|

बागलुङ : पछिल्लो समय आरन व्यवसाय धराशायी बन्दै गइरहेको पाइन्छ।

आरन व्यवसायबाट गुजारा चल्न छाेडेपछि विभिन्न पेशा व्यवसाय अगाल्नेहरूको लर्को नै लागेका बेला बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्वकर्मा परिवारका तीनभाइ भने यही पेशाबाट सन्तुष्ट भएका छन्।

भाइ/भाइबीच रिसराग हुने नेपाली समाजमा यी तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेशालाई हाँक्दै आएका छन्। उनीहरु काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भई १२ वर्षदेखि हटिया बजारमा तामाका भाँडाकुँडा र बाजाका सामग्री बनाउँदै आएका छन्।

जेठोदाइ देवीलाल विश्वकर्मा, माइलो कृष्ण विश्वकर्मा र कान्छो रामबहादुर विश्वकर्माले संयुक्त रुपमा हटिया बजारमा बिहुँ आरन सेवाका नामले आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्।

उनीहरुले आफ्नो पुर्ख्यौली पेशा व्यवसाय धान्दै मात्रै छैनन् संयुक्त रुपमा मासिक एक लाखभन्दा बढी आम्दानीसमेत गर्दै आएका छन्। सुरुमा पुर्ख्यौली पेशालाई विश्वास नगरेका उनीहरु विदेशको दुःखले खारिएको बताउँछन्। पुख्यौली पेशा छोडेर १२ वर्षअघि विदेश गएका तीन भाई विदेशबाट फर्केर तामाको भाडाँकुडा निर्माण र बाजाका सामग्री बनाउन थालेका हुन्। उनीहरुले उत्पादन गरेका तामाका सामग्रीलाई बजारको अभाव भने छैन। 

जेठो दाई देवीलाल विश्वकर्मा चार वर्ष मलेसिया, माइलो कृष्ण विश्वकर्मा सात वर्ष मलेसिया र कान्छो भाइ रामबहादुर विश्वकर्मा ६ वर्ष साउदीमा बिताएका थिए। सात वर्ष मलेसियामा दुःख गरे पनि भने जस्तो राम्रो कमाई नभएपछि फर्केर गलकोटको हटिया बजारमा आरन सञ्चालनमा ल्याएको माइलो भाइ कृष्ण विश्वकर्माले जानकारी दिए।

‘विदेशमा केही हुन्छ कि भनेर गइयो आखिर दुःख नै रहेछ, त्यसैले पुर्ख्यौली पेशा जोगाउँदै आरन व्यवसाय गर्ने निधोका साथ हटिया बजार झरेका थियौं’, विश्वकर्माले भने, ‘आरन व्यवसायसमेत परिवर्तन भएको छ, अहिले हामीले फलामका भाँडाकुँडा र औजार बनाउनै भ्याउन छोड्यौँ, अहिले हामीले तामाका भाँडा त्यो पनि सजावटका सामग्री, फिल्टर, जग, नौमति बाजाहरू बनाउन थालेका छौँ।’

विश्वकर्माले पछिल्लो समय आरनमा फलामका भाँडा बनाउने समय नै नभएको बताए। उनले हटिया बजारका घरमा सजाउनका लागि सर्वाधिक रुपमा कलश (हत्तर)को माग बढेकाले बढी त्यही निर्माण गर्ने कार्यमा जुटेको उनको भनाई छ।

उनीहरुले विदेशमा गरेको दुःखभन्दा आफ्नै पेशालाई थप आधुनिकतासहित परिमार्जन गरेर अँगाल्नका लागि स्वदेशमा फर्केको बताउँछन्।

तामाका भाँडामा पानीखाने प्रचलन भएको बताउँदै तामाको भाँडाको अत्याधिक माग रहेकाले अहिले त्यतै आफ्नो आरन व्यवसाय केन्द्रित भएको अर्का भाइ रामबहादुर विश्वकर्माले बताए। आरनमा तीनभाइ मिलेर काम गर्ने र भएको आम्दानी महिना दिनमा बाँढ्ने गरेको उनले बताए।

‘अहिले ठूला गाउँरो बिगारेर जग बनाउने प्रचलन छ, मानिसहरुले आधुनिक सजावटका भाँडा खोजेको पाइयो, हामीले व्यवसायलाई त्यसै अनुरुप परिमार्जन गर्दै आयौँ’, विश्वकर्माले भने, ‘कोइला बढी खपत हुने र आम्दानी कम हुने भएकाले फलाम छोडेर तामाका भाडा बनाउन लागेका हौँ, विदेशमा गरेको दुःखभन्दा यहीँ सन्तुष्ट छौँ, आरनबाटै कमाएको रकमले छोराछोरी पढाएर, बिहे दान गरियो यसैलाई सन्तुष्टि मान्दै आएका छौँ।’

तामाका भाँडाबाहेक कर्नाल, सहनाइलगायत बाजाका सामग्री र फिल्टरसमेत आफूहरुले बनाउँदै आएको जेठा देवीलाल विश्वकर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.