एक–अर्कालाई देखाउँछन् त्रिवि र विद्यार्थी संगठन

|

काठमाडौं : विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था हो, स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)। स्ववियु निर्वाचन क्याम्पस कलेजका लागि आमनिर्वाचन जतिकै महत्त्वको हुन्छ। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र विद्यार्थीको हक–अधिकारलाई बुलन्द बनाउँछ।

नेपालमा पञ्चायत काल, सशस्त्र द्वन्द्व र राजाको प्रत्यक्ष शासनकालमा स्ववियु निर्वाचन नियमित भयो। तर, मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि १४ वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु नियमित निर्वाचन हुन सकेको छैन।

पहिला त्रिविले शैक्षिक क्यालेन्डरमा २–२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर चुनाव गराउँदै आएको थियो। अहिले त्रिविले यसप्रति धेरै चासो लिएको छैन।

स्थानीय तहको निर्वाचन केही महिनाअघि सम्पन्न भयो। मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। तर, स्ववियु निर्वाचनका लागि सरकारले पनि केही पहल गरेको छैन।

‘निर्वाचनमा अब अलमल गर्नुहुँदैन’

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता गोविन्द कोइराला स्ववियु निर्वाचन अब ढिलो गर्न नहुने बताउँछन्। यसका लागि आफूहरू तयार रहेको उनले बताए।

‘डेमाेक्रेसीको अभ्यास गर्ने सर्वोत्तम उपाय भनेको स्ववियु निर्वाचन हो’, उनी भन्छन्, ‘स्ववियु निर्वाचनमा सबै दलको प्रतिनिधित्व हुन्छ। आफ्नो धारणाअनुसार चुनाव लड्ने हो। यो देशको सरकार जस्तै हो।’

उनले समयमा निर्वाचन नगरी विद्यार्थीमा भएको रचनात्मक क्रियाकलाप मार्ने प्रयास भएको गुनासो गरे। उनका अनुसार सरकार नहुँदा देशमा संक्रमणकाल हुने भए जस्तै क्याम्पसमा पनि स्ववियु नहुँदा संकटकालको अवस्था छ।

‘विद्यार्थी युनियनबाट प्रतिनिधित्व गरेर जितेर जानेहरूले कलेजमा रहेका समस्या पहिचान,समाधान गर्ने,काम गरेर परिणाम निकाल्ने हो’,उनी भन्छन्, ‘नेतृत्वले गुणस्तरीय शिक्षाका लागि पनि पहल गर्छ। तर १४ वर्षदेखि विद्यार्थीले क्षमता प्रदर्शन गर्न पाएका छैनन्।’ 

क्याम्पस\ कलेजमा विद्यार्थीका प्रतिनिधि चयन गर्ने विषयलाई त्रिविले प्राथमिकतामै नराखेको उनको भनाइ छ। ‘कलेजमा अथवा विश्वविद्यालयमा राजनीति हुँदा हामीलाई अप्ठ्यारो पर्‍यो भन्ने मान्यता त्रिविमा होला’, उनी भन्छन्, ‘तर उनीहरुले नकरात्मक पक्षबाट मात्र हेरेर विद्यार्थीको हकहितमा काम गर्न नपाउने वातावरण त्रिविले बनायो।’ 

निर्वाचन गर्नका लागि आफूहरूले पटकपटक माग गर्दै आएको उनले बताए। ‘त्रिचन्द्रमा स्ववियु निर्वाचन नभएको १४ वर्ष भयो,कलेजका धेरै समस्या छन्,’उनले सुनाए,‘कलेज पुनर्निर्माणमा नेविसंघले आवाज उठाइरहेको छ,अब यसलाई खरो रूपमा लिने नेतृत्व आवश्यक छ।’ 

सक्षम विद्यार्थी विस्थापन गर्ने खेल भयो : पराजुली

नेकपा (एकीकृत समाजवादी )को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले समयमा स्ववियु निर्वाचन नगरी सक्षम विद्यार्थी विस्थापित गर्ने खेल त्रिविबाट भएको बताए।

‘स्ववियु निर्वाचन गराउनका लागि हामी त्रिविमा आमरण अनशन बसेका थियौँ’,उनी भन्छन्, ‘यसवेला त्रिवि र हामीबीच स्ववियु निर्वाचन गर्ने भनेर त्रिविले प्रतिबद्धता जनाएको थियो। तर त्यसको पनि म्याद गुज्रिसक्यो। नगर्ने परिपाटी भइरह्यो।’

उनले नियमित निर्वाचनका लागि सबै विद्यार्थी संगठन, पार्टी, सरकारको नेतृत्व गर्ने सम्बन्धित पक्षले पनि ध्यान दिन माग गरे। 

अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंह निर्वाचनका लागि संगठन तयार रहेको बताइन्। उनले भनिन्,‘स्ववियु निर्वाचनको मिति तोक्न त्रिवि पदाधिकारीसँग आग्रह गर्दै आएका छौँ’,केही विद्यार्थी स‌ंगठन हार्ने डरका कारण पनि चुनावबाट भागेको हुनसक्छ। अब चाँडै गर्नुपर्छ।’

यसो भन्छ त्रिवि

त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहाल त्रिवि स्ववियु निर्वाचन गराउन तयार भए पनि विद्यार्थी संगठनबीचको विवादका कारण समस्या भएको बताउँछन्। ‘सबै विद्यार्थी नेताहरु तयार भएर आएपछि निर्वाचन हुन्छ,’उनले भने।

उनका अनुसार त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले केही क्याम्पसमा स्ववियु निर्वाचन भए पनि २०७२ साल यता भने निर्वाचन हुन नसकेको बताए। ‘गत फागुन महिनामा निर्वाचन गराउने प्रयास गरेका थियौँ, तर कोभिड–१९ले गर्न सकिएन,’उनले भने।

उनले विद्यार्थी संगठनबीच मतभेद हुने भएकाले पनि निर्वाचन रोकिएको बताए। ‘विद्यार्थी संगठन,नेताहरू जित्ने ठाउँमा राम्रोगरी निर्वाचन गर्छन्‘,उनले भने,‘तर हार्ने ठाउँमा स्थगन गर्ने गरेको देखिन्छ। सरकारले पनि त्यति चासो देखाएन। हामीले गराउन भनेर सरकारसँग छलफल गर्दा राष्ट्रिय चुनाव नै भएको छैन भन्छ।’

उनले आगामी माघ वा फागुन महिनाभित्रमा जसरी भएपनि स्ववियु निर्वाचन गराउने बताए। ‘माघ वा फागुनमा जसरी पनि निर्वाचन हुन्छ,अहिलेबाटै क्याम्पस विद्यार्थी,नेता तयारीमा लाग्दै गरे हुन्छ’, उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.