|

बागलुङ : पर्यटक आकर्षित गर्न जिल्लाका विभिन्न स्थानमा भ्यू टावर निर्माण भएका छन्। तीमध्ये केही मर्मतसम्भार अभावमा जीर्ण अवस्थामा पुगेका छन्।

२०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका– १० स्थित भकुण्डे भ्यूटावर जीर्ण अवस्थामा पुगेको छ। दुई स्वागत बोर्ड समेत पल्टिएको छ,
 
करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको भ्यूटावर कुरूप देखिन थालेको छ। भ्यू टावरको चौथो तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको विद्युतीय सामग्रीसमेत तेडफोड गरिएको पाइएको छ। 

विद्युतका केही सामाग्री चोरी भएको, विद्युतका तार छुटाइएको छ भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको पाइएको दृश्यावलोकनका लागि पुगेका संगम घर्ती मगरले बताए। यस्तै भ्यू टावरको पर्खालमा जथाभावी शब्द लेखेर त्यहाँ पुगेका पर्यटकलाई अप्ठ्यारो हुने बनाइएको छ। 

निर्माण शुरु गरिएको सात वर्षमा सम्पन्न भएको भ्यूटावर सौन्दर्यीकरणका लागि दुई वर्षअघि चौथो तलामा बागलुङ नगरपालिकाले १० लाखको लागतमा लगाएको सिसाको पूर्वपट्टिको भाग पुरै फुटाइएको अन्य भागको सिसामा प्वाल परेको र चर्केको छ।  पछिल्लो समय बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकका लागि रोजाइमा पर्न थाले पनि भ्यूटावरको संरचनामा क्षति भएको र यो विषयमा नगरपालिकालाई जानकारी गराएको बागलुङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए।  

‘भ्यूटावर गाउँभन्दा माथि जंगलको बीचमा छ, सुरक्षाका लागि तारबार समेत गरेर बलेवा र भकुण्डे क्षेत्रमा गेट समेत निर्माण गरिएको थियो, भने भ्यू टावरमा हेरालु समेत राखिएको थियो’, वडाध्यक्ष थापाले भने ‘पर्यटकबाट रकम कम उठ्न थालेपछि तिनले छाडेर गएछन्। अहिले सुरक्षा गर्ने कोही छैन।’ नगरपालिकामा मर्मतका लागि भनेको छु भने सुरक्षाको लागि प्रहरी खटाउन पहल गरिरहेको छु।’

विषेशगरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, सङ्ग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् भने विहानै उठेर दृश्य अवलोकनका लागि गाउँमाथिको डाँडामा रहेको भ्यू टावर पुग्ने गरेका छन्। पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यू टावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको थियो।

भ्यूटावर छेउमै बनेको खरको कटेज अहिले भग्नावशेष अवस्थामा छन् भने रेष्टुराँ खोल्नलाई बनाइएको जस्ताको छाप्रो समेत भत्किएको छ। अहिले जेसिज बागलुङले बनाएको स्वागत बोर्ड समेत भुइमा ढलेको छ। 

भकुण्डे भ्यू टावरको  संरचनामा क्षति पुगेको विषयमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अनुगमन समेत गरेको बागलुङ नगरपालिकाले जनाएको छ। भ्यूटावर संरक्षणमा स्थानीयको सक्रियता हुन आश्यक देखिए पनि नगरपालिकाले भ्यूटारको मर्मत सम्भार गर्ने नगरका उपप्रमुख राजु खड्काले बताए।

‘हामीले संरचना बनाउने हो संरक्षणको जिम्मा स्थानीयकै हुन्छ, संरचनामा क्षति पुगेको पाइयो, हामीले मर्मत सम्भार गरेर पुनः स्थानीयलाई सुरक्षा गर्न भन्ने छौं’ खड्काले भने ‘राज्यले करोड खर्चेर बनाएको संरचना बिग्रिन हुँदैन, त्यहाँ पुग्ने केही पदमार्ग समेत मर्मत गर्न आवश्यक देखिएको छ, हामीले त्यो काम गर्ने र पुनः भ्यूटावरलाई पुरानै अवस्थामा फर्काउने छौँ।’

भकुण्डेमा पर्यटकको आगमन बढ्न थालेपछि तत्कालीन संविधानसभा सदस्य नरबहादुर थापाको पहलमा भ्यूटावर निर्माण गरिको थियो। तत्कालीन जिल्ला विकास समिति, संसद विकास कोषमा बनेको भ्यू टावरको अन्तिम रूप बागलुङ नगरपालिकाले तयार गरेको थियो।  

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि ३ घण्टाको पैदल तथा समुन्द्री सतहदेखि दुई हजार १५० मिटरको उचाइमा चारतले पक्की भ्यूटावर रहेको छ। कोभिड संक्रमण सुरु हुनुभन्दा पहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो थियो। अहिले वर्षाको कारण सुनसान जस्तै बनेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.