|

गुल्मी : करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।  

दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।

उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए। तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।

क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको कटौती अगाडि बढाउने सञ्चालक समितिको निष्कर्ष छ। समितिका अनुसार क्याम्पसमा अहिले पूर्णकालीन २४ र आंशिक १० प्राध्यापक छन्। कर्मचारी १० जना छन्। कक्षा १२ देखि  स्नातकोत्तरसम्म ७५८ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ।

 राजनीतिक दल र नेताले सहयोग गरेनन्

सञ्चालक समितिका अध्यक्ष भलामीले जिल्लाका राजनीतिक दल र सांसदहरूसँग ठूलो अपेक्षा गरेका भए पनि केही सहयोग नभएको गुनासो गरे। सदरमुकाम तम्घासको भविष्यसँग जोडिएको क्याम्पसलाई बचाइराख्न सबैको दायित्व भएको उनको भनाइ छ। सकारात्मक सुझाव र सहयोगको अपेक्षा गरे पनि नपाउँदा दुःख लागेको उनले बताए।

प्राध्यापक राजनीतिक दलमा सक्रिय

क्याम्पसका प्राध्यपकहरूले नै खुलेर राजनीतिक गर्ने तर क्याम्पस सुधारमा नलाग्नु पनि अर्को समस्या भएको सञ्चालक समितिको ठहर छ। क्याम्पस देखाउने तर प्राथमिकता अन्तै भएकाले पनि अहिलेको अवस्था आएको भलामी बताउँछन्। क्याम्पस सुधारका लागि त्यसलाई अन्त गर्न पछि नपर्ने उनी बताउँछन्।

प्राध्यापक र कर्मचारीले कुनै राजनीतिक दलमा आस्था राख्न सक्ने भए पनि क्याम्पस सुधारका लागि राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने भलामीले बताए। 

महायज्ञको बक्यौता रकम उठाउन सक्रिय 

२०६९ सालमा क्याम्पसले सञ्चालन गरेको महायज्ञको बक्यौता रकम उठाउन सञ्चालक समिति सक्रिय भएर लागेको भलामीले बताए। विभिन्न कारणले गर्दा उठ्न नसकेको  ५० लाख बक्यौता रकम उठाउन सक्रिय रहेको उनले जानकारी दिए। बक्यौता रकम नदिनेलाई कानुनी उपचारसम्म पनि जानेगरी योजना बनाएको भलामीको दाबी छ।
 
छिमेकी पालिकाबाट सहयोगको अपेक्षा

क्याम्पसले जिल्लाका सबै स्थानीय तहबाट पनि सहयोगको अपेक्षा राखेको छ। आर्थिक संकटकाल लगाएपछि जिल्लाको रेसुंगा नगरपालिकाले एक करोड क्याम्पसलाई दिने घोषणा गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.