|

काठमाडौं : क्यानडाविरुद्ध २ एकदिवसीय खेल र आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

आगामी असार २९ मा स्कटल्याण्डमा शुरु हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो।

घोषणा भएको टोलीमा नयाँ दुई अनुहारबाहेक अधिकांश अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन्। पवन सर्राफले टोलीमा पुनरागमन गर्दा वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन्।

सागर ढकाल र सुसन भारी भने टोलीबाट बाहिरिएका छन्। नेपाली टिममा कप्तान लामिछाने र उपकप्तान रोहित पौडेलसहित कुशल भूर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी रहेका छन्।

नेपालले स्कटल्याण्डमा लिग–२ अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ। त्यसअघि क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ। स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ। नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ।

नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ मा र अन्तिम खेल नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ।

नेपाल लिग २ तालिकाको पाँचौँ स्थानमा रहेको छ। नेपालले १६ खेलबाट ७ जित, ८ हार र १ ‘टाइ’ सहित १५ अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ। आइसिसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.