|

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सापास नगरी बनाएको संरचनामा धमाधम डोजर लगाइरहेको छ। गत सोमबार काठमाडौँको नयाँ बानेश्वरबाट शुरु गरेको उक्त अभियानमा काठमाडौँ मल, आरबी कम्प्लेक्स साथै बुद्ध नगरको अल्फाबिटामा डोजर लगाएको छ।  

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नेतृत्वमा ती ठाउँमा डोजर चलाइयो। करिब एक दर्जनभन्दा बढी व्यवसाय तत्काल हटाउन निर्देशन दिएका छन्। नक्सापास गर्दा पार्किङ उल्लेख गरी ती स्थानमा व्यवसाय सञ्चालन गरेसँगै महानगरपालिकाले हटाउन थालेको काठमाडौँ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बताउँछन्। 
 
पार्किङका लागि स्वीकृति लिएको स्थान भाडामा लगाई सडकमा सवारी पार्किङ गर्दै आएको पाइएको थियो। यसरी सवारी पार्किङ गर्दा सवारी जाम बढ्ने गरेको थियो। बिहीबार महानगरपालिका अनुगमन गर्न जाँदा अल्फाबिटाका प्रतिनिधिले व्यापारिक प्रयोजनका लागि स्वीकृति लिएको अडान राखे। मेयर बालेनले नक्सा माग गर्दा आफ्नो नक्सा महानगरपालिकाले दिनुपर्ने भन्दै कड्किए। त्यसको केही समयपछि मेयर बालेन उक्त भवनको नक्सा सहित डोजर लिएर अन्डर ग्राउन्ड खाली गर्न पुगे।

नक्सामा पार्किङका लागि अनुमति लिएर फार्मेसी सञ्चालन गरिएको थियो। ती स्थानमा नक्सा देखाउँदै महानगरपालिकाले डोजर चलायो। यो विषयले यतिवेला सामाजिक सञ्जाल तातिएको छ। अधिकांशले राजनीतिक दलले अखडा बनाएर बसेको स्थानमा स्वतन्त्र मेयरले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् भने कतिपयले आलोचना गर्दै आएका छन्। ती विषयलाई लिएर यतिवेला विभिन्न राजनीतिक दलका नेताहरूले विभिन्न तर्क राख्दै आएका छन्।

बालेनमाथि खनिए बस्नेत 

बिहीबार दिउँसो मेयर बालेनले अवैध संरचना भत्काए। यसको चर्चा सामाजिक सञ्जालमा चुलिएको थियो। त्यसैवेला नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध खनिए। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामाथि डोजर चलाइएकोमा आक्रोश व्यक्त गरे। बस्नेतले बालेनको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए।

अल्फाबिटाका सञ्चालक आफूहरुसँग नजिक भएको वा सँगै फोटो खिचेको भएर डोजर चलाएको हो भने आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए। त्यसको केही समयपछि अर्को स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो घरको नक्सा हेर्ने मन भए मेयर साहलाई सूर्यविनायक नगरपालिकामा काजमा आउन भन्दै चुनौती दिएका छन्।

बस्नेतले लेखेका छन्, ‘तपाईँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वंस होइन, निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चढ्दैनन्। ड्राइभर चढ्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला।’

बालेनको काम स्वागतयोग्य छ : पूर्वमन्त्री झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेत्री एवम् पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरका प्रमुख बालेन साहले गरेको काम स्वागतयोग्य भएको बताएकी छिन्। थाहाखबरसँग कुरा गर्दै झाँक्रीले सो कुरा बताएकी हुन्। काठमाडौंलाई व्यवस्थित गर्नका लागि मेयरले चालेको कदम सह्रानीय रहेको उनले बताइन्।
 
मेयर बालेनलाई कुनै राजनीतिक दबाब नरहने भएकाले उनले काम गर्नसक्ने बताइन्। उनले भनिन्, ‘म शहरी विकासमन्त्री हुँदा यो प्रयास नगरेको होइन। मलाई पार्टीको दबाब थियो भने चाहेजति काम गर्न सकिनँ।’

उनले मेयर बालेनलाई आफ्नो साथ सहयोग सधैँ रहने बताएकी छन्।

आफूले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको पनि बताएकी छिन्। यसैक्रममा झाँक्रीले अबको पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउनुपर्ने उनको भनाइ थियो।

बालेनको विरोध गर्न जरुरी छैन :  वाइसिएल

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष सुबोध शेर्पालीले काठमाडौँका मेयर बालेन साहको विरोध गर्न जरुरी नभएको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सो कुरा बताएका हुन्। अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन साहको पछिल्लो कार्य स्वागतयोग्य छ। 

राज्यकोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको छ। केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन्। आफ्नो वा पराई कोही नभनी सधैं राज्यको भौतिक  सम्पत्तिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.