन्न सकेको छैन। निर्माण कम्पनीको चरम लापरबाहीले समयमा पुल निर्माण सम्पन्न हुन नसकेको गैँडाटारका स्थानीय वासिन्दा लालबहादुर दोङले बताए।

निर्माण कम्पनीले प्रतिबद्धता अनुसार काम नगरेको र अझै चारवटा स्पाम ढलान बाँकी रहेको उनले बताए। निर्माण कम्पनी तथा डिभिजन सडक कार्यालयलाई पटक–पटक ताकेता गरेपछि काम सुरु गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ की स्थानीय नेत्री सरस्वती खुलालले बताईन्। पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएर २०७३ पुसदेखि काम थालनी गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसाद साहले बताए।

उनका अनुसार कोरोना, निर्माण सामग्रीको अभाव, बजेट जस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको हो। पुलको काम हालसम्म करिब ६० प्रतिशत मात्र सम्पन्न भएको छ।

पुल नबन्दा हरेक बर्ष बर्षा याममा गैँडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा चाँदी खोलाले बगाएर मान्छेको ज्यान जाने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.