|

काठमाडाैं : ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवरबाबु‘, ‘हामी ट्याक्सी ड्राइभर‘, ‘हिफाजत‘, ‘रणसंग्राम‘ जस्ता फिल्मको निर्देशन गरेका ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको नयाँ फिल्म ‘झिँगे दाउ‘ प्रदर्शनको मुखमा छ। आफ्नो पछिल्लो फिल्म ‘छविलाल कन्जुस छैन’ प्रदर्शन भएको झण्डै एक दशकपछि ‘झिँगे दाउ’ प्रदर्शनमा आउन लागेको हो। 

शुक्रबारदेखि फिल्म प्रदर्शनमा आउँदै गर्दा शारीरिक र मानिसिक दुवै खाले दौडधुप भइरहेको निर्देशक तथा निर्माता देउजा बताउँछन्। उनी भन्छन्, ‘दिन अब कम छ। प्रचार प्रसारको काम अन्तिम चरणमा छ। सबै दर्शकहरूलाई हाम्रो चलचित्र आउँदैछ, यसले परिवारको कथा भन्छ, सबै नेपाली परिवारको कथा यसमा समेट्न खोजिएको छ भनेर जानकारी गराउनुपर्नेछ। धेरै दर्शकहरूसम्म पुगे पनि केही दर्शकहरूसम्म अझै पुग्न बाँकी छ।‘ 

लामो समयपछि आफ्नो फिल्म आउँदै गरेकाले प्रचार प्रसारमा पनि केही कठिनाइहरू भएको उनी जनाउँछन्। भर्खरै फिल्मको सेन्सर पनि पास भएको छ, जहाँ फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ। जसको मतलब फिल्म सबैले हेर्न मिल्ने खालको बनेको छ भन्ने हुन्छ। 

फिल्म राम्रो बनेको छ भनेर आफूलाई विश्वास भए पनि पछिल्लो समय प्रदर्शनमा आएका फिल्महरूको व्यापार हेर्दा अलिकति डर पनि थपिएको उनी बताउँछन्। उनी भन्छन्, ‘अरु फिल्मको व्यापार हेर्दा टेन्सन थपिएको छ। भागदौडले सुत्ने, सास फेर्ने फुर्सद पनि छैन। सुते पनि निद्रा परेको छैन।’ यो सबैका बिच आजको नेपाली समाजसँग मेल खाने तथा झिँगे दाउ यो समयका लागि जरुरी फिल्म रहेको र दर्शकले मन पराउनेमा विश्वास पनि रहेको उनी बताउँछन्। 

केही वर्ष फिल्म निर्देशन नगर्नुको केही पारिवारिक र पेशागत कारणहरू भए पनि यस क्षेत्रबाट टाढा भने नरहेको उनको भनाइ छ। ‘सिनेमा नबनाए पनि यो समय सिनेमा बनाउनको लागि वर्कआउट नै गरेर बसेको हो। सन २०१९ मै आउने गरी तयारी गरिएको थियो तर कोरोनाले गर्दा अलिकति ढिला भने भयो।’ उनी भन्छन्, ‘नयाँ समयमा नयाँ साथीहरूसँग काम गर्दा धेरै नयाँ अनुभव भयो। केही नयाँ कुराहरू सिकियो पनि। सिकाइको प्रक्रिया आजिवन चलि नै रहन्छ।’ 

भिमनिधि तिवारीको सामाजिक कथा ‘झिँगे दाउ’ आफूले धेरै वर्ष अगाडि पढेको र त्यतिवेला देखि नै यसलाई पर्दामा देखाउन मन भएको उनी बताउँछन्। धेरै वर्ष पहिले छोटो चलचित्रको रुपमा यसलाई ल्याउने सोचे पनि पाँच पेज लामो कथा अहिले दुई घण्टा लामो चलचित्र कै रुपमा आएको देउजा बताउँछन्। 

वि.सं.२००८ मा प्रकाशित कथा त्यो भन्दा अगाडिको समय परिवेशको चित्रण भए पनि कथालाई लेखिएको समयभन्दा अगाडि र पछाडिको समयमा पनि ढाल्न सकिने खालको रहेको उनको भनाइ छ। जसअनुसार धेरै अगाडि या पछाडी नलगी आजको समयभन्दा ४५/५० वर्ष अगाडिको समय परिवेशमा फिल्म बनाइएको उनी बताउँछन्। उनी भन्छन्, ‘ठ्याक्कै यही समय भन्ने नभए पनि धेरै पूरानो नदेखिने गरी, अहिलेको समाजमा पनि मेल खाने गरी २०/२५ साल आसपासको क्यानभास तयार गरेको छु।’ 

यसअघि देउजाले महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा लिखित कालजयी खण्डकाव्य ‘मुना मदन’मा आधारित रहेर पनि फिल्म बनाएका थिए। जसले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको थियो। विश्व प्रतिष्ठित चलचित्र अवार्ड ओस्कारसम्मको यात्रा तय गरेको फिल्म देउजाले निर्देशन गरेका मध्ये सबैभन्दा उत्कृष्ट फिल्म मानिन्छ। 

‘मुना मदन’ प्रदर्शनमा आएको झण्डै दुई दशकपछि देउजाको अर्को कृतिमा आधारित फिल्म प्रदर्शनको तयारीमा छ। एकपटक प्रदर्शन भइसकेर पाठकसम्म पुगिसकेको कृतिलाई फिल्म बनाउँदा यसका चुनौती पनि बेग्लै हुने उनी बताउँछन्, ‘एकपटक पाठकसम्म पुगिसकेर, पढिइसकेको कृतिमा पाठकले एक खालको संसार बनाएका हुन्छन्। कृतिको आफ्नै क्राइटेरिया हुन्छ। आफ्नै भाषा हुन्छ। जसलाई भत्काउन मिल्दैन, व्यवस्थापन गरेर लैजानुपर्छ। अनि त्यसमा दर्शकलाई न्याय भएन जस्तो लाग्यो भने गाली खान पनि तयार हुनुपर्छ। जसले गर्दा कुनै पहिले नै लेखिएको कृतिलाई चलाउँदा थप प्रेसर हुन्छ।‘ 

आफूले फिल्म बनाउँदै गर्दा त्यो फिल्म हलमा लागेपछि दर्शकले आफ्नो समय र पैसा त्यसमा खर्च गर्छन्, दर्शकलाई त्यो समय र पैसा खेर गए जस्तो नलागोस् भन्ने कुरा मनमा लिएर काम गर्ने देउजा बताउँछन्। उनी भन्छन्, ‘कोही दर्शक फिल्म हेर्न आउँछन् भने त्यहाँको कथा, घटना तथा पात्रसँग आफूलाई रिलेट गर्न सकुन् भन्ने लाग्छ। जसले गर्दा उनीहरूलाई आफ्नो समय र पैसा खेर गए जस्तो नलागोस्। त्यही अनुसार म फिल्म बनाउँछु। यो फिल्ममा पनि त्यही प्रयास गरेको छु।‘ 

यसअघि सार्वजनिक भएका फिल्मका गीत तथा ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्। एडभान्स बकिङ खुलिसकेको फिल्मले अधिकांश मल्टिप्लेक्समा २५ प्रतिशतको सुखद शोका साथ ओपनिङ गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.