|

काठमाडौँ : भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ। यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो।

गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाइएको हो। भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ।

तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ।

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो। आज (बिहीवार) जनैपूर्णिमा मनाइएको छ भने भोलि गाईजात्रा मनाउने जनाएको हो। भक्तपुरमा आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाउने चलन छ। आज बिहानैदेखि पुरोहितसँग रक्षा बन्धन र नयाँ जनै लगाउने परम्परा छ।

जनैपूर्णिमाको दिन रक्षासूत्र बाँध्दा नकारात्मक तत्त्वबाट सुरक्षा प्रदान हुने विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी कवचको रूपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.