|

रौतहट : बागमती नदीको कटान रोक्न बनाइएको स्पर बगेकाे छ। जिल्लाको राजदेवी नगरपालिका वडा नं - ६ स्थित बागमती नदीमा सम्भावित कटानलाई रोक्ने उद्देश्यले बोरामा बालुवा हालेर बनाइएको अस्थायी स्पर बगेकाे हो।

पहाडी भेगमा आएकाे बर्षाको कारण नदीमा आएको बाढीले राजदेवी नगरपालिका वडा नम्बर ६ र ९ को बीचमा रहेको १ नम्बर स्पर नजिक असार महिनामा बनाइएको स्पर र बाँसको पाइलिंङसमेत क्षतिग्रस्त भएको छ।

राजदेवी नगरपालिकाले विपद् व्यवस्थापन कोषको रकम तथा जलस्रोत सिँचाई डिभिजन कार्यालय र बागमती लालबकैया नदी नियन्त्रण आयोजना परमानीपुरले उपलब्ध गराएको जाली, बोरा र बाँसको सहयोगमा बनाइएको स्पर बाढ़ीले बगाएको राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादवले जानकारी दिए।

सो ठाउँमा नदीले कटानसमेत गर्न थालेको हुँदा नजिकै रहेको बाँध जोखिममा पर्न सक्ने खतरा उत्पन्न भएको उनले बताए। कटान हुँदै गरेको ठाउँदेखि बाँधको दूरी २० देखि २५ मिटर रहेको अनुमान गरिएको छ।

समयमा नियन्त्रण गर्न सकिएन भने मूलधार परिवर्तन हुन सक्ने खतरा रहेको छ। उत्तर तर्फबाट दक्षिणतिर बग्ने नदीको पानीको दबाब सीधा बाँधतिर रहेको देखिएको छ। कटान गरिएको स्परलाई मर्मत गर्ने कार्य जारी रहेको नगर प्रमुख यादवले बताए। उनका अनुसार सो ठाउँमा नयाँ ६ वटा स्पर बनाइएको थियो।

बागमती नदीले शुरू गरेको कटानले ब्रम्हपुरी, लक्ष्मीपुर बेलविच्छवा बढ़ी जोखिममा पर्न सक्ने सम्भावना रहेको छ।

नदीमा पानीको सतह कम भएपछि कटान हुन थालेको स्थानीयहरुले जनाएका छन्। ​बाँधमा खतरा रहेको जानकारी हुनासाथ प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीसहितका सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षण गर्न पुगेका शाहीले उच्च जोखिम रहेकोले नियन्त्रण गर्न अति आवश्यक भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.