|

काठमाडौँ : आगामी वैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यू–१६ टी–२० अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।

काठमाडौँ जिल्ला क्रिकेट संघको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। आयोजकले सोमवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो।

नेपालको क्रिकेट विकासमा योगदान दिएका नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष शाहको नाममा यो प्रतियोगिता हुन लागेको हो। 

आयोजक संघका अध्यक्ष दिवाकर घलेले ग्रासरुटदेखि नै क्रिकेट विकास गर्न प्रतियोगिता आयोजना गर्न लागेको बताए। वैशाख ३० सम्म हुने प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गर्नेछन्।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ। 

समूह ‘ए’ मा रेडिएन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेशनल स्कुल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाई स्कुल तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल छन्। 

समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हार्ट्स एकेडेमी स्कुल तथा समूह ‘डी’मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्शस इन्टरनेशनल एकेडेमी र एलआरआई स्कुल छन्। समूह चरणमा हरेक दिन ४ खेल हुनेछन्।

कुल २७ खेल हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ। 

मूलपानीको तल्लो र माथिल्लो मैदानमा हुने प्रतियोगिताको प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई १ हजार रुपैयाँ तथा उपहार प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.