पाँच वर्षमा नमुना नगर बनाउँछु

|

काठमाडौं : स्थानीय तहले नयाँ जनप्रतिनिधि पाएको एक महिना बित्यो। देशभरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत पेश गरिसकेका छन्।  

काठमाडौँका १२ सथानीय तहमध्ये कागेश्वरी मनोहरा नगरपालिकाले कस्तो बजेट ल्यायो? यहाँ के–के समस्या रहेछन्? लगायत विषयमा मेयर उपेन्द्र कार्कीसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी–

कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको जिम्मेवारी सम्हालेको १ महिना पूरा भयो। काम कसरी अघि बढाउनु भएको छ? 

कागेश्वरी मनोहरा नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि नै नगरपालिकामा देखिएका समस्या पहिचान र अनुगमनको काम अघि बढायौँ।  नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने समयसम्ममा जनताका समस्या पहिचान गरिसकेका थियौँ। त्यसैले जनताको प्राथमिकताको आधारमा बजेट ल्याएका छौँ। 

नगरपालिकाले प्रत्येक वडामा ‘र्‍यापिड स्पिड टिम’ बनाएर सडक मर्मत र खानेपानीको व्यवस्थापन लगायतमा काम गर्न थालेको छ। कार्यकाल  सम्हालेको धेरै समय भएको छैन। केही समय बजेटको तयारीमा लाग्यौँ। मुख्य काम गर्न भ्याएका छैनौँ। तर प्रक्रिया अघि बढेको छ।  

एक महिना खर्चेर अनुगमन गर्नुभयो? नगरपालिकामा के–के समस्या देख्नुभयो?

कागेश्वरी मनोहरा नगरपालिकामा प्रमुखरूपमा खानेपानीको समस्या देखिएको छ। त्यस्तैगरी शिक्षा,स्वास्थ्य,पुर्वाधार निर्माण लगायतका विषमा समस्या पनि छ, जसलाई मेरो कार्यकालमा पूरा गर्नुपर्ने  छ। कतिपय तत्काल समाधान गर्न सकिने समस्या छन् भने कतिपयलाई लामो समय लाग्न सक्छ। नगरको समस्या प्राथमिकताका आधारमा समाधान गर्दै जानेछौँ। नगरका  समस्यालाई समाधान गर्ने गरी  नीति कार्यक्रम ल्याएका छौँ। 

खानेपानीको समस्या समाधान कसरी गर्नुहुन्छ? 

कागेश्वरी मनोहरा नगरपालिकामा खानेपानीको चरम अभाव छ।  यहाँ मेलम्ची खानेपानी आयोजनाको पानी पहिलो चरणमा आउँदैन।  यो समस्या समाधानका लागि नगरपालिकाले अन्य विकल्प खोज्नु पर्नेछ। त्यसैले पालिकाको ‘नगर खानेपानी बोर्ड’ गठन गरी पाँच वर्षभित्र घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउने योजना छ।  हाल नगरपालिकाका ३५ हजार घरधुरीमध्ये ६ हजारको घरमा मात्र खानेपानी वितरण गरिएको छ। अझै २९ हजार घरधुरीलाई खानेपानी पुर्‍याउनुपर्ने अवस्था छ।

शिवपुरी जलाधार र घट्टे कुलोबाट आएको पानीलाई बृहत् रूपमा  गौरवको आयोजनाको रूपमा अघि बढाउने काम गर्नुपर्ने छ।  यसका लागि लगानी खोजीको अवस्थामा नै छ। पालिकाले १० करोड बजेट विनियोजन गरेको छ। पाँच वर्षभित्र नगरवासीको घरघरमा खानेपानी पुर्‍याउने मेरो प्रतिबद्धता छ। पूरा गर्छु।

नगरका समस्या समाधान हुने गरी नीति तथा कार्यक्रम र बजेट आयो त? 

आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७ करोड ७० लाख ७४ हजार बजेट ल्याएका छौँ। नगरपालिकाका समस्या पहिचान गरी नीति कार्यक्रम ल्याएकाले समस्या समाधान हुने विश्वास छ। नीति तथा कार्यक्रममा सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकास सहितको भौतिक पूर्वाधार लगायतका विषय समावेश गरिएको छ।  

‘सबल, सक्षम, सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार’ नारा दिएको नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, रोजगारी उद्यमशीलता, शहरी पूर्वाधार, खोज अनुसन्धान, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन, नागरिक सहभागिता, पर्यावरणीय सन्तुलन र निरन्तर दिगो भौतिक पूर्वाधारको विकासलाई नीति तथा कार्यक्रममा बढी जोड दिएका छौँ। सामाजिक न्यायविना रूपान्तरण हुन नसक्ने भन्ने तथ्यलाई आत्मसात गरेका छौँ।

नगर अस्पतालसहित सम्पूर्ण स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाई घरदैलोमा निःशुल्क स्वास्थ्य उपचार सेवा, विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएका छौँ। कागेश्वरी मनोहरालाई खेलकुद नगरको रूपमा विकास गर्ने  योजना अगाडि सारेका छौँ। 

त्यस्तैगरी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा  विषय शिक्षक अभाव देखिएको छ। त्यसलाई सुधार गर्न नगरपालिका दरबन्दीमा पाँचजना शिक्षक राख्ने र उनीहरूलाई मासिक ३ हजार रुपैयाँ खाजा भत्ता दिने निर्णय गरेका छौँ। त्यस्तैगरी उज्यालो नगर कार्यक्रम अगाडि बढाएका छौँ। टोलटोलमा सीसी क्यामेरा जडान काम अघि बढाएको छु। 

काठमाडौं उपत्यकामै फोहोर व्यवस्थापनको समस्या चुनाैतीका रूपमा देखिएको छ। यसमा काठमाडौं महानगरको भर पर्ने कि अरु नै केही योजना ल्याउनु भएको छ?

कागेश्वरी मनोहरासँग  विगतमा फोहोर व्यवस्थापन गर्न विसर्जन केन्द्र थिएन। त्यसैले महानगरपालिकाको भरमा फोहोर व्यवस्थापन गर्दै आएको थियाैँ। तर अब नगरपालिकाले यहाँको फोहोर आफैँले व्यवस्थापन गर्नेछ। सका लागि अनुसन्धान भइरहेको छ। आफ्नो छुट्टै ‘ल्याण्डफिल साइट’को खोजी वा प्रविधिको प्रयोग गरी फोहोर व्यवस्थापन गर्ने विषयमा अनुसन्धान गर्नेछौँ। मेरो कार्यकालमा नगरपालिकाको फोहोर आफैँले व्यवस्थापन गर्ने वातावरण मिलाउने छु। नगरपालिकाको प्रमुखबाट बाहिरिँदा सफा स्वच्छ नगरपालिका निर्माण गर्नेछु।   

चावहिल–साँखु सडक वर्षौँदेखि अलपत्र छ। पूर्वमेयरलाई काम नगरी कार्यकाल बिताएको आरोप लागेको थियो। यसलाई तपाईँ कसरी अगाडि बढाउनु हुन्छ? 

चावहिल–साँखु सडकको अवस्था वर्षौँदेखि दयनीय छ। स्थानीयले हिलो र धुलोको सास्ती खेप्नु परेको छ। तर यो सडक कालोपत्रे गर्ने जिम्मेवारी नगरपालिकासँग छैन। तर, समन्वय भने गरिरहेको छु। सो सडकका लागि संघीय सरकार, सडक विस्तार आयोजना र ठेकेदार कम्पनीसँग पनि छलफल अघि बढाएको छु।खाल्डाखुल्डी पुर्ने काम भने नगरपालिकाले गर्दै आएको छ।

भित्री सडकका काम भने हामी काम गर्दैछौँ। समग्रमा नागरिकलाई स्थानीय सरकार सँगै भएको आभास दिलाउने गरी काम गर्नेछु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.