|

काठमाडौं : नेपालमा अभाव भइरहेको मुटुको शल्यक्रियाका समयमा अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन आइपुगेको छ।

नेपालमा मुटु रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरू ल्याउँदै आएको म्याक्स मेडिटेक सिस्टमले तीन सय वटा मेसिन ल्याएको हो। उक्त मेसिनहरु मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका लागि आएको बताइएको छ।

हाल मनमोहनको लागि आएको भए पनि अहिलेलाई उक्त अक्सिजेनेटर गङ्गालालमा प्रयोग गरिने र गङ्गालालको लागि आएपछि गङ्गालालले मनमाेहनलाई उपलब्ध गराउने बताइएको छ।

म्याक्स मेडिटेकका प्रबन्ध निर्देशक विमल उप्रेतीका अनुसार नेपालमा मेसिन अभाव भएपछि कम्पनीले द्रुत गतिमा अमेरिकाबाट ल्याएको हाे।

'नियमितरुपमा आउँदा मेसिन जलमार्ग हुँदै हाम्रोमा स्थलमार्ग आउने भए पनि मेसिन सकिएको खबर आएपछि हामीले हवाई मार्गबाट छिटो ल्याएका हौँ’, उप्रेतीले भने।

यस्तै गङ्गालालसहित नेपालमा मुटुको उपचार हुने अन्य अस्पतालहरूको प्रयोगको लागि थप १४ सय अक्सिजेनेटर पनि छिट्टै आउन लागेकोसमेत बताइएको छ।​

के हो ‘अक्सिजेनेटर’ ?

अक्सिजेनेटर ‘ओपन हार्ट सर्जरी’का लागि अत्यावश्यक उपकरण हो। मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रूपमा सञ्चालन गर्नुपर्छ।

मुटुको शल्यक्रिया गर्दा रगतमा भएकाे कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम यो मेसिनले गर्ने हुँदा मुटुको शल्यक्रियाका बेला यो अत्यावश्यक मानिन्छ।

अक्सिजेनेटर उपकरण एक बिरामीमा एक पटक मात्र प्रयोग मिल्छ। यो उपकरणको एउटाको मूल्य ५० हजारसम्म पर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.