उपत्यकाको सडक खाल्डाखुल्डी दशैँअघि नै पुरिन्छ

|

काठमाडौं : ​नेपालीको महान् चाड दशैँ नजिकिँदै छ। तर कतिपय स्थानका सडक वर्षाका कारण जीर्ण छन्। बर्खायाम नसकिएकाले पनि ती सडक तत्काल मर्मत हुने अवस्था छैन।

सडक अवरुद्ध हुँदा दशैँको वेला सहजरूपमा घर पुग्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ता धेरैलाई छ। अहिले कुनकुन क्षेत्रमा सडक बिग्रिएका छन्? दशैँअघि मर्मत हुन्छ कि हुँदैन?,उपत्यका लगायत मुख्य राजमार्गका खाल्डाखुल्डी पुरिन्छ कि पुरिँदैन? यिनै विषयमा केन्द्रित रहेर थाहाखबरकर्मी श्याम राईले सडक विभागका उप-महानिर्देशक भीमार्जुन अधिकारीसँग गरेकाे कुराकानी—

पहिरोका कारण अहिले कुन-कुन ठाउँका सडक अवरुद्ध छन्?

अघिल्लो वर्षमा जस्तो यसपालि ठूला पहिरो गएको जानकारी आएको छैन। वर्षा पनि कम भएको हो कि भन्ने छ। अघिल्लो वर्षमा दिनहुँ नै बाटो बन्द हुन्थ्यो। यो वर्ष खासै समस्या देखिएन। तर पनि वर्षाको समय हो। पृथ्वी राजमार्ग,नारायणगढ मुग्लिन सडक खण्ड वेलावेलामा अवरुद्ध भयो।

तर अहिले मर्मतको काम भइसक्यो। अवरुद्ध छैन। अहिले भने मनाङ जाने सडक, कोशी करिडोर (किमाथान जाने बाटो),ताप्लेजुङ क्षेत्रका सडक अवरुद्ध छन्। तर,यी सडक धेरै नै क्षति भयो भने वा निरन्तर पहिरो आयो भने मनसुन बाहिरिएपछि मर्मत गर्नेछौँ। साना सडक त निरन्तर नै मर्मत हुन्छ र गरिरहेकै छौँ। 

दशैँ नजिकिँदै छ,यो समयमा यात्रुहरु सहजरूपमा घर पुग्न सक्लान्?

दशैँ नजिकिदै छ। यसैलाई मध्यानजर गरि जहाँ बाटो अवरुद्ध छ त्यहाँको बाटो मर्मत काम गरिरहेका छौँ। अहिले भन्दा दशैँको बेला आवगमन धेरै सहज बनाउँछौँ। कोही पनि यात्रु बाटोमै अलपत्र पर्ने छैनन्। हामीले दशैँअघि नै  बढी सवारीसाधन गुड्ने राजमार्गमा खाल्डा पुर्ने काम पनि गर्नेछौँ। 

यो वर्ष वर्षाका कारण सडकमा पुगेको क्षतिबारे अनुमान गर्नुभएको छ?

गत वर्ष सडक पहिरोले गर्दा करिब ३ अर्बको क्षति पुग्यो। यस वर्षको अझै मनसुन सकिएको छैन। तर अघिल्लो वर्ष भन्दा यस वर्ष कम नै क्षति पुग्ला भन्ने अनुमान गरेका छौँ। मनसुन नसकिएकाले यति नै क्षति भयो भन्न अहिल नै सकिँदैन।

काठमाडौं को जोरपाटी–साँखु लगायत सडक वर्षौँदेखि लथालिंग छन्। ठेकेदार काम गर्दैनन्। म्याद मात्रै थपिन्छ। सडक विभागले किन चासो नदेखाएकाे?

सडक विभागले कानुन बमोजिम काम गर्ने हो। विगतमा कोभिड–१९ लगायत कारणले काम हुन सकेन। सरकारले म्याद थप गर्ने नीति ल्याएको छ। केही कारणले बनाउन सकेन भने म्याद थपिन्छ। अहिले पनि धेरै योजनामा म्याद थप भएको छ।

अब भने धेरै बहाना बनाउनु हुँदैन भनेर हाम्रो अधिकारभित्र पर्ने ठेकेदार, निकायलाई समयमा काम गर्नु भनी निरन्तर निर्देशन दिइरहेकै छौँ। अरु सडकको सन्दर्भमा सम्बन्धित निकायले काम गरिरहेकै होलान्।  

उपत्यकाभित्र सडकहरुमा अझै पनि खाल्डाखुल्डी छन्,यी सडक दशैँअघि मर्मत गर्न सकिन्छ?

उपत्यकाभित्रका सडक विभागले हेर्ने र नगरपालिका लगायत अन्यले बनाउने सडक हुन्छन्। विभाग अन्तर्गतका सडकमा त्यति खाल्डाखुल्डी भएको जस्तो लाग्दैन। कहिँ छ भने खबर पाऊँ। तुरुन्त मर्मत गर्छाैँ। दशैँअघि नै मर्मत हुन्छ। नगरपालिकाले हेर्नुपर्नेमा समस्या होला। यो चाहिँ उनीहरूले नै गर्ने काम हो।

पछिल्लो समय सडक पीच भएको केही दिनमै कालोपत्रे उप्किने समस्या देखिएको छ। यस्तो किन हुन्छ?

सडक पिच गरेको दुईतीन दिनमै उप्किएको छ भने निर्माण कम्पनीले बदमासी गरेको हो कि वा के भएको भनि अध्ययन गर्नै पर्छ। यसरी भत्किने कुरै हुँदैन।

यस्तो समस्या आए सम्बन्धित कार्यालयले अध्ययन गरेर आगामी दिनमा त्यस्तो नगर्न सच्याउनु पर्छ। यस्ता केही समस्या छ भने खबर पाऊँ। त्यसलाई हामी ‘फलो’ गर्छौँ। 

एक पटक सडक पिच गरेपछि न्यूनतम कति वर्षसम्म टिक्नुपर्छ ?

यो सडक पिचको गुणस्तर, सडकको अवस्था, पानीले कति असर गर्छ, लोड कतिको हुन्छ, ट्राफिक व्यवस्था कस्तो छ, यी कुरामा भर पर्छ। तर अहिले हामी उपत्यकामा सामान्यतया चार वर्षको फरकमा पिच गर्छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.