'जिम्मेवारी पूरा गर्छौँ'

|

काठमाडौं :  यतिवेला काठमाडौं महानगरपालिकाका मेयर बालेन साह चर्चामा छन्।  वर्षाैदेखि  व्यापरीले ओगटेको फुटपाथ हटाउन,व्यपारीको कब्जामा रहेको अन्डरग्राउन्ड पार्किङ खाली गर्न डोजरसहित फिल्डमा उत्रिएसँगै उनी चर्चामा आएका हुन्। यसो त स्थानीय तहको  निर्वाचनमा उम्मदेवारी दर्ता गराएदेखि उनी चर्चामा थिए। 

निर्वाचनको अन्तिम मत परिणाम आउनु अगाडी नै उपत्यकाको समस्या पहिचान गरेका मेयर बालेनले यतिवेला पूर्ववर्ती अभियानसहित मैदानमा उत्रिएका छन्। उपत्यका अर्थात काठमाडौ महानगरपालिकालाई  व्यवस्थित बनाउनका लागि मेयर बालेनसँगै नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि साथ दिइरहेका छन्। 

केही दिनअघि मात्र नगर प्रहरीको जिम्मेवारी सम्हालेका पाण्डे महानगरलाई व्यवस्थित बनाउने अभियानमा दौडिरहेको बताउँछन्। काठमाडौ महानगरलाई व्यवस्थित बनाउने योजना के छन्? यतिवेला महानगरको चुनौती के के छन्? स्वतन्त्र मेयर बालेन साहसँग काम गर्दा कतिको सहज भएको छ? लगायतका विषयमा थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी ः

पछिल्लो समय महानगरपालिकालाई व्यवस्थित बनाउने अभियानमा लाग्नु भएको छ। कसरी काम गर्दै हुनुहुन्छ? 

मुख्य काम त काठमाडौं महानगरपालिकाको सडक व्यवस्थापनका कुरा नै हुन्। यतिवेला नगर प्रहरीमा जनशक्ति कम छ। भएका जनशक्तिलाई ३२ वडामा परिचालन गर्नुपर्ने अवस्था छ। ती भएका जनशक्तिलाई १२ घण्टा काम गरिरहेको अवस्था छ।  

महानगर क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन,फुटपाथ अतिक्रमण, पार्किङ व्यवस्थापन, विज्ञापन तथा होडिङ बोर्ड व्यवस्थापन, अनाधिकृत तरिकाले निर्माण गरेको संरचना हटाउने लगायतका काम गरिरहेको छौं। हामीलाई दिइएको जिम्मेवारी पूरा गर्छौं।  चरणबद्ध रुपमा नतिजामुखी  काम गर्ने योजना बनाइरहेका छौँ। 

नगर प्रहरीमा भएको जनशक्ति अभाव पूर्ति गर्ने योजना छैन?

महानगरपालिकामा अपूग नगर प्रहरीको संख्या न्यूनिकरण गर्न प्रक्रिया अगाडी बढाएका छौँ। यतिवेला महानगरमा १ सय ७२ जना नगरप्रहरी  कार्यरत हुनुहुन्छ। महानगरको कामलाई नतिजामुखि र व्यवस्थित बनाउनका लागि केही समयमा थप १ सय ६२ जना नगर प्रहरी राख्ने तयारी गरेका छौ।  

केहिदिन देखि  महानगर व्यवस्थापनका लागि डोजरसहित आफैँँ फिल्डमा खटिनु भएको छ। व्यवस्थापनका लागि चूनौति के देख्नु भयो? 

लामो समयदेखि सडक किनार अर्थात फुटपाथ व्यवस्थापन गरेर बसेका व्यापारीलाई हटाउने प्रयास गरेका हौँ। वर्षाैदेखि कब्जा गरेर बसेको स्थान खाली गराउन पक्कैपनि सहज  हुँदैन र छैन पनि। 

व्यवसाय हटाउनलाई स्थानीयबाट नै सहयोग हुनुपर्ने थियो, तर सो हुन सकेको छैन। जनता सचेत हुन आवश्यक छ। सडक सवारी गुड्नका लागि हो, पैदल हिड्नका लागि हो भन्ने कुरा बुझ्न जरुरी छ।   

स्थानीयको असहयोग नै मुख्य समस्या हो?

म फिल्डमा आएदेखि स्थानीयसँग  समस्या र समाधानका विषयमा छलफल गर्दै आएको छु। पछिल्ला दिनमा स्थानीयले सबैको साझा समस्याको रुपमा हेर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ।

विभिन्न संघ संस्था,क्लवहरूले  सहयोग गर्ने सन्देश पठाउनु भएको छ। सहयोग हुने अपेक्षा गरेका छौँ। सडक भनेको पेट पाल्ने माध्यम हो भन्नेहरूले विरोध गर्दै आउनु भएको छ। तर,सबैलाई समेटेर क्रमिक रुपमा स्थायी समाधान गर्नु पर्नेछ।

फुटपाथमा व्यवसाय गर्न पाउनुपर्छ भन्दै आन्दोलनसमेत भइरहेको छ। यसलाई व्यवस्थापन गर्ने महानगरको योजना छ? 

लामो समय कब्जा गरेर बसेको ठाउँ हट्दा विरोधका स्वर सुनिनु सामान्य कुरा हो। यो कुरा यसअघिको सरकारले हटाउने भने पनि हटाउन सकेन्को। अहिले के देखियो भने आन्दोलन गरेकै भरमा बस्न पाइन्छ भन्ने मानसिकता छ। महानगरपालिकाले अब स्थायी रुपमा नै हटाउन लागेको हो।  

केही व्यक्तिले आन्दोलन गर्न आउनु सामान्य रुपमा लिन्छु।  तर, सडकमा व्यवसाय गर्न पाउनु पर्छ भन्ने लजिक के हो त? पसल फिजाँएको ठाउँबाट मान्छे हिड्ने हो? सामानले गर्दा मानिस सडकबाट हिड्नु पर्ने अवस्था छ। सडकमा हिड्दा दुर्घटना हुन्छ।  त्यसैले व्यवसायीले यो कुरा बुझ्न जरुरी छ कि फुटपाथ हिड्नका लागि हो। व्यवस्थापन गर्ने कुनै योजना छैन। व्यवसायीलाई अफ्नो व्यवस्था आफैँ गर्न अनुरोध गर्दछु।  

महानगरको  समस्या समाधान गर्न तपाईको आगामी योजना के छ? 

संविधानको अनुसुचिमा स्थानीय तहमा नगर प्रहरीको व्यवस्था गरिएको छ। तर स्थानीय सरकार सञ्चालन ऐनमा कर्मचारी सञ्चालन ऐनमा नगर प्रहरीलाई सेवा करारमा लिने व्यवस्था गर्‍यो। नगर प्रहरीलाई सेवा करारमा लिएर काम गर्दा उत्तरदायी,स्थायित्व कति हुने भन्ने प्रश्न कडा भएको छ। 

स्थानीय तहमा प्रहरी राखेर काम गर्नका लागि आफ्नै  प्रहरी राख्नुपर्ने हुन्छ। कनुनी रुपमा नै रहेको जटिलता हटाई अगाडी बढ्ने योजना छ । संघीय सरकारमा सो विषय उठाइ स्थानीय तहलाई स्थायी रुपमा आफैँले प्रहरी राख्न सक्ने र नगर प्रहरीलाई जिवन्त राख्नका लागि सो कानुन आवश्यक छ।  मेरो कार्यकालमा यो काम गर्ने सोच बनाएको छु।

...र अन्त्यमा मेयर बालनेको निर्देशनमा काम गर्दा कस्तो अनुभूति गर्नु भएको छ? 

 मलाई मेयर बालेनसँग काम गर्दा कुनै प्रकारको अफ्ट्यारो छैन। उहाँको निर्देशन 'क्लिएर कट' हुन्छ। मेयरसाबको निर्देशनमा काम गर्न पाउँदा खुसी छु स्पस्ट छु।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.