|

काठमाडौं : नेपालस्थित भारतीय दूतावासमा पनि विभिन्न कार्यक्रम गरी भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइएको छ। 

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले सोमबार एक समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो। दूतावासमा भारतीय झण्डा फहराएर शुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको सन्देश पढेर सुनाएका थिए।

भारतीय सैनिक सेवाका क्रममा मारिएकाको परिवारलाई समेत सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो।

त्यसैगरी यसै अवसरमा आयोजित अर्को एउटा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं पूर्वमन्त्री र पूर्वराजदूतहरूले भौगोलिक निकटका साथ धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत सम्बन्ध अनुपम रहेको बताए। 

छिमेकी भारतको ७५औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजले गरेको कार्यक्रममा वक्ताहरूले समान मूल्य, मान्यता एवं रोटीबेटीका सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध विशिष्ट रहेको बताए। 

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूले पनि भाग लिएको उल्लेख गर्दै अब भारतको समृद्धि र विकासबाट नेपाल लाभान्वित हुन सक्नुपर्ने समय आएको बताए।  

नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले दुई देशबीच रहिआएको सुमधुर र अनुकरणीय सम्बन्धलाई अझ प्रगाढ, घनिष्ट र उपलब्धिमूलक बनाउनुपर्ने धारणा व्यक्त गरे। 

नेपालस्थित भारतीय दूतावासका काउन्सलर अनिल गिरीले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक र अनुपम रहेको चर्चा गर्दै यस किसिमको सम्बन्धलाई अझ उचाइमा लैजानुपर्नेमा जोड दिए। 

समाजका अध्यक्ष प्रेम लस्करीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, जनता समाजवादी पार्टीका नेता मनिष सुमन, भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय र प्राडा लोकराज बराल, पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारी तहका साथ जनता–जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउने दायित्व नागरिक समाजको पनि रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.