नायकले आलमलाई पक्राउ गरेपछि रौतहटवासीले उनलाई नेपालका ‘सिंघम’ भन्न थाले

|
प्रहरी टोलीसँग प्रहरी निरीक्षक पप्पु नायक (अकासे निलो पोशाकमा दाँयाँबाट तेस्रो)।

विराटनगर : रौतहटको इँटाभट्टामा मानिसलाई जिउँदै जलाएको घटना थाहा पाउनेहरू अझै पनि त्यो घटना सम्झँदा झस्किन्छन्। घटना थाहा नपाएकालाई सुनाउँदा उनीहरूको मनमा एउटा प्रश्न सलबलाउँछ।

के कुनै मान्छे त्यति क्रुर पनि हुन सक्छ?

कुरा २०६४ साल असोज २७ गतेको हो। त्यस दिन रौतहटको राजपुरमा भएको बम विस्फोटमा ८ जना घाइते भए। परिवारले उनीहरू घाइते भएको खबर पाए तर शव देख्न पनि पाएनन्।

घटनाको गहिरो अनुसन्धानपछि ८ जनालाई जीवितै इँटाभट्टामा पोलेर हत्या गरेको आरोपमा नेपाली काँग्रेसका तत्कालीन केन्द्रीय सदस्य तथा पूर्वश्रममन्त्री मोहम्मद आफताब आलम पक्राउ परे। आलमले घटना सार्वजनिक हुने डरले बम विस्फोटका ८ जना घाइतेलाई इँटाभट्टामा डढाएर मारेका थिए।

उक्त घटनाको अनुसन्धानदेखि आरोपी पक्राउ गर्ने प्रहरी टोलीमा डिएसपी नवीन कार्कीका साथै प्रहरी निरीक्षक पप्पु नायकको थियो। राजनीतिक ओत लागेका आलमलाई प्रहरी निरीक्षक नायकले घटनाको लामो अनुसन्धानपछि पक्राउ गरेका थिए। यो सफलतापछि नै नेपालका ‘सिंघम’ भनेर रौतहटवासीले उनलाई बोलाउन थाले।

इँटाभट्टा घटनाको अनुसन्धान शुरु गरेदेखि आलमलाई पक्राउ गर्दासम्म रौतहटवासीले नायकलाई साथ दिएका थिए। हाई प्रोफाइल व्यक्तिलाई सामान्य अपराधीलाई झैँ पक्राउ गर्नु  सहज थिएन तर पनि उनको हिम्मत र पेशाप्रतिको जिम्मेवारीको अगाडि राज्यको कुनै पनि संयन्त्रले पनि रोक्न सकेन। उनको त्यही आँटको उच्च मूल्यांकन गर्दै रौतहटवासीले हिन्दी फिल्म ‘सिंघम’ को हिरोजस्तै गरी उनलाई ‘सिंघम’ भनेर बोलाउन थाले।

नायक हाँस्दै सुनाउँछन्‚ ‘त्यो ठाउँका जनताको ठूलो सहयोग छ हाम्रो टोली सफल हुनुमा, त्यसैले पनि उहाँहरूले गरेको मूल्यांकनले नै होला मलाई त्यो उपनाम दिनुभएको।‘

पूर्वश्रममन्त्री तथा राजनीतिक पार्टीका केन्द्रीय सदस्यसमेत रहेका त्यस भेगका प्रभावशाली नेताविरुद्ध घटनाको अनुसन्धान गर्नु फलामका चिउरा चपाउनुसरह नै थियो प्रहरीका लागि। त्यो समय राजनीतिक विरासत जोगाउन ८ जना जीउँदा मानिसलाई केही क्षणमै खरानी बनाउन सक्ने सत्ता र शक्तिको छहारीमा ओत लागेर बसेकाले राजनीतिक शक्तिको सामना गर्नु निरीक्षक नायकका सामु चुनौतीको पहाड नै तेर्सिएको थियो।

तर आफ्ना लागिभन्दा पनि जनताले न्याय पाउनुपर्छ भन्ने सोचले चुनौती स्विकार्दै घटनाको छानबिनमा दिनरात एक गरेर त्यस वेला लागि परेको उनी सुनाउँछन्।

‘१२ वर्ष पुरानो मुद्दा खोतल्न सोचेजस्तो सजिलो थिएन, त्यसमा पनि हाई प्रोफाइल व्यक्ति तर पनि आफ्नो जिम्मेवारीमा म फोकस रहेँ‚’ उनी अनुसन्धान गर्दाको समय सम्झँदै सुनाउँछन्, ‘त्यो केसको म अनुसन्धान अधिकृत भएर काम गर्ने मौका पाएँ, मलाई विभागले विश्वास गरेर छानबिन गर्न खटाएकोमा पनि म खुशी थिएँ।’

राजनीतिक आडमा उन्मुक्ति पाएका आलमविरुद्ध मुद्दा नै नचल्ने भनेर महान्यायाधिवक्ता कार्यालयले गरेको तत्कालीन निर्णय उल्ट्याएर, अनुसन्धान गरेर घटनाको छिनोफानो गर्नु भीरको बाटो हिँड्नुभन्दा कम थिएन।

रौतहट गएदेखि अनुसन्धानमा तल्लिन रहेका उनलाई घटनाको प्रमाण जुटाउन नै ६ महिना लागेको थियो।

आलम पक्राउ गर्नेताका उनलाई धम्की नआएका पनि होइनन्। हँसिलो हुँदै उनी भन्छन्, ‘धम्की, गाली भन्ने त हुँदै गर्छ नि तर रिल लाइफ जस्तो रियल लाइफमा कहाँ हुन्छ र!’

भन्छन्- प्रहरी बन्छु भन्ने लागेकै थिएन

धम्कीको पर्वाह नगरी राजनीतिक प्रभावमा नपरी यसरी लागि परेर प्रभावशाली व्यक्तिविरुद्ध समेत अनुसन्धान गरेर अपराधी पक्राउ गर्ने यी ‘सिंघम’ कसरी प्रहरीतर्फ आकर्षित भए त? जवाफ खोतल्न पछाडि फर्कनु पर्छ।

पढुन्जेलसम्म उनको मनको कुनै कुनामा पनि प्रहरी बन्छु भन्ने थिएन। उनका अनेकन सपना थिए। प्राध्यापन गर्दै बैँकको जागीर खाएर परिवारसँगै रमाउने सपना थियो। तर देखेका सबै सपना विपना कहाँ हुन्छन् र!

आफूले देखेका सपनाभन्दा फरक पेशा अंगालेर सफल होइएला भन्ने उनलाई लागेकै थिएन। तर नहिँडेको बाटोमा पनि गन्तव्य पछ्याउनु र चुनौती सामना गर्दै अगाडि बढ्न सके सफलता हात पर्छ भन्छन् उनी।

‘म सानो छँदा प्रहरी पेशा खासै मनपर्दैनथ्यो, म पढ्दै स्कुलमा पढाउँथेँ पनि । बैँकमा पनि जागिर गरेँ‚’ उनी विद्यार्थी जीवन स्मरण गर्दै सुनाउँछन्, ’तर आफूले सोच्दै नसोचेको पेशा अँगाल्न पुगेँ। परिवारले प्रहरी छाड भनेर दबाब नदिएको पनि होइन। अहिले भने यही पेशामा मेरो लगाव देखेर परिवार पनि खुशी छ।‘

अनुसन्धानमा अब्बल

‘दैनिकजसो आउने विभिन्न प्रकृतिका घटना अनुसन्धान गर्नु‚ जनताको गुनासो बुझ्नु, सुनिदिनु र सुल्झाउनु प्रहरीको कर्तव्य नै हो‚’ भन्छन् उनी। त्यसै पनि भारतसँग  खुल्ला सीमा जोडिएको मोरङमा सुरक्षा चुनौती धेरै छ।

चुनौतीलाई अवसर मान‍ेर अगाडि बढेका प्रहरी निरीक्षक नायकले मोरङमा पनि जघन्य  प्रकृतिका घटनाहरूको सफल अनुसन्धान गरेका छन् । अवैध मिटर ब्याजी धन्दाका नाइकेहरूको गिरोह उनले पक्राउ गरेयता कतिपय अवैधमा धन्दा गर्नेहरू यति वेला अलप भएजस्तै गरि बेपत्ता छन्।

जघन्य प्रकृतिका अपराध अनुसन्धानमा अब्बल ठहरिएका उनलाई विभागले सर्वोकृष्ट प्रहरी घोषित गरेको थियो।

‘म हत्यामा होस् या कुनै घटना भएको स्थलमा पुगेँ भने आफ्नै तरिकाले भिजन बनेर आउँछ, त्यहीअनुसार अनुसन्धानमा जुट्छु‚’ सर्वसाधारणलाई अत्यास लाग्ने घटनाको अनुसन्धान कसरी गर्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘आजसम्म घटनाको प्रकृति हेरेर बनेको भिजनअनुसार अनुसन्धान गर्दा कहीँ असफल भएको छैन।’

बाल्यकालमा अभावको राप र ताप झेलेका ‘सिंघम’ ०७१ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन्। झापाको कमल गाउँपालिका-१ घर भएका उनी हाल जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.