|

बागलुङ : चार वर्षदेखि बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान गाउँका महिलाहरुले ढाका बुनाई गर्दै आएका छन्। राम्रो देखिने र न्यानो हुने तानमा बुनेको ढाकाको कपडा महत्व कम हुँदै जाँदा तमान गाउँका महिलाले बुनेको कपडाले बजार पाउन सकेको छैन। ढाकाको बजारीकरणमा समस्या भएपछि महिलाहरुमा निराशा छाएको छ।

शुरु शुरुमा स्थानीले चासो दिएर खरिद गरेपनि पछिल्लो समय ढाकाको कपडा बिक्न छोडेर गोदाममै थन्किदा महिलाउद्यमीहरु निराश भइरहेको चारवर्षदेखि निरन्तर ढाकाको कपडा उत्पादन गर्दै आएकी जुना माया घर्तीले गुनासो गरिन्।

बजारमा आएका औजारले बुनेको सस्तो कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा र ढाकाको कपडाको महत्व नबुझ्दा ढाका उत्पादनले बजार नपाएको उद्यमीहरुले गुनासो गरेका छन्।  १४ जनाले सामूहिक रुपमा कल्याण आमा समूहको भवनमा ढाकाका कपडा बुन्दै आएकोमा अहिले सात जनामा सीमित भएको घर्तीले बताइन्।

‘हामीले आफ्नै खर्चमा तालिम लियौं, स्थानीय उत्पादनका रुपमा कोसेली दिनका लागि ढाकाका कपडा तानमा बुन्न थालेका हौं, शुरुमा राम्रै बिक्री भयो, लगानीसमेत उठायौँ’ घर्तीले भनिन्, ‘तर विस्तारै हाम्रो उत्पादन बढ्दै गयो बिक्री घट्दै गयो, ढाकाको कपडा महँगो हुने र ढाकाको महत्व नबुझ्दा धेरैले ढाकाको कपडा प्रयोग नगर्ने समस्या छ, गाउँपालिकाले बजारीकरण गर्न आवश्यक छ, अहिले ११ तान भएपनि उद्यमी घटेर ७ जनामा समिति भएका छन्।’

ढाका उद्योगले महिलाहरुको दैनिकी फेरिएसँगै आयआर्जनमा समेत ठूलो टेवा पुर्‍याए पनि पछिल्लो समय बजारीकरणमा समस्या भएको अर्का महिला उद्यमी जमुना घर्ती मगरले बताइन्।

‘ढाकाको चोला, ढाकाको खास्टो, गलबन्दी, पछ्यौरा लगायतको व्यापार खस्केपछि हामीहरु आफैँ तमानखोलाको दुर्गम गाउँहरु नर्जाखानी, बोङ्खानी लगायतको क्षेत्रमा पुगेर विक्रि ग¥यौ, केही उद्यमीहरुले ढाकाको व्यापारमा कमी आएपछि ढाका उद्योग छाडेर पुरानै काममा फर्केका छन्’ जमुनाले भनिन् ‘नगदमा कच्चा सामाग्री खरिद ग¥यो दिनभरी तानमा बुन्यो, बजारमा बिक्री हुने कहिले हो कहिले भन्दै सात जना महिला उद्यमीहरुलाई घरबाट असहयोग भएर ढाका बुनाईबाट विस्थापित भएका छन्।’

स्थानीय सरकारले बजारीकरण गरे ढाका उद्योग फष्टाउनेमा उनीहरुको अपेक्षा रहेको छ। ढाको उद्योगमा अहिले ११ तान रहेका छन्।

महिलाहरुले उत्पादन गरेको स्विटर, झोला, खास्टो, गलबन्दी, पछ्यौरा लगायतका ढाकाका कपडा अहिले उद्योगमै थन्किन थालेका छन्। घर्तीले महिलाहरुको लगानीमा तालिम लिएर उद्योग संचालन गरेको गरेको भन्दै समूहका सबैले सुरुमा ६०-६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताइन्।

कपडा बनाउन चाहिने धागो तथा अन्य सामानहरु काठमाण्डौबाट ल्याउने गरेको महिला उद्यमीहरुको भनाइ छ। सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने महिलाहरु बताउँछन्।

उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म पर्ने गर्छ भने एउटा सलको १२ सय देखि २ हजार पाँच सयसम्म पर्ने गर्छ। उनीहरुले उद्योगमा काम गर्न थालेपछि बालबालिका पढाउन र घर खर्च चलाउनसमेत सहज भएको बताउदै बजारीकरणमा सरोकारवालाले चासो दिनुपर्ने बताउँछन्।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढा मगरले गाउँपालिकाले यसको बजारीकरणका लागि सहयोग गर्ने बताए।

अध्यक्ष बुढा मगरले महिलाहरुलाई रोजगारसँग जोड्नका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरु ल्याएको भन्दै महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुको बजारीकरणमा गाउँपालिकाले चासो देखाएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.