|

झापा :  जब घरआँगनमा पानी पस्छ, त्यही वेला डुबानमा परेका पीडित बासिन्दाको चेत खुल्छ। अनि हारगुहार गर्न थाल्छन्, ‘घरआँगनमा पानी पस्यो कसैले हाम्रो समस्या सुनिदिएन।’ अनि गाली गर्छन् आफैँले भोट दिएर जिताएका जनप्रतिनिधिलाई। उनीहरूको आक्रोश राजनीतिक दलका नेता र स्थानीय पालिकामाथि पनि त्यतिकै छ।

पूर्वतयारीसँगै दीर्घकालीन समस्या समाधानमा खासै चासो नदेखाएका जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू पनि यस्तो विपद्‌मा गरून् त के गरून् ? उनीहरू पनि हुल बाँधेर डुबान र जलमग्न घर–आँगन पुग्छन्।

स्थलगत अनुगमन गर्छन्। पीडितहरूलाई आश्वासन बाँड्छन्। राहत पनि दिन्छन्। अनि आज ठुलो काम गर्‍यो भनेर जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू छाती फुलाएर हिँड्छन्। अनि पीडामा परेका स्थानीय घरआँगनको तस्बिर सामाजिक सञ्जालमा हाल्छन्।

जब मनसुन सकिन्छ। डुबान र जलमग्नमा परेका पीडित स्थानीय बासिन्दासँगै जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरू सबै त्यो दिनको पीडा बिर्सिन्छन्। अनि पुरानै कार्य व्यस्ततामा फर्किन्छन्। अनि पर्खन्छन् अर्को मनसुन। हरेक मनसुनमा यस्तै गतिविधिले निरन्तरता पाइरहेको छ।

मंगलवार बिहानदेखि परेको अबिरल वर्षाका कारण झापाका अधिकांश पालिका डुबान र जलमग्न बनेका छन्। अहिले जताततै डुबानमा परेका पीडित र स्थानीयको कुरा पनि माथि उल्लिखित भनाइमा ठ्याक्कै मेल खान्छ।

स्थानीय सरकारले डुबान तथा जलमग्न हुने स्थानको पहिचान गरी समयमै बजेट विनियोजन गरी तटबन्ध र ढल निकासको काम गरिदिए यस्ता समस्या समाधान हुनेमा अधिकांश स्थानीयको भनाइ छ।

यता डुबान र जलमग्न भएका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। स्थानीय सरकारले सडक ढल निकासको उचित व्यवस्थापन, पैनी तथा खोलामा तटबन्ध नगर्दा स्थानीय जोखिम मोलेर बस्न बाध्य छन्।

बाढी पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे, आसपास भारी वर्षा मापन गरेको छ। अहिले पनि झापामा भारी वर्षा भइरहेको छ। पैनी तथा खोलाको पानी घरआँगनमा पस्दा सदरमुकाम भद्रपुरका अधिकांश वडा जलमग्न छन्।

भद्रपुर-८ मा २५ घर विस्थापित भएको छ। भद्रपुर ३, ४, ५ र ६ मा सयौँ घर डुबानमा परेको छ। मेची नदीमा पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले जानकारी दिए। देवीबस्ती, मेची किनार, बसपार्क, भानुचोक आसपासका दर्जनौँ घर जलमग्न भएको उनले बताए।

त्यस्तै गौरादह-६ स्थित टंगुवा बस्तीमा २५ घर डुबानमा परेका छन्। घरआँगनमा २ फिटसम्म पानी जमेपछि उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरुप्रसाद तिम्सिनाले जानकारी दिए। मकलडुब्बा खोलाको पानी शिवसताक्षी-६ स्थित शिवगञ्जमा पस्दा जबरजंग दर्जी‚ मानबहादुर दर्जी र सञ्जय मल्लिकका घर डुबानमा परेका छन्।

गौरीगञ्ज-१ मा बनियानी खोलाले रणमाया लिम्बुको घर डुबानमा पारेको छ। गौरीगञ्ज-१ माई खोलाको पानी पस्दा बाकुबाँडीमा १५, देवीगाडामा ५ र टापु बस्तीमा १२ घर डुबानमा परेको इन्स्पेक्टर तिम्सिनाले जानकारी दिए। गौरादह-६ मा रतुवा खोला पसेर तेलिया डाँगी टापुमा परिणत भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए।

उनका अनुसार शिवसताक्षी ३ र ५, कमल १ मा कमल र बनियानी खोला पसेको छ। शिवसताक्षीमा-६ मा ४० घर डुबानमा परेका छन्। झापा-१ मिलनबस्तीमा ९० घरमा पानी पसेको सभापति ढकालले जानकारी दिए।

जिल्लाको मेची, निन्दा, विरीङ, कनकाई, मावा, अदुवा, बनियानी, देउनियाँ, हडिया, घाग्रामा पानी बहाव बढिरहेकाले तटबन्ध नलगाएको तटीय क्षेत्र तीव्र रूपमा कटान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.