|

भोजपुर : जिल्लामा उद्यम गर्नेको संख्यामा वृद्धि भएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्र ४०३ नयाँ  साना उद्योग तथा फर्म थपिएका छन्।

राज्यबाट विभिन्न खालका प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै उद्योग तथा फर्म दर्ता गरेर व्यवसायमा लाग्नेको संख्या बढेको कार्यालयले जनाएको छ। जिल्लाभर हालसम्म तीन हजार १५५ वटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा छन्।

उद्योगमा आवद्ध हुनेलाई लक्ष्य गरी कार्यालयले उद्यमशीलता विकास अन्तर्गत बाँसको फर्निचर बनाउने,  हाउस वायरिङ, कुक, लगायत तालिम ९ वटै स्थानीय तहमा सञ्चालन  गर्दै आएको छ ।  

गत आर्थिक वर्षमा सञ्चालन गरेको तालिमबाट २५१ जना लाभान्वित भएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख लोकेन्द्र फागोले बताए। कार्यालयले ५५ जनालाई लघु उद्यम तालिम, घरेलु तथा साना उद्यमीलाई प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेसिन औजारसमेत हस्तान्तरण गरेको छ। ‘यहाँ पछिल्लो समय उद्यममा लाग्नेको संख्यामा वृद्धि भएको छ’ प्रमुख फागोले भने,‘हामीले उनीहरुलाई उद्यम गर्न सहज बनाउनविभिन्न सीपमूलक तालिम दिFदै आएका छौँ।’

कार्यालयले विभिन्न खाले तालिम तथा योजनाहरु सञ्चालन गरेको भएपनि दर्बन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्रमुख फागोको भनाइ छ । कार्यालयमा आठ जना स्थायी कर्मचारीको दरबन्दी भए पनि अहिले एक जना उद्योग अधिकृत बाहेक अरु पद रिक्त छ । करार सेवामा कार्यरत कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ। 

सरकारले दर्वन्दी अनुसारको कर्मचारी व्यवस्थापनमा ध्यान दिनु पर्ने फागोले बताए। उद्यम तथा कृषि क्षेत्रमा प्रोत्साहनका कार्यक्रम सञ्चालनमा आएसँगै व्यवसायमा लाग्नेको संख्यामा वृद्धि भएको प्रमुख फागोको भनाइ छ। कार्यालयले वार्षिक समिक्षा कार्यक्रम मार्फत आर्थिक वर्ष ०७८\७९मा सञ्चालित योजना तथा कार्यक्रमको बारेमा जानकारी दिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.