|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएर चुनाव  जिते।

उनले चुनाव जितेको ३ महिना बित्यो तर फोहोर व्यवस्थापन हुनुको सट्टा समस्या अझ थपिएको छ। अझ भनौं फोहोर उठेकोभन्दा आन्दोलनका कारण फोहोर रोकिएको दिन धेरै छन् भन्दा फरक नपर्ला। त्यसो त उपत्यकामा फोहोरको समस्या उनी चुनिएर आउनुभन्दा केही महिनाअघि विद्यासुन्दर शाक्यको मेयरकालमा नै शुरु भइसकेको थियो। 

उपत्यकाको फोहोरबारे जानकार मेयर साहले निर्वाचनको अन्तिम मत परिणाम आउनुअघि नै बञ्चरेडाँडा र सिसडोल ल्यान्डफिल साइटमै पुगेर अनुगमन गरेका थिए।

मेयर निर्वाचित भएपछि बालेनले पहिलो बैठकमै फोहोर व्यवस्थापनको विकल्पबारे छलफल गरेका थिए। महानगर प्रमुख बालेनले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै फोहोर विसर्जनलाई सहज बनाएको बताएका थिए।

उनले महानगरको बजेटमा फोहोर प्रभावित बञ्चरेडाँडा र सिसडोलका लागि १९ करोड रूपैयाँभन्दा बढी रकम छुट्याए पनि बञ्चरेडाँडा र सिसडोलबासीले आफूहरूको माग पूरा नभएको भन्दै पटकपटक फोहोर विसर्जनमा अवरोध गरेका छन्।

१ भदौदेखि फोहोर विसर्जन नगर्न नदिने भन्दै काठमाडौंमै आएर आन्दोलन घोषणा गरे। त्यति मात्र नभएर फोहोर बाेकेर गएका गाडी तोडफोडसमेत गरेका छन्। 

बालेन मेयर बनेपछिका ३ महिनामा कैयौं पटक बञ्चरेडाँडामा काठमाडौंबाट फोहोर लिएर गएका टिपर उनीहरूले रोके, आन्दोलन गरे। फोहोर विसर्जनका लागि पटकपटक प्रहरी नै परिचालन गरियो तर फोहोर उठ्न सकेको छैन।   

तर यतिवेला काठमाडौं उपत्यकाका सडक, चोक–चोकमा फोहोरको डंगुर थुप्रिन थालेको छ। फोहोर विसर्जनस्थल नुवाकोट सिसडोलका स्थानीयले विभिन्न माग राख्दै फोहोर फ्याँक्न नदिएसँगै उपत्यकामा फोहोर थुप्रिन थालेको हो।

स्थानीयको आन्दोलन, सडकको अवस्था, फोहोर फ्याँक्ने ठाउँको अभावका कारण यसअघिका मेयरहरूको पालामा पनि फोहोर व्यवस्थापनमा समस्या देखिने गरेको थियो।

यस पटक स्थानीय तहको निर्वाचनको समयभन्दा अगाडि अर्थात करिब एक महिनाअगाडि देखि नै उपत्यकाको फोहोर उठ्न सकेको छैन। यसबाट उपत्यका दुर्गन्धित भइसकेको छ।

लामो समयदेखि काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको चुनौती देखिँदै आएको छ। वर्षौंदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखापरेको छ।

नेकपा एमालेका पूर्वमेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन गर्न नसक्दा असफल मेयरको ट्याग पाए। यतिबेला उपत्यकाको फोहोरको डंगुरले पनि त्यस्तै संकेत गरिरहेको छ।

पूर्वाधार छैन, उपत्यकावासीलाई फोहोर छुट्याउन उर्दी

काठमाडौं महानगरपालिकाले १ साउनदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन उपत्यकावासीलाई अनुरोध गर्‍यो। फोहोर स्रोतबाटै वर्गीकरण गर्नुपर्ने महानगरले बताएको थियो।

यतिमात्र नभएर  कुहिने र नकुहिने फोहोर नछुट्याए एक पटकमा ५ सय जरिवाना गराउने विज्ञप्ति महानगरले जारी गर्‍यो। यसरी कोठाबाट फोहोर छुट्याउन निर्देशन दिएको महानगरपालिकाले भने यससम्बन्धी पूर्वाधार निर्माण गर्न भने सकेन।

महानगरको भनाइअनुसार कतिपयले फोहोर छुट्याए पनि तर सडक किनारमा थुपारिएको फोहोर महानगरले व्यवस्थापन गर्न सकेको छैन। टेकुमा प्लास्टिकले बेरेर राखिएको फोहोर छ भने अन्य कतिपय स्थानमा असरल्ल राखिएको छ।

यतिवेला महानगर आफैंले फोहोरलाई खोला किनार र सडक छेउमा थुपारिरहेको छ। उपत्यकाको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडामा स्थानीयले फोहोर लैजान अवरोध गरेसँगै काठमाडौं ‘फोहोरमाडौं’ बनेको गुनासो काठमाडौंवासीको छ। 

उपत्यकाको फोहोर व्यावस्थापन गर्न मेयर साहको अध्यक्षतामा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली सहितको समिति गठन भएको थियो। सो समितिले फोहोरमैला व्यवस्थापनका लागि कुनै कदम चालेको छैन।

सडकको फोहोर खोला किनारमा 

पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाले व्यक्तिको घर तथा मुख्य सडकबाट गाडीले फोहोर उठाइरहेको छ। उता स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दा ल्यान्डफिलमा लैजान सक्ने अवस्था छैन।

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै निकै आलोचना भयो त्यससँगै मुख्य सडकको फोहोर उठाइएको छ। तर त्यसको व्यवस्थापन भने हुन सकेको छैन। सडक पेटीमा असरल्ल फोहोर नदेखिए पनि सडक किनारमा फोहोरका बोरा चाङ लगाइएको छ।

त्यतिमात्र नभएर धोबी खोला किनारमा सडकको फोहोर थुपारिएको छ। मुख्य सडकको फोहोर उठाएर खोला किनारमा ल्याएर थुपारिएको रातो पुलका स्थानीय राजेश मानन्धर बताउँछन्। यतिवेला काठमाडौंको फोहोरले धोबीखोला किनार भरिएकाे छ। सानो सडक, धेरै सवारीको आवागमन हुने स्थानमा फोहोरको डंगुरले समस्या थपेको छ। 

बञ्चरेडाँडामा स्थानीयको अवरोध कायमै 

सोमबार राति स्थानीयले धादिङको धुनीबेँसीस्थित बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन प्रयोग गरिँदै आएका सवारीसाधन तोडफोड गरे। उपत्यकाबाट फोहोर बोकेर गएर सवारीसाधन पार्किङ गरेको अवस्थामा तोडफोड गरेका हुन्।

आफ्ना माग पूरा नभएको भन्दै स्थानीयले महानगरपालिका प्रमुखमा बालेन निर्वाचित भएदेखि नै निरन्तर अवरोध गर्दै आएका छन्। 

उपत्यकाको फोहोरले स्थानीयको जनजीवन प्रभावित भएको भन्दै पटकपटक आन्दोलन गर्दै आएका छन्। यसअघि बञ्चरेडाँडाका स्थानीयले १ भदौदेखि सधैँका लागि फोहोर लैजान नदिने चेतावनी दिएका थिए। 

फोहोरप्रभावित क्षेत्रमा सडक, स्वास्थ्य, पूर्वाधार लगायतका विषयमा चासो नदेखाएको भन्दै फोहोर रोक्ने चेतावनी दिएका हुन्। त्यसयता उपत्यकाको फोहोर उठाउन सकिएको छैन।

कहिले फोहोर लैजाने सडकको समस्या देखिएको छ भने कहिले स्थानीयले अवरोध गर्दा फोहोर व्यवस्थापनमा समस्या देखिएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई बताउँछिन्। 

प्रयोगविहीन मँहगो मेसिन : न निस्कियो बिजुली न त फोहोर व्यवस्थापन 

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोरलाई मोहरमा परिणत गर्ने योजना बनायो। २२ घन्टा लोडसेडिङको मार खेपेका जनताले फोहोरबाट बिजुली निकाल्ने योजनाको समर्थन गरे।

बिजुली निकाल्ने मेसिन अर्थात् (बायोमिथानेशन) ले लोडसेडिङको समस्या समाधान हुने र उपत्यकाको फोहोर पनि व्यवस्थापन हुने दाबी महानगरको थियो। उपत्यकामा निस्कने फोहोर संकलन गरी महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन विभाग टेकुमा राख्ने र त्यही फोहोरबाट बिजुली निकाल्ने ठूलो योजना थियो। 

काठमाडौको फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भन्दै आजभन्दा ६ वर्षअगाडि खरिद गरेर ल्याएको थियो। उपत्यकामा जम्मा भएको फोहोरबाट ग्यास बिजुली निकाल्न २०७३ मा सो मेसिन सञ्चालनमा ल्याइयो।

जसबाट दैनिक ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेशन गर्नसक्ने भनिएको मेसिनले दैनिक १४ किलोवाट बिजुली, ३ सय केजी कम्पोष्ट मल, ९६ केजी ग्यास, १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी महानगरले गरेको थियो।

उत्पादन हुने १४ किलोवाट बिजुली महानगरको कार्यालय प्रयोजन र स्थानीय बासिन्दालाई दिने र टेकुका सडकमा बाल्ने योजना महानगरपालिकाले सार्वजनिक गरेको थियो। 

काठमाडौंमा दैनिक निस्कने फोहोरबाट बिजुली निकालेर बाँड्ने योजना सुनाएको ६ वर्ष  बित्यो। न त उपत्यकाको फोहोरको समस्या समाधान भयो न फोहोरबाट बिजुली नै बल्यो।

महानगरले सपना देखाएको ६ वर्षपछि पनि बिजुली निकाल्ने मेसिन फोहोरको थुप्रोमा थन्किएको छ। ६ वर्षमा न त उपत्यकाका सडक फोहोरमुक्त बने न काठमाडौँमा फोहोरबाट बिजुली नै बल्यो। 

महानगरपालिकाको २० प्रतिशत लगानी र युरोपेली युनियनको ८० प्रतिशत साझेदारीमा १ करोड ८६ लाख रुपैयाँ उक्त मेसिन खरिदमा खर्च भएको थियो। काठमाडौंबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्न ‘एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवर्द्धन’ परियोजनाअन्तर्गत महानगर अघि बढेको थियो।

सो मेसिनले केही समय काम गरेको थियो तर पछि त्यसले काम गर्न छोडेको  महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईले बताइन्। 

काठमाडौैंका मेयर साहले टेकुमा रहेको मेसिनबाट फोहोर व्यवस्थापन गर्न सकिने बताएका थिए। निर्वाचित भएसँगै टेकुमा रहेको मेसिनले फोहोर व्यवस्थापन गर्न सकिने बताएका थिए।

एक सार्वजनिक कार्यक्रममा ‘टेकुमा रहेको विद्युत् उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन २/३ लाख खर्चिएर विद्युत् उत्पादन गर्न सकिने रहेछ’ उनले भनेका थिए।

महानगरसँग छैन ठोस योजना‚ पर्ख र हेरको अवस्था 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको मुख्य चुनावी एजेण्डा नै फोहोर व्यवस्थापन थियो। आफ्नो मुख्य एजेण्डामा नै चुकेजस्तो देखिएका मेयर अर्थात महानगरसँग फोहोर व्यवस्थापन गर्ने ठोस योजना नभएजस्तो देखिएको छ। जसको परिणामस्वरुप उपत्यकामा फोहोरको डंगुर थुप्रिएको छ।  

यतिवेला काठमाडौंको फोहोर व्यवस्थापनको एकमात्र उपाय नै बञ्चरेडाँडा भएको काठमाडौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धर बताउँछन्। उनले भने, ‘अहिले फोहोर व्यवस्थापनका लागि कुनै स्थान वा विकल्प खोजेका छैनौं‚ आपसी सहमतिमा बञ्चरेडाँडामा फोहोर लैजाने तयारीमा छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.