वाम गठबन्धनका लागि ओली लचक, प्रचण्ड-माधवलाई पनि दबाब

|

काठमाडौं : सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन निरन्तरता दिने निर्णय गर्‍यो। पाँच दिन चलेको केन्द्रीय समितिको बैठकले पार्टीलाई स्पष्ट बहुमत लक्षित गराउँदै तालमेल गर्ने निर्णय गरेपछि भागबण्डामा दलको कुरा अल्झिएको छ। 

आफ्नो नेतृत्वको सरकारलाई नै पाँच वर्षसम्म निरन्तरता दिने रणनीतिअनुसार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सोमबार बैठकको निर्णय सुनाउँदै भने, ‘आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गर्दछ।’

कांग्रेसको औपचारिक निर्णय कुरेर बसेको सत्ता घटकका अन्य दल अब आगामी निर्वाचनका लागि अब सिट बाँडफाँडतर्फ सोझिएको छ। स्थानीय तहमै कांग्रेसले धोका दिएको आरोप लगाउँदै आएका एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि अझै गठबन्धनकै पक्षमा छन्। 

गठबन्धनमा जटिलता बढेपछि कांग्रेस बाहेकका दल सम्मानजनक भागबण्डा हुनुपर्नेमा अडिग छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिटमध्ये कांग्रेसले १०० सिटमा दाबी गरेको छ। कम्तिमा १० सिट ‘बार्गेनिङ’को लागि बढाएर कांग्रेस आफूलाई १०० सिट हुनुपर्ने अडानमा छ। 

०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट धक्का खाएर २३ सिटमा झरेको कांग्रेसले १०० सिट दाबी गर्दा गठबन्धनमा भागबण्डा मिल्ने सम्भावना कमै देखिन्छ। ०७४ को निर्वाचनबाट प्रत्यक्षतर्फ माओवादीको ३६, कांग्रेसको २३, एकीकृत समाजवादीको१३ (एमालेमा माधव समूह), जसपाका १२ र जनमोर्चाका एक सांसद छन्।

कांग्रेसले धेरै सिटको दाबी गरेको भन्दै स्थानीय तहको निर्वाचन झैं आफले जितेको सिट सुरक्षित राखेर एमालेले जितेको भागबण्डा गर्नुपर्ने कांग्रेसबाहेक गठबन्धन दलको प्रस्ताव छ। तर, त्यसमा कांग्रेस सहमत हुने पक्षमा छैन। 

०७४ को निर्वाचनमा एमालेसँग ६०/४० को अनुपातमा भागबण्डा गरेको माओवादी अहिले थोरै सिटमा ‘कम्प्रमाइज’ गर्ने पक्षमा छैन। स्थानीय तहकै निर्वाचनमा ०७४ को भन्दा राम्रो ल्याएको माओवादीले निर्णायक शक्तिमा रहेकाले ‘बार्गेनिङ पावर’ बढाएको छ। गठबन्धनमा प्रारम्भिक प्रस्तावमा १६५ मध्ये कांग्रेसलाई ८५/९० माओवादीलाई ४५/५० र बाँकी सिट एकीकृत समाजवादीसहित अन्य दललाई हुनेगरी भएको छ। 

तर, त्यसमा माओवादीले सहमति जनाएपछि एकीकृत समाजवादी र जसपाले स्वीकार्ने पक्षमा छैन। तर गठबन्धनमा भागबण्डाको विषय जटिल भएपछि शीर्ष तहमा छलफलपछि निकास निस्कनेमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत विश्वास गर्छन्। 

उनी भन्छन्, ‘हामी स्थानीय तहमा भएको अनुभवलाई लिएर तालमेल गर्छौँ। गठबन्धनको सन्तोषजनक भएको निष्कर्ष निकालेका छौँ। त्यही निर्णयअनुसार छलफल सुरु हुन्छ। यही परिणामलाई आधार बनाएर छलफल गर्छौँ। पार्टी नेतृत्वको खाका तयार पारेर टुंगो लगाउँछ।’ 

०७४ सालमा माओवादीले धोका दिएर एमालेसँग तालमेल गरेको भए पनि अहिले त्यही इतिहास नदोहोरिने बताए। स्थानीय तहको निर्वाचनमा नै गठबन्धन गरेको भएकाले अहिले सिट बाँडफाँडमा सहज हुने उनको बुझाइ छ। 

‘स्थानीय निर्वाचनको नतिजा सन्तोषजनक नै भएकाले सबै दलहरुले गठबन्धनलाई नै जोड दिइराख्नुभएको छ। अहिलेको अनुभव सकारात्मक छ। त्यसैलाई टेकेर तालमेल गरेर जानुपर्छ भन्ने सबै दलमा छ। व्यक्तिगत निर्णय कसले के भन्छ भन्ने हुँदैन’ उनले भने, ‘तर नेतृत्वले यही गठबन्धनलाई तालमेल गर्नुपर्छ भन्ने निष्कर्ष छ। गठबन्धनमा तालमेलको विषय अब जटिल छ नै।’

स्थानीय तहमा धेरै भागबण्डा समेत मिलाएको भएकाले अहिले शीर्ष तहबाट सहजै पार लाग्ने दाबी उनले गरे। ‘अन्य दलले बीचैमा मत र सोच बदल्नुहुन्छ जस्तो लाग्दैन। अहिले हामी १६५ सिटमै तालमेल गरेर जाने भन्ने नै आशय  र माओवादीले हो अब अन्य दलसँग छलफलपछि त्यसबारे निर्णय हुन्छ’, उनले भने।  

उनले पार्टीबाट औपचारिक रुपमा देउवाले गठबन्धन गरे पनि संस्थापन इतर पक्षका नेताहरुलाई मिलाउन ठुलो चुनौती छ। नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले देउवालाई दबाब बढाइरहेका छन्। 

सम्मानजनक भागबण्डा नभए अस्वीकार

साविकको नेकपाको एकता भंग भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनलाई नै जोड दिइरहेका छन्। तर कांग्रेसले एकल बहुमत ल्याउनेगरी चुनावी तालमेल गरेर एकल सरकारलाई भने उनीहरू अस्वीकार गर्छन्। 

माओवादीले गठबन्धनलाई जोड दिएको भएपछि सबै कुरा कांग्रेसमै निर्भर रहने माओवादी स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘हामीले गठबन्धनकै पक्षमा छौँ, हाम्रो हालै बसेको केन्द्रीय कमिटी बैठकबाट पनि त्यही निष्कर्ष निस्किएको छ। तर हामीले सम्मानजनक भनेको छौँ। अब भागबण्डाको विषयमा कसरी जाने भन्ने कांग्रेसको व्यवहारमै निर्भर रहन्छ।’ 

बैठकमा नेताहरुले माओवादी आफ्नै खुट्टामा उभिनुपर्छ भनेर दबाब बढाइरहेको अवस्थामा थोरै सिटमा काँग्रेससँगै गठबन्धन गरेर जानुपर्छ भन्ने नहरेको बताउँछन्। ‘हामीलाई प्रयोग गरेर नै कांग्रेसले स्थानीय तहको निर्वाचनमा धेरै सिट जितेको छ। पावर सेरिङको विषयमा छलफल चलिसकेको छ। हामी कांग्रेसको एकल सरकारलाई स्वीकार्न सक्दैनौँ’, उनले थपे।

त्यसो त स्थानीय तहको निर्वाचनलाई गम्भीर ढंगले समीक्षा गरेर तालमेल गर्नुपर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्। उनी भन्छन्, ‘हामीले गठबन्धनको विकल्प तत्कालका लागि सोचेका छैनौँ। तर, हामीले गम्भीर समीक्षा गर्नुपर्छ। कांग्रेसले एक्लै स्थानीय तहको निर्वाचनमा धेरै सिट ल्याएको होइन। त्यसैले आगामी निर्वाचनमा सम्मानजनक भागबण्डा हुनुपर्छ।’ गठबन्धनको भागबण्डा शीर्ष तहको बैठक बसेर ‘मोडालिटी’ तय गरेपछि निर्णय हुने उनको भनाइ छ। 

तर, कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणले माओवादीले आठ र एकीकृत समाजवादीले एक सिट मात्रै जित्ने हिसाब देखाएका थिए। उनले त्यसैले माओवादीले आफूहरूसँग गठबन्धन तोडे एमालेसँग गएर मिलेर ०७४ कै अवस्था फर्किने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनले ‘बिफ्रिङ’ गरेका थिए। 

प्रचण्डलाई १० माधवलाई ५ सिट मात्रै!

कांग्रेसले पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेपनि वरिष्ठ वामपन्थी नेता लोककृष्ण भट्टराई अहिले वाम एकताको आवश्यक भएको बताउँछन्। 

उनी भन्छन्, ‘अहिले वाम गठबन्धनको सम्भावना छ। स्थानीय तहमा कसैलाई राम्रोसँग सघाएन। कांग्रेसले प्रयोग मात्रै गरेको देखिएको छ। वामपन्थीको मत लियो तर, अरुलाई दिएन। कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई भोट हालेको छैन।’ 

उनी कांग्रेसले प्रचण्डलाई भारत पठाएर गठबन्धन कामय राखेर कम्युनिष्ट सिध्याउने प्रयास रणनीति बनाएको दाबी गर्छन्। त्यसो त भारतीय जनता पार्टीको निम्तोमा भारत भ्रमण गएर फर्किएका प्रचण्डले अहिले गठबन्धन कायम रहने बताउँदै आइरहेका छन्। तर, ओली स्थानीय तहको निर्वाचनमा खाएको धक्कापछि वाम तालमेलको लागि लचक भएको उनको बुझाइ छ। 

‘अहिले वाम एकताको लागि ओलीजी पनि नरम भएका छन्। वाम एकता गर्नेभए कांग्रेससँगको गठबन्धन छाड्नुपर्छ भन्नेको अर्थ त्यही हो। यहाँ कांग्रेसले कम्युनिष्टलाई जुधाएर आफूले फाइदा लिइरहेको छ’ उनले भने, ‘ओली नै कुनै हालतमा वाम एकता हुन्न भन्ने मान्छे अहिले कांग्रेससँगको एकता छाड्नुपर्छ भन्न थाल्नुभइसकेको छ। उहाँ प्रचण्ड र माधवलाई फर्केर हेर्न पनि चाहनुहुन्नथ्यो।’ 

उनले कांग्रेसले माओवादीको १० र एकीकृत समाजवादीका पाँचजनालाई भन्दा बढी कांग्रेसले नजिताउने दाबी गरे। ‘गठबन्धनको विरोध गर्ने शेखर नै अहिले सिट बढाउन शेरबहादुरसँग मिलेका छन्। उनीहरूले आफ्नो पार्टीलाई मिलाउँछन्’, उनले थपे, ‘ओलीसँग मिल्दा पनि माधवले २३ सिट त ल्याइहाल्छन् नि। ओलीले प्रचण्ड र माधवसँग सम्बन्ध सुर्धानुपर्छ।’ 

ओलीको महत्त्वाकांक्षाले नै साविकको नेकपामा विवाद भएको उनको बुझाइ छ। संवैधानिक नियुक्तिमा ओलीले प्रचण्ड र माधवको केही मान्छेहरूलाई समेटेको भए अहिलेको परिस्थिति नै नआउने उनको जिकिर छ। 

ओली लचक भएकै हुन्?

पाँचदलीय गठबन्धन आगामी चुनावसम्म जाने देखेपछि वाम तालमेलका लागि ओली लचक भएका छन्। पार्टीभित्रै नेताहरूले तालमेलको दबाब बढाइरहेका ओलीको पछिल्लो समयको बोली फेरिएको छ। 

प्रचण्ड र माधव नेपालविरुद्ध छुद्र शैलीमा गाली गर्ने ओलीले अहिले त्यसविरुद्ध बोलेका छैनन्। नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा सार्वजनिक मञ्चबाट नेता श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेका थिए। तर, ओलीले एमाले मात्रै वामपन्थी भन्ने जवाफ दिएपछि नेता श्रेष्ठ चिढिए। 

नेता श्रेष्ठलाई ओलीले भनेका थिए, ‘चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लागेको छ। कम्युनिष्ट सरकार ढालेर देउवा नेतृत्वको गठबन्धनको सरकार बनाउन अदालत गएको होइन? संसदले सकेन भनेर परमादेश माग गरेको होइन। देउवा नेतृत्वको रक्षा गरेर वामपन्थी आन्दोलन हुँदैन। कोही वामपन्थी हुनुहुन्छ भने, गल्ती भइहाल्यो छाड्दिऊँ। आउनुस्।’  

वाम एकता अहिलेको आवश्यकता भए पनि ओली सकारात्मक नबनेको नेता श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘उहाँले संविधान विरुद्ध कदम चालेकै कारणले अहिलेको अवस्था बनेको हो। प्रतिनिधिसभा विघटन गरेको कारणले संविधानमाथि समेत खतरा बढेकोे थियो। तर, अहिले वाम एकताको लागि सबैले आत्मालोचना गर्नुपर्छ।’ 

नेता श्रेष्ठले माओवादीमा प्रचण्डलाई वाम एकताको दबाब बढाइरहेका छन्। उनी मात्रै नभएर माओवादीका प्रभावशाली नेता वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरालगायत वाम र पूर्वमाओवादी एकताको लागि पहल गरिरहेका छन्। 

तर, प्रचण्डले भने गठबन्धन कायम रहने बताएका छन्। मंगलबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ छैन।’ 

यस्तै, एमालेमा पनि दोस्रो तहको नेताहरुको दबाबकै कारणले ओली लचक बन्न बाध्य छन्। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिले कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउँछन्। 

सोमबार जनकपुरमा उनले भनेका थिए, ‘अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो। लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनि मात्रै एजेण्डा पूरा गर्न सकिन्छ।’

ओलीलाई नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, प्रदिप ज्ञवाली, विष्णु पौडेल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायत नेताहरुले दबाब बढाइरहेका छन्।  

यस्तै, एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनालले वाम एकताको प्रयास गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.