|

बागलुङ : बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्। कतिपय पर्यटकीय क्षेत्र आकर्षण केन्द्र बनेका छन् भने कतिपय निकै मनमोहक हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा छन्।

तीमध्ये निसीखोला-६ मा पर्ने दिदीबहिनी झरना पनि ओझेलमै छन्। उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना निकै मनमोहक छन्।

मोराखोलाको शिरमा रहेको यो झरनामा अहिलेसम्म पर्यटक पुगेका छैनन्। एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन्। एकै ठाउँमा एउटै खोलामा रहेको हुँदा स्थानीयले दिदीबहिनी झरना नाम दिएका हुन्।

शान्त वातावरण र उच्च पहाडी हावापानी रहेको ठाउँमा छन् दिदीबहिनी झरना। झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट ३ घण्टा पदैल यात्रा गरेर पुग्न सकिन्छ।

मोराखोलामा बनेका ४ झरनामध्ये सबैभन्दा माथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइँली र कान्छी भनिँदै आएको छ। स्थानीयले सबैको नाम ‘दिदीबहिनी’ राखेको स्थानीय बताउँछन्।

झरनाहरू जंगलको बीचमा रहेको हुँदा स्थानीयले घाँस दाउरा ल्याउन जाँदा झरनाको पहिचान गरेका थिए। वर्षौंअगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार हुन सकेको छैन।

झरनाको फेदमा भने भल्कोटका स्थानीयले गोठ बनाएका छन्। गोठमा वर्षातको समय सयौँ गाईभैँसी र भेँडाबाख्रा राखिन्छ। चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोज स्थलका रुपमा पनि निकै उत्कृष्ट बन्दै गएको छ।

गोठमा बस्ने गोठालाहरू यही झरनाको पानी पिउने गरेका छन्। यो झरना पैदल यात्रा गर्नका लागि पनि उपयुक्त मानिन्छ।

ओझेलमा परेका यी झरनाको अहिले भने गाउँपालिकाले प्रचारप्रचार गर्न थालेको छ। यहाँ पूर्वाधार निर्माण गर्न डिपिआरसमेत गरिसकेको छ। ​निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष हेमबहादुर बुढा मगरले पर्यटक आकर्षण गर्न वडाले पदमार्ग र सडक निर्माण गर्ने बताए। 

अध्यक्ष बुढा मगरले झरनालाई थप व्यवस्थित बनाउने र त्यस वरपर पार्कसमेत निर्माण गर्ने योजना बनाएको बताए।

‘लामो समयदेखि यो झरना ओझेलमा छ, यसको प्रचारप्रचार र विकासका लागि हामी निर्वाचित भएर आएदेखि निरन्तर लागिरहेका छौँ, योजना बनाइरहेका छौँ। सबैभन्दा पहिले पर्यटक झरनासम्म पुग्न पदमार्ग निर्माण र सडक निर्माण गर्नु पर्नेछ,’ उनले भने‚ ‘विस्तारै त्यस वरपर पार्क निर्माण गर्ने, व्यवस्थित बनाउने योजना बनाएका छौँ आगामी वर्षको बजेटमा यसलाई विशेष प्राथमिकतामा राख्ने छौँ।’

झरना भएको ठाउँ करिब ३ हजार मिटरको उचाइमा पर्छ। यहाँसम्म पुग्न सडक तथा पदर्माग निर्माण भए पर्यटकहरु हिउँद र बर्खा दुवै याममा पुग्न सक्नेछन्। हिउँदमा हिउँ खेल्न र वर्षातमा गर्मी छल्न तथा हरियाली मौसमसँग रमाउन पर्यटक यहाँ पुग्नसक्ने वडाध्यक्ष बुढा मगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.