काठमाडौं : पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर चलेको छ। भर्खरै नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतका विश्व चर्चित कलाकार ब्रह्मानन्दलाई अनुबन्धित गरियो। ब्रहमानन्द बाहेक सोही फिल्ममा अन्य तीनजना नाम चलेका भारतीय कलाकार अनुबन्धित भइसकेका छन्।
नेपालको सबैभन्दा ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको फिल्म 'एक्स ९' मा बलिउड अभिनेता सुनील सेट्टी खलनायकको रूपमा देखिने बताइएको छ। जसको निर्देशन लप्पनछप्पनका निर्देशक मुकुन्द भट्टले गर्नेछन्। दिवाकर भट्टराईले निर्देशन गर्न लागेको ठूलो लगानीको लभ स्टोरी फिल्म ‘हनीबनी’मा पनि भारतीय कलाकार रहेका छन्।
नेपाली फिल्ममा भारतीय कलाकारले अभिनय गरेको अहिले मात्र होइन। शुरुवाती चरणमा बनेका फिल्ममा धेरै कलाकार र प्राविधिकले नेपाली फिल्ममा काम गरेका छन्। त्यतिवेलाका चर्चित र सफल कलाकार माला सिन्हा, सुनील दत्त, राजेन्द्र नाथ लगायतले नेपाली फिल्ममा अभिनय गरेका छन्।
त्यतिवेला फिल्म नेपालका लागि कलाको नयाँ विधा थियो। फिल्म बनाउनको लागि पर्याप्त जनशक्ति थिएन। नेपाली फिल्म उद्योगले उद्योगको रूप लिइसकेको थिएन। थोरै फिल्म बन्थे। कतिपय अवस्थामा फिल्मको काम गर्न मुम्बई पुग्नुपर्ने अवस्था थियो। त्यस वेला भारतीय कलाकारलाई नेपाली फिल्ममा काम गराउनु आवश्यकता पनि थियो।
पछिल्लो पाँच दशकमा नेपाली फिल्म उद्योगले पनि लामो यात्रा तय गरेको छ। कलाकारदेखि प्राविधिक सबै यहीँ जन्मिएका छन्। फिल्ममा विषयवस्तु र पात्र चयनको शैली फेरिएको छ।
अहिले भारतीय कलाकारलाई महँगो पारिश्रमिक तिरेर नेपाली फिल्ममा खेलाउने लहरलाई चासोका साथ हेरिएको छ। ब्रह्मानन्दलाई ह्रस्व दीर्घमा दैनिक ८ लाख भारु पारिश्रमिक दिने बताइएको छ। उनले १० दिन मात्र ह्रस्व दीर्घलाई दिए भने उनको पारिश्रमिक १ करोड ३० लाख नेपाली हुन जान्छ।
उनी बाहेक अनुबन्धित अन्य भारतीय कलाकार प्रदीप रावत, सुनील बर्मा र अलिलाई पनि राम्रै पारिश्रमिक दिने सम्झौता भएको बुझिएको छ। चारजनाको पारिश्रमिकले मात्रै २ करोडको आँकडा छुने देखिन्छ। जुन नेपाली फिल्म उद्योगको लागि ठूलो रकम हो। एउटा राम्रो फिल्म बन्न सक्ने रकम हो। सँगै यस क्षेत्रमा लगानी बढ्नु, त्यसको प्रतिफल पनि राम्रो आउनु उद्योगको लागि सकारात्मक कुरा पनि हो।
नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर जसरी भित्रिएको छ त्यो कथाकै माग हो कि चर्चित नाम जोडेर फिल्म सफल बनाउने लोभ हो भन्नेमा अन्योल छ। कथाकै माग हो भने पात्रमा कलाकारलाई सुहाउला, फिल्म अझै जीवन्त बन्ला, व्यवासायिक सफलता असफलताले निर्मातालाई त्यस्तो ठूलो असर पनि नगर्ला।
तर, चर्चित अनुहार भएकै कारण फिल्ममा अनुबन्धित गरिएको हो भने त्यो अर्थहीन हुन सक्छ। अनुहार हेरेर दर्शक हलमा आउँछन्, फिल्म हिट हुन्छ भन्ने भ्रम निर्माताले नपाले हुन्छ। ब्रह्मानन्द, सुनिल सेट्टी, सुनिल बर्मा मात्र होइन फिल्मको विषयवस्तु र कथावाचन राम्रो भएन भने भारतका सर्वाधिक महँगा अभिनेता प्रवासदेखि सलमान शाहरुख, अक्षय कुमार, आमिर खानका फिल्म पनि फ्लप हुन्छन्। जसका उदाहरण 'पृथ्वीराज', 'राधे श्याम'देखि 'जिरो', 'ठग्स अफ हिन्दुस्तान' लगायत दर्जनौँ छन्।
यद्यपि कलाकारमार्फत दुई देशका फिल्म उद्योग जोडिनु सकारात्मक कुरा भने हो। कामले चिनिएका, धेरैले मन पराएका कलाकारलाई नेपाली फिल्म निर्देशकले कसरी काम गराउँछन्। प्रतिफल कस्तो आउँछ भन्ने कुरा भने हेर्न बाँकी नै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।