|

काठमाडाैं : लामो समयको अन्तरालपछि काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा नाटककार अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको गीतिनाटक ‘सपना अनेक अनेक’ मञ्चनको तयारी भइरहेको छ। सर्वनामले आफ्नो चार दशकको इतिहासमा पहिलो पटक गीतिनाटक प्रस्तुत गर्न लागेकाे हाे।

कवि गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा'मा आधारित प्रस्तुत गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ। गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर विम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोशिस गरेको निर्देशक अशेष मल्ल बताउँछन्।

नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि काम गर्दै आएका संगीतकार राजु सिंहले 'सपना अनेक अनेक' मार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी रहेकाे बताउँछन्। उनी भन्छन्, 'प्रस्तुत गीतिनाटक मार्फत पूर्ण संगीतकार भएको महसुस गरेको छु। गर्व पनि लागिरहेको छ। यसले नेपाली गीतिनाटकमा विशेष योगदान पुर्‍याउने विश्वास लिएको छु।'

गायक सत्यराज आचार्यले गीतिनाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी व्यक्त गरेका छन्। उनी भन्छन्, 'यो गीतिनाटकका गीतहरू गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो। धेरै गीतहरू गाएँ, प्रायः हर दिन गीत गाईरहेकै हुन्छु तर सधैँ गाउनेभन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ। सङ्गीतकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुति साँच्चै नै नवीनतम प्रयोग भएको छ।'

विदेश पुग्ने सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात दिन तड्पिरहेकाहरूकाे कथा नाटकमा देख्न पाइनेछ। नाटकमा देशकाे माटाेलाई आमाकाे विम्बकाे रुपमा प्रयाेग गरिएकाे छ।

गीतिनाटकको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ।

गीतिनाटक ५ गतेदेखि २१ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार अतिरिक्त शाे दिउँसाे १ बजे पनि मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.