|

विश्वको सबैभन्दा ठूला फिल्म उद्योगमध्येमा गनिने बलिउडका स्टार कहलिएका कलाकारहरूको गणना पनि विश्वभरका ठूला कलाकारमा हुने गर्छ। दिलिप कुमार, देव आनन्द, राजेश खन्ना, धर्मेन्द्र, जितेन्द्र, अमिताभ बच्चन लगायतका कलाकार बलिउडको इतिहासका सबैभन्दा ठूला स्टार कलाकारमध्ये पर्छन्। 

९० को दशकपछि शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार लगायतलाई बलिउडका ठूला स्टारको रूपमा लिइन्छ। सँगसँगै जस्तो बलिउडमा प्रवेश गरेका यी अभिनेताका ‘फलोअर’ भारतमा मात्रै नभएर विश्वमै फैलिएका छन्। धेरै वटा हिट फिल्म खेलेको र करोडौँको संख्यामा फलोअर भएका कारण उनीहरूको पारिश्रमिक पनि अन्य कलाकारको तुलनामा धेरै हुन्छ। 

तीन दशक बितिसक्दा पनि यी स्टारको ठाउँ लिने गरी कुनै नयाँ कलाकार भित्रिएका छैनन्। जसरी स्टार अभिनेताका फिल्म रिलिज हुँदा तरंग आउँछ। त्यस्तो तरंग अरु कलाकारको फिल्मले ल्याउँदैन। तर, बलिउडमा स्टारडमले फिल्म चल्ने युग अब सकिइसकेको विज्ञहरू बताउँछन्। यसको उदाहरणका रूपमा पछिल्लो समयमा प्रदर्शनमा आइरहेका फिल्महरूलाई लिन सकिन्छ। 

यतिवेला बलिउड इतिहासकै सबैभन्दा खराब अवस्थामा छ। यो वर्ष प्रदर्शनमा आएका अधिकांश फिल्मले लगानी समेत उठाउन सकेका छैनन्। जसमा आमिर खानको 'लाल सिंह चड्ढा'देखि अक्षयको 'सम्राट पृथ्वीराज', 'बच्चन पाण्डे'सम्म छन्। कुनै समय फिल्ममा एकैछिन अनुहार मात्रै देखिँदा पनि नाफा कमाउने यी कलाकारका फिल्म अहिले धेरै समय र आर्थिक लागतमा बनेका फिल्म पनि घाटामा गएका छन्। 

अहिले पनि बलिउडका सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीको शीर्ष पाँचमा स्टार कहलिएका कलाकारकै फिल्म रहेका छन्, जुन सन् २०१६ अघि प्रदर्शनमा आएका थिए। बलिउडका बादशाहको रूपमा चिनिने शाहरुख खान जसलाई ग्लोबल सेलिब्रेटी पनि मानिन्छ। उनको २०१३ मा आएको 'चेन्नइ एक्सप्रेस'पछि प्रदर्शनमा आएका फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन्। 'ह्याप्पी न्यु इयर' र 'दिलवाले' नाफामा गए पनि 'फ्यान', 'जब ह्यारी मेट सेजल', 'रइज' जस्ता फिल्म चल्न सकेनन्। २०१८ मा आएको 'जिरो' पछि शाहरुखले आफ्नो करिअरको सबैभन्दा लामो विश्राम लिए। त्यसपछि उनका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन्। 

त्यस्तै सलमानको पनि व्यवसायिक रूपमा राम्रो प्रदर्शन गरेको पछिल्लो फिल्म २०१७ को 'टाइगर जिन्दा हे' हो। त्यसपछि आएका 'रेस ३', 'राधे', 'अन्तिम' जस्ता फिल्म बक्स अफिसमा ‘फ्लप’ नै साबित भए। 

मिस्टर पफेक्सनिस्टको उपनाम पाएका आमिरको पनि अवस्था त्यस्तै छ। व्यवसायिक रुपमा सफल फिल्म सूचीमा शीर्ष पाँचमध्ये ३ फिल्म आमिरका छन् तर २०१८ को ठूलो बजेटमा बनेको 'ठग्स अफ हिन्दुस्तान'ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसक्दा आमिरले पनि केही वर्ष विश्राम गर्ने सोचे। चार वर्षपछि प्रदर्शनमा आउन लागेको उनको 'लाल सिंह चड्ढा'लाई लिएर आमिर मात्र होइन सिंगो बलिउड नै उत्साहित थियो। तर, दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले लगानी उठाउन समेत संघर्ष गरिरहेको छ। 

सन २०१९ मा मात्रै चार वटा फिल्म दुई सय करोड क्लबमा प्रवेश गराएका अर्का अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा धेरै कर तिर्ने कलाकार पनि हुन्। यो वर्ष भने उनेको लागि बिर्सन लायक बनेको छ। उनका यस वर्ष प्रदर्शनमा आएका 'बच्चन पाण्डे', 'सम्राट पृथ्वीराज' र 'रक्षाबन्धन' तीनवटै फिल्म फ्लप भएका छन्। जुन अक्षयकै लागि पनि नौलो अनुभव हो। लगातार फिल्म फ्लप भएपछि उनले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन्। 

अपेक्षा गरिएका फिल्मले राम्रो नतिजा ननिकालिरहेका वेला शाहरुख खान 'पठान' प्रदर्शनको पर्खाइमा छन् भने सलमानले टाइगर ३ पर्खिरखेका छन्। दुवै फिल्म अर्को वर्ष प्रदर्शनमा आउँदैछन्। अक्षयको यसै वर्ष ठूलो बजेटमा बनेको अर्को फिल्म 'राम सेतु' प्रदर्शनको तयारीमा छ। यी सबै फिल्मले कस्तो प्रदर्शन गर्छन्, तथा चार वर्ष पछि पूनरागमन गरेर पनि निराश नै भएका आमिर अब कहिले, कुन फिल्ममा देखिन्छन् र त्यसले कस्तो प्रदर्शन गर्छ हेर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.