|

दैलेख : पाँच दशकपछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ। २०२८ सालमा दैलेखको कोतगढीबाट सुर्खेत लगिएको सुन्दरी तोप पचास वर्षपछि दैलेख ल्याइएसँगै कोत गढीमा पुन:स्थापना गरिएका हो।

स्थानीय सरकार सञ्चालनसँगै जिल्लाबाट बाहिर लगिएको पुरानो ऐतिहासिक सम्पदा जिल्ला फर्काउने अभियानअन्तर्गत नेपाली सेनाको सुर्खेत ब्यारेकबाट २०७८ पुस २१ गते सुन्दरी तोपलाई दैलेखमा रहेको नेपाली सेना, स्थानीय प्रशासन र नारायण नगरपालिकाको संयुक्त पहलमा जिल्ला ल्याइएको थियो।

बिहीबार दैलेखको कोतगढीमा पुन:स्थापना गरिएको सुन्दरी तोपको धार्मिक महत्त्व समेत रहेको जानकारहरू बताउँछन्। विजयादशमी टीकाको साइत तोप पड्काएर जनाइने र स्थानीय बासिन्दाले तोपको साइत अनुसार दशैँको टीका लगाउने धार्मिक प्रचलन रहेको बुझिन्छ।

सुन्दरी तोप गढीमा राखिएसँगै दैलेखमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। गढीमा राखिएको तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिका दैलेखले लिएको छ।

दैलेखको ऐतिहासिक कोतगढी वि.सं.१८४६ सालतिर बहादुर शाहको नायवी कालमा बाइसेचौबीसे राज्य एकीकरण अभियानअन्तर्गत गोरखाली सेनाले युद्ध प्रतिरक्षाका लागि सैनिक किल्लाका रूपमा निर्माण गरेको मानिन्छ।

२०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा रहेका दुईवटा तोप अर्गा र सुन्दरी तोप सुर्खेत पुर्‍याइएको थियो। सुन्दरी तोप पाँच दशकपछि दैलेख ल्याइएको भए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन।

सुन्दरी तोपसँगै दैलेखबाट बाहिर लगिएको अर्गा तोपको खोजी भइरहेको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.