|

काठमाडौं : भिजिट भिसामा यूएई हिँडेका सप्तरी घर भएका लालमोहन सुनुवारलाई गत शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अध्यागमनका कर्मचारीले फर्काए। कागजपत्र शंकास्पद देखिएसँगै विमानस्थलमा खटिएका प्रहरीले उनलाई रोके।

राति १० बजे टर्किस एयरलाइन्सको उडानबाट यूएई जाने तयारीमा थिए। विमानस्थलमा प्रहरीले कागजपत्र पुगेन भनेर फर्काएसँगै आफू एजेन्टबाट ठगिएको थाहा पाए। यतिवेला उनी आफ्नो ठगिएको पैसा उठ्ने आशामा एजेन्टको खोजीमा भौँतारिरहेका छन्। वैदेशिक रोजगार विभागको कार्यालयमा पुगेर एजेन्टले वर्किङ भिसामा पठाइदिने भन्दै भिजिट भिसा लगाइदिएको सुनुवारले सुनाए। 

परिवारको आर्थिक अवस्था कमजोर थियो। देशमा रोजगारी नपाएपछि परिवारको आर्थिक अवस्था उकास्न विदेश जाने सोच बनाए। नजिकका साथीलाई वैदेशिक रोजगारीका जाने योजना सुनाए। त्यही क्रममा सप्तरी घर भएका रामधनुष फेला परे। राम्रो कमाइ हुने भन्दै यूएईका लागि वर्किङ भिसामा पठाउने बताए। धनुषको सल्लाहअनुसार विदेश जाने तयारी गरेका थिए। विदेश जानका लागि दुईपटक गरी साढे २ लाख बुझाएका थिए। सो पैसा असुलेर एजेन्ट फरार भए। 

ती एजेन्टबाट आफूले तिरेको पैसा फिर्ता पाउने आशाले विभागमा उजुरी दर्ता गर्न आएको उनले सुनाए। उनले भने, ‘पैसा कमाएर परिवार पाल्ने सपना बोकेर ऋण खोजेर शहर पसेको म। पैसा फस्यो विदेश जान सकिनँ भनेर कसरी घर फर्का सक्छु?’ वैदेशिक रोजगार विभागको उजुरी शाखामा समस्याको पोका खोल्दै थिए। आफूलाई एजेन्टले यूएईमा क्यासिनोको काममा लगाइदिने भनेर पठाउन पैसा लिएको उनले बताए। उनीसँगै ५ जनालाई सोही व्यक्तिले ठगेको उनले जानकारी दिए। 

त्यस्तैगरी रामेछाप घर भएकी अनिता विश्वकर्मा (नाम परिवर्तन) लाई गत शुक्रबार अध्यागमन प्रहरीले विमानस्थलबाट फर्कायो। काठमाडौं सनराइज म्यानपावर प्रालिमा कार्यरत एजेन्ट डीके बिसुले भिजिट भिसामा यूएई पठाउन लागेका थिए। कागजपत्र नमिलेपछि उनलाई अध्यागमन प्रहरीले फर्कायो। 

यसअघि वैदेशिक रोजगारीमा ३ वर्ष बिताएर फर्किएकी  विश्वकर्मा पहिला नै काम गरेको कम्पनीमा काम गर्नका लागि जान लागेकी थिइन्। म्याननपावर कम्पनीले कागजपत्र नक्कली बनाएको रहेछ। कम्पनीले उनलाई वर्किङमा पठाउने भनेको थियो। उनले भनिन्, ‘विमानस्थलमा आएर पो थाहा भयो। भिजिट भिसामा पठाउन लागेको रहेछ।’

जाने प्रक्रिया र भिसा नक्कली छ भनेर प्रहरीले रोकिदियो। ‘यसअघि पनि सोही कम्पनीबाट विदेश गएकी थिएँ’‚ उनले भनिन्, ‘त्यही भरमा फेरि जान लागेकी थिएँ। पहिला जस्तै राम्रो होला भन्ने लागेको थियो तर म्यानपावरले मलाई फसाएको रहेछ।’ विदेश जानका लागि तिरेको २ लाख फिर्ता पाउनका लागि उनी विभाग धाइरहेकी छिन्। 

अध्यागमन विभागले एकै दिनमा भिजिट भिसामा विदेश जान लागेका ३९ जना महिलालाई विमानस्थलबाट फर्कायो। कागजपत्र नमिलेको भन्दै उनीहरूलाई विमानस्थलबाट फर्काइएको थियो। विभिन्न प्रलोभनमा परी विदेश जान लागेका महिलालाई विभागले रोक लगाएको हो।  

भिजिट भिसामा विदेश गई बस्ने र विदेशमा अलपत्र पर्न थालेसँगै सरकारले भिजिट भिसामा जानका लागि कडाइ गर्न थालेको छ। विभिन्न मापदण्ड बनाएर लागू गरेको छ। मापदण्ड पूरा गरेर मात्र भिजिट भिसामा विदेश जान पाउने व्यवस्था गरेको छ। तैपनि लामो समयदेखि हुँदै आएको मानव तस्करी भने रोकिन सकेको छैन। मानव तस्करी तथा समस्या पर्नबाट जोगाउन भिजिट भिसामा कडाइ गरिएको अध्यागमन विभागले जनाएको छ। 

एजेन्टको भर पर्दा समस्या 

वैदेशिक रोजगारीमा जाने नेपालीले सरकारले गरेको गरेको सूचनाको अपहेलना गर्दा समस्या निम्तिएको छ। कुन भिसामा जाने, कुन देश जाने भन्ने जानकारी समेत नभएका नेपाली अरूको भरमा पर्दा ठगीका घटना बढेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसाल बताउँछन्। उनी भन्छन्, ‘सरकारले पहिला नै भिजिट भिसामा नपठाउन नजान सूचना निकालेको छ। ठगिएपछि मात्र उजुरी गर्ने गर्दा समस्या भएको हो।’ 

ठगिएकाे उजुरी लिएर विभागमा गए विभागले अनुसन्धान गरी  प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ। पछिल्लो समय वैदेशिक रोजगारीको नामका ठगीका घटना बढ्दै गएका छन्। भिजिट भिसामा विदेश गएका नेपालीलाई सो देशमा समस्यामा परेको खण्डमा सरकारले उद्धार तथा सहयोग गर्न कठिन हुने श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।  

मापदण्ड विपरीत भिजिट भिसामा विदेशिन लागेका ३९ जनालाई प्रहरीले ८ भदौमा विमानस्थलबाट फर्काएको थियो। उनीहरू एजेन्टमार्फत रोजगारीका लागि यूएई हिँडेको अध्यागमन प्रहरीले जनाएको छ। केही दिनअघि १३ जना युवालाई कागजपत्र नक्कली पाइएपछि प्रहरीले विमानस्थलबाटै फर्काएको थियो। त्यस्तै २० साउनयता यूएई हिँडेका ११४ जना युवतीलाई अध्यागमन प्रहरीले रोकेको थियो। कागजपत्र शंकास्पद देखिएसँगै रोकिएको अध्यागमन विभागका सूचना अधिकारी अन्जन न्यौपानेले जानकारी दिए।

विभागको तथ्यांक अनुसार ४० हजार २५२ जना नेपाली भिजिट भिसामा यूएई गएका छन्। गत वर्ष ७१ हजार नेपाली भिजिट भिसामा यूएई पुगेको अध्यागमनले देखाएको छ। फागुनदेखि कतार १ हजार ५२५ जना, साउदी १ हजार २१२ जना ओमान ८ सय, कुवेत ५२८ र बहराइन ३२२ जना नेपाली भिजिट भिसामा गएको अध्यागमनको तथ्यांक छ। फागुनयता भिजिट भिसामा विदेशिने नेपालीमध्ये अधिकांश यूएई जाने रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.