|

बागलुङ : जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवर्धनका लागि अभियान थालेको छ। 

गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटलाई प्राथमिकतामा राखेर विकास गर्न थालेको छ। नेपालमा बाइसे चौबिसे राज्य हुँदा बागलुङको विभिन्न ठाउँमा विभिन्न राजाले राज्य सञ्चालन गरेको पाइन्छ। त्यसमध्ये जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटको नरसिंहकोटमा पनि राजाहरुले राज्य सञ्चालन गरेको बुढापाका बताउँछन्। 

तत्कालीन समयमा भूरे राजाले दरबार बनाएर करिब ७÷८ वर्ष राज गरेको स्थानीय ८३ वर्षीय टिकाबहादुर कुवँरले बताए। त्यस क्षेत्रमा राजाले दरबार, पौवा निर्माण गरेको र विस्थापित भएपछि दरबार र पौवा जीर्ण भएर भत्किएको उनले बताए। दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्षअघिसम्म भग्नावशेष भेटिने गरेको थियो।

भूरे राजा कुटिएको ठाउँ नरसिंहकोट

नरसिंहकोट र राजकुटको अर्थ बेग्लाबेग्लै भएको स्थानीय बताउँछन्। ‘राजकुट’ तत्कालीन बाइसे चौबीसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोत’ भन्ने गरिएको र अहिले आएर ‘राजकोत’लाई राजकुट भन्ने गरिएको स्थानीय ८३ वर्षीय कुँवरको भनाइ छ। 

यस्तै ‘नरसिंहकोट’ राजाले पूजा गर्ने नरसिंह देवताको नामबाट नामाकरण हुन पगेको कुँवरको भनाइ छ। तत्कालीन समयमा भूरे राजा र प्युठानी राजाबीच युद्ध भएको र प्युठानी राजले भूरे राजाको वंशनाश गरिदिएको र उनका सयौँ सिपाहीको ज्यान गएको कुँवरको दाबी छ।   

कुँवरले प्युठानी राजाले भूरे राजाका धेरै सिपाहीलाई भीरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरुको स्मृतिमा हालको नरसिंहकोटमा नरसिंह मन्दिर निर्माण गरिएको बताए। उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको हो। 

नरसिंहकोटमा अहिले पनि अहिले पनि मन्दिर छ। जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजा आजा गरिन्छ भने पशुपक्षीको बली पनि चढाइने गरिन्छ। मन्दिरमा वैशाखे पूर्णिमा, मंसिरे पूर्णिमा लगायत चतुर्दशी र पूर्णिमामा सोत पूजाआजा हुने गर्छ। यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ।बागलुङ, प्युठान, गुल्मी लगायतका विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्छन्।

केही वर्षअघिसम्म उक्त स्थानमा भूरे राजाको दरबारका भग्नावशेष भेटिने गरेको कुँवर बताउँछन्। अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने स्थानीय बताउँछन्। राजाले राज गरेको क्षेत्र मध्ये हाल गरिब १०० रोपनी गुठीको जग्गा  छ। त्यसमध्ये केही खेत र केही बाँझो बताइएको छ। ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणीय छ। त्यस क्षेत्रमा मन्दिर र राजाले निर्माण गरेको मौलोसमेत छ। 

दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल बनाउँदै पालिका

राजा विस्थापित भए पश्चात निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरेको छ। राजकुटमा पर्ने नरसिंहकोट गाउँपालिकाको नमुना पर्यटकीय गन्तव्यको रुपमा परिचत छ। यो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको छ। जसले धेरै पर्यटकको मन लोभ्याउने गरेको छ। यहाँ आउने जोहोकोही यहाँबाट देखिने मनोरम दृश्यले मोहित हुन्छन्। 

यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायत जिल्ला देख्न सकिन्छ भने धौलागिरी हिमाल लगायत दर्जनौँ हिम श्रृंखला र उच्च मनोरम पहाडी भेग अवलोकन गर्न सकिन्छ। 

पछिल्लो समय आन्तरिक पर्यटक समेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका ७ का वडाध्यक्ष दीपक कुँवर (दीपु) ले जानकारी दिए। उनले बुर्तिबाङ बजारको नजिक पर्ने हुँदा आन्तरिक पर्यटक भित्र्याउन सहज भएको बताए। 

नरसिंहकोट क्षेत्रमा पुग्नको लागि बुर्तिबाङ बजारबाट गाडीमा १ घण्टामा पुग्न सकिन्छ। पैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ। त्यहाँसम्म पुग्ने सडक सालजण्डी–ढोरपाटन सडक बाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधनमा जाँदा केही फेरो पर्छ। 

बुर्तिबाङबाट अधिकांश पर्यटकहरु पैदल यात्रामै त्यहाँ पुग्ने गरेको पाइन्छ। नरसिंहकोटबाट नजिकै रहेको टापुले पनि धेरैको मन लोभ्याउँछ। नरसिंहकोटमा जाने पर्यटक १५\२० मिनेटमै टापुमा पुग्न सक्छन्। यस क्षेत्रको प्रवर्धनका लागि आफूहरू निर्वाचित भएर आएदेखि नै भौतिक संरचना निर्माण र यस क्षेत्रको विकासमा जुटेको वडा अध्यक्ष कुँवरको भनाइ छ।

विगतका वर्षदेखिनै पर्यटन पदमार्ग निर्माण गरेको र हालसम्म क्रमश: पर्यटन पार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनर्निर्माण लगायतका काम भएको बताए। उनले पहिलेको तुलनामा निकै परिवर्तन आएको बताए। 

‘यो क्षेत्र आफैमा सुन्दर छ, यसको प्रवर्धनका लागि लागेका छौँ, पहिले यो ठाउँ पुरै झाडीले भरिएको थियो, अहिले पूरै परिवर्तन भएको छ,’ उनले भने ‘मन्दिर पुन निर्माणदेखि पर्यटन पार्क निर्माण, खानेपानी, शौचालय लगायतको व्यवस्थापन भएको छ, अझै केही काम गर्न बाँकी छ, त्यसलाई पनि हामी निरन्तरता दिनेछौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.