|

म्याग्दी :  एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि २ अर्ब ९७ करोड ८२ लाखको बजेट पारित गरेका छन्।

शुक्रवार सम्पन्न जिल्लाका ६ वटै स्थानीय तहहरूको नगर तथा गाउँसभा उक्त बजेट पारित गरिएको हो।

जिल्लाको एक मात्र नगरपालिका बेनी नगरपालिकाको बेनीमा सम्पन्न एघारौँ अधिवेशनले  ७३ करोड २२ लाखको बजेट पारित गरेको छ।

 ‘कृषि, पर्यटन र पूर्वाधार :  स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम संशोधन र बजेट छलफल सहित पारित भएको हो।

नगरसभामा उपप्रमुख ज्योती लामिछानेले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ४६ करोड १४ लाख अर्थात् ६३ दशमलव ०१ प्रतिशत र पुँजीगततर्फ २७ करोड आठ लाख रुपैयाँ अर्थात् ३६ दशमलव ९९ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिइन्।

बेनी नगरपालिकाले सामाजिक विकास, भौतिक पूर्वाधार, कृषि, पशुपालन, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको छ।

नगरपालिकाले कुल बजेटबाट सबैभन्दा धेरै सामाजिक विकासतर्फ ३८ करोड ४३ लाख ७५ हजार बजेट विनियोजन गरेको छ। पूर्वाधार विकासतर्फ २५ करोड १० लाख ,आर्थिक विकासतर्फ चार करोड १० लाख, विनियोजन भएको छ।

यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ‘विपद्‍मा मेयर कार्यक्रम’ सञ्चालनसहितका कार्यक्रमका लागि एक करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

यसैगरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ। गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गरेको बजेट छलफल सहित पारित गरिएको छ।

गाउँपालिकाको बजेटमा सामाजिक सुरक्षा भत्ताको रकमलाई समावेश गरिएको छैन्।

सभामा सार्वजनिक गरिएको बजेटमा आर्थिक विकासतर्फ ७८ लाख ८ हजार ९८०, सामाजिक विकासतर्फ ३ करोड ९७ लाख ४ हजार ६९०, पूर्वाधार विकासमा ८ करोड ७३ लाख, ५ हजार, वातावरण तथा विपद व्यवस्थापनमा ३६ लाख र सुशासन तथा संस्थागत विकासतर्फ ८ करोड ३४ लाख २० हजार ३३० बजेट विनियोजन गरिएको छ।

बजेटमा गाउँपालिकामा सञ्चालित र अधुरा योजनालाई निरन्तरता दिँदै दिगो र आधारभूत विकासको आधार तयार गर्ने योजनाहरुलाई प्राथमिकता दिइएको उपाध्यक्ष पुनले बताइन्।

उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ। शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट छलफल सहित पारित गरिएको हो।

सभामा उपाध्यक्ष पुनले सामाजिक सुरक्षा भत्ता बाहेक कुल विनियोजन मध्ये चालुतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिए। सशर्त अनुदान अन्तर्गतका धेरै कार्यक्रमहरू चालु खर्च अन्तरगत समावेश गरेकाले चालु बजेटको प्रतिशत बढी देखिएको गाउँपालिकाले जनाएको छ।

बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ करोड ९३ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँटको ८ करोड ८५ लाख ९५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९४ लाख ८२ हजार, प्रदेश राजश्व बाँडफाँटको ६७ लाख १९ हजार, गण्डकी प्रदेशबाट समपूरक अनुदान अन्तरगत ५० लाख, शसर्त अनुदान अन्तर्गत ५० लाख, आन्तरिक राजश्वबाट ६५ लाख ८३ हजार, संघीय सशर्त अनुदान २० करोड ११ लाख, संघीय समपूरक अनुदान पुँजीगततर्फ ७४ लाख संघीय विशेष अनुदान २ करोड ६० लाख प्राप्त हुने स्रोत अनुमान गरिएको छ।

यसैगरी मालिका गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ बजेट पारित गरेको छ।

बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजीगत तर्फ १८ करोड २० लाख ६६ हजार र सशर्ततर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

 बजेटमा आन्तरिक आयतर्फ ५० लाख, संघीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ६५ लाख ,राजश्व बाँडफाँटतर्फ ८ करोड ६४ लाख ७२ हजार, समपूरक अनुदानतर्फ ३ करोड ५० लाख ,सशर्त अनुदानतर्फ  १८ करोड ५० लाख र विशेष अनुदानतर्फ ३ करोड ३७ लाख रुपैयाँ स्रोत अनुमान गरिएको छ।

त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्फ १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाँटतर्फ ४६ लाख ,समपूरक अनुदानतर्फ ५० लाख र विशेष अनुदानतर्फ ५० लाख रुपैयाँ अनुमान गरिएको छ।

यस्तै मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ।

उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गरेकी हुन्। चालुतर्फ २७ करोड ७९ लाख ७० हजार र पुँजीगततर्फ १४ करोड ५५ लाख बजेट विनियोजन भएको छ। सवैभन्दा बढि बजेट सामाजिक विकासतर्फ २० करोड ९९ लाख विनियोजन भएको छ।

त्यस्तै, पूर्वाधार विकासतर्फ १० करोड ६७ लाख, आर्थिक विकासतर्फ २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ। कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड २७ लाख ७० हजार बेजट विनियोजन भएको छ।

पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नतीलाई प्राथमिकतामा राखिएको छ। सिम कोत्रावाङ, खुम्लिया, पैँयुपाटा, कुँहु, खधेरीखोला, पूर्णगाउँ, टोड्के नमूना सडक निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ।

यसैगरी अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष २०७९-८० लागि अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले शुक्रबार भएको १५ औँ गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै उक्त बजेट सार्वजनिक गरेकी हुन्। सार्वजनिक बजेटमध्ये चालु खर्चतर्फ ३३ करोड १५ लाख ३७ हजार ४०० रुपैया र पुँजीगततर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय र कोषतर्फ २ करोड ५० लाख रुपैयाँ बजेट रहेको छ।

प्रस्तुत बजेटमध्ये शिक्षातर्फ १ करोड ६५ लाख, स्वास्थ्यतर्फ २७ लाख ५० हजार रुपैयाँ, बहुक्षत्रीय पोषण कार्यक्रम अन्तर्गत १० लाख, भौतिक पुर्वाधार अन्तरगत सडकतर्फ १ करोड ४४ लाख विनियोजन गरिएको छ।

त्यसैगरी रणनीतिक महत्वको सडकको डिपिआर तयार गर्न ५० लाख, गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा ५० लाख, पर्यटनतर्फ ५० लाख, खेलकुद जन्य भौतिक पुर्वाधारका लागि ८४ लाख ७६ हजार, प्रकोप जन्य विपद व्यवस्थापन कोषमा ९० लाख, कृषितर्फ ३० लाख, पशु सेवातर्फ ४० लाख, आयुर्वेद तथा योगतर्फ ५ लाख, सूचना प्रविधि तर्फ १५ लाख रुपैया लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.