काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै नेपालले आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई आफूले धिक्कार छ भन्न चाहेको पनि बताए। पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए।
मुलुकमा गणतन्त्र ल्याउन, शान्ति प्रक्रियालाई अघि बढाउन, जनतालाई न्याय दिलाउन र महिलाहरूको अधिकारलाई दिलाउनका लागि महत्वपूर्ण भुमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए।
उनले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्पित भएर काम गर्न लागि परेको दाबी गरे। अध्यक्ष नेपालले आफ्नो पार्टीका नेता सहभागी भएको मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर पनि गरे ।
‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तीनलाई पोले पोलोस्। दनदनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ म भन्न चाहन्छु।‘ नेपालले भने, ‘परिस्थितिलाई हामीले आफ्नो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ । हामी समाजलाई बदल्नका लागि, रुपान्तरण गर्नका लागि आजसम्म काम गर्दै, भुमिका खेल्दै आएका छौं।’
अध्यक्ष नेपालले ओलीले संसद विघटन गर्ने काममा गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना पनि गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।