|

 जुम्ला :  जिल्ला सदरमुकाममा रहेका ठूला व्यापारीका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनका क्रममा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएको हो। 

जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्यप्रविधि तथा गुणनियन्त्रण डिविजन कार्यालयले गरेको बजार अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको हो। यसअघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फेन्सी पसल अनुगमन गरेको हो। 

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको पाइए पछि यसपटक  डिलर अनुगम गरिएको बताए। ‘धेरैको पसलको मूल्य सूची नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै पसल चलाएको र खाद्यवस्तुमा मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइएको छ’, उनले भने। 

टोलीले लुम्बिनी टेड्रर्सबाट म्याद गुज्रेका ३५ हजार रुपैयाँभन्दा बढीका बिस्कुट र चकलेटलगायत सामग्री बरामद गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदीले यहाँका व्यापारीले पसलमा मूल्यसूची राख्न नमानेका बताए। जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अधिकांश पसल दर्ता नभएको जानकारी दिइन् । उनले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ गर्नुपर्ने बताइन्।

सुवेदीले कपडा पसलमा फरक–फरक भाउ पाएकाले मूल्यसूची राख्न निर्देशन दिएको बताइन्। यहाँका व्यापारीले मूल्यसूची राख्न अटेर गर्दै आएका छन्। उनले ससमयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गरिन्। ‘अनुगमनका क्रममा धेरै समस्या देखियो’, रिजालले भनिन्, ‘सबै समस्या समाधानका लागि व्यवसाय दर्ता गर्न सुझाव दिएका छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.