|
फाइल तस्वीर

झापा : नेपाल प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएका लाखौँ मूल्यका मालसामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार ३ दिनमा १४ लाख ९७ हजार ४ सय मूल्य बराबरको सामान बरामद गरेको हो। 

बरामद गरिएका सामान प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ। आज बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका-७ सतिघट्टास्थित सीमा क्षेत्रमा भन्सार छलेर भित्रिएको ६५ हजार रुपैयाँ मूल्य बराबरको जुत्ताचप्पल प्रहरीले बरामद गरेको थियो।

खुला सीमा भएकाले झिसमिसेमै अवैध व्यापारीका समूहले बोरामा बोकेर ती सामान नेपालतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी सतिघट्टाका प्रहरी सहायक निरीक्षक छत्रलाल श्रेष्ठको टोलीले सामान बरामद गरेको हो। 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायब निरीक्षक रमेश श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीवार मेचीनगरकै वडा नं ६ हनुमान मन्दिर छेउबाट १ लाख ४२ हजार ४ सय रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरेको थियो। भन्सार छलेर भित्र्याइएका ती सामानमा महिलाको लेहेङ्गालगायतका कपडा थिए।

सीमाका सशस्त्र प्रहरी बलको टोलीले समेत बिहीवार अवैधरुपमा भित्रिएका लत्ताकपडा बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट तिरिङले मेचीनगर-१ स्थित सीमा नजिकबाट १० लाख रुपैयाँ मूल्य बराबरका लत्ताकपडा बरामद गरेको थियो।

सशस्त्र प्रहरी बलको काँकडभिट्टा गुल्मबाट खटिएको टोलीले मेचीनगर–७ धनकुटे बस्तीमा परालको कुन्यूमा लुकाइछिपाइ राखिएको अवस्थामा २९ कार्टुन लाइटर बरामद गरेको थियो।

सूचना अधिकारी चन्दका अनुसार ती लाइटरको मूल्य २ लाख ९० हजार रुपैयाँ रहेको छ। प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिरहेको जनाएको छ। बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा प्रहरीले बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.