|

काठमाडौं: रामेछापको सुनापति गाउँपालिकामा भएका बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । 

तीमध्ये १२ जनाको सनाखत भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले  थाहा खबरलाई जानकारी दिए। 

दुर्घटनामा परी सुनापति गाउँपालिका ५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आले मगर र  ६० वर्षका खड्ग विकको घटनास्थलमै मृत्यु भएको डिएसपी थिङले बताए। 

त्यसैगरी घटनास्थलमै मृत्यु हुनेमा सुनापति ४ की ६० वर्षकी सन्दिपा तामाङ, काभ्रे मण्डनदेउपुर ९ की ६० वर्षीया सुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका ४ का वर्ष नखुलेका कमल तामाङ र सुदिप गजमेर र पाँचखाल नगरपालिका ८ का ४० वर्षीय कुल बहादुर विक रहेका छन्।

अन्य चार जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जसमध्ये सुनापति गाउँपालिका ५ का ४५ वर्षका रामबहादुर श्रेष्ठ, २४ वर्षका बुद्ध तामाङ र ६० वर्षका निमा तामाङ रहेका छन्। अर्की मृतक अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको डिएसपी थिङले बताए। 

अन्य घाइते २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान बा ३ ख ८३९६ नम्बरको बस सुनापती –५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.