खनाल र नेपालसँग राष्ट्रिय सहमतिको सरकारबारे छलफल

|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समयमा पाँच दिन बितिसक्दा पनि प्रमुख दलहरुबीच सहमतिको सरकार निर्माणबारे औपचारिक छलफल सुरु नै भएको छैन।  

राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि संसदका सबै दललाई आह्वान गरेपनि यस्तो छलफल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र बढी भएको छ। ती दलले सरकारमा क–कसलाई ल्याउने र एमाले लगायतका दलसँग कसरी छलफल अघि बढाउने भन्ने विषयमा छलफल गरेका छन्। 

स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख दलहरु सम्मिलित सरकार बनाउन नहुने अडान राखेपछि माओवादी केन्द्रले एमालेलाई सरकारमा ल्याउन अनौपचारिक रुपमा पहल गरेको छ। देउवाले प्रमुख दल सम्मिलित सरकारबाट राष्ट्रिय एकता कायम भएजस्तो देखिएपनि सरकारलाई खबरदारी गर्न बलियो प्रतिपक्ष चाहिने सार्वजनिक धारणा राखेपनि माओवादी केन्द्रले एमालेलाई सरकारमा ल्याउन वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग अनौपचारिक संवाद गरेको छ। माओवादी केन्द्रले यदि सरकारमा नआएपनि संविधान कार्यान्वयनमा एक ठाउँमा रहनुपर्ने बताएको छ।   

एमाले नेता झलनाथ खनालसँगको भेटका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति कायम गरी मुलुकको समस्या समाधानमा लाग्नुपर्ने भन्दै संविधान संशोधन लगायतका विषयमा एमालेबाट सहयोगको वातावरण निर्माण गर्न आग्रह गरेका थिए। ‘राष्ट्रिय एकता कायम गर्नुका साथै संविधान कार्यान्वयनका लागि प्रमुख दल एक हुनुको विकल्प छैन, एमाले सरकारमा आउने वातावरण मिलाउनु भएको खण्डमा म कांग्रेससँग कुरा गर्छु’ खनालसँग प्रचण्डले भनेका थिए। जवाफमा खनालले आफूले पहल थाल्ने बचन दिँदै संविधान कार्यान्वयन लगायतका विषयमा एमालेले सकारात्मक भूमिका निर्वाह गर्ने प्रचण्ड निकट श्रोतले बतायो। 

नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका प्रचण्डले एमालेलाई सरकारमा ल्याउन पार्टीभित्र पहल थाल्न एमाले नेता माधव नेपाललाई आग्रह गरेका थिए। नेता नेपालले भने कांग्रेसले प्रमुख दल सम्मिलित सरकार बनाउन नहुने र एमाले भर्खरै सरकारबाट बाहिरिएको अवस्थामा सरकारमा जाने सम्भावना नभएको स्पष्ट पारेका थिए। 

एमाले नेता नेपालले औपचारिक संवाद नभएको भन्दै अनौपचारिक कुराकानी भएको बताए। ‘अनौपचारिक कुराकानी भएकै हो, औपचारिक रुपमा त्यस्तो कुनै कुराकानी भएको छैन’ थाहा खबरसँग नेता नेपालले भने, ‘सरकार निर्माणबारे कांग्रेसले लिएको अडान र पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा हामी सरकारमा जाने सम्भावना छैन।’ उनले कांग्रेस–माओवादीले एजेण्डागत रुपमा सहमति मागेको खण्डमा राष्ट्रिय सहमति कायम गरी मुलुकको समस्या समाधान गर्न आफूहरु तयार रहेको स्पष्ट पारे। 

प्रचण्डको सचिवालयले औपचारिक संवाद नभएपनि अनौपचारिक रुपमा सबैसँग कुराकानी भइरहेको जनाए। ‘अनौपचारिक रुपमा एमाले लगायतका अन्य दलसँग छलफल भइरहेको छ, आजभोलि नै समय मिलाएर औपचारिक रुपमा संवाद हन्छ’ प्रचण्ड सचिवालयका स्वकीय सचिव जोखबहादुर महराले भने। सचिवालयका अनुसार प्रचण्डले मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनका नेतासँग समेत अनौपचारिक परामर्श गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.